जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ?

  •  
  •  
  •  
  •  
  •  

श्रीमतीलाई मानसिक उपचार गराउन ल्याउने श्रीमानलाई पो औषधि दिनुपर्यो

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनियाका सम्बन्धमा मिडियाएनीकर्मी डा. दिलजान मंसूरले मनोचिकित्सक डा. दीपक कुँवरसँग गरेको भिडियो संवाद :

 के हो स्किजोफ्रेनिया ?

  • डा. दीपक कुँवर

स्किजोफ्रेनिया एउटा जटिल प्रकारको मानसिक रोग हो । यस्तै–यस्तै देखिने अरु पनि मानसिक रोग हुन्छन् । धेरैजसो युवावस्थामा सुरु हुने रोग हो, स्किजोफ्रेनिया । यो रोग लागिसकेपछि मानिसले अनौठो प्रकारको व्यवहार देखाउँछ । हुँदै नभएको आवाज सुन्न थाल्छ ।


यस्ता समस्या शरीरको चेकजाँच गरेर थाहा हुने कुरा होइन । यो त बिरामी र मनोचिकित्सकले कुरा गरेर पत्ता लगाउन सक्छन् ।

श्रीमानले श्रीमतीको उपचार गर्न ल्याए तर…

एउटा उदाहरण यहाँ पेस गरौँ । एकजना महिला बिरामी आउनुभयो मकहाँ । उहाँलाई धेरै किसिमका समस्या देखिएका रहेछन्— निद्रा नलाग्ने, रमाइलो नलाग्ने, शरीर दुखिराख्ने, झमझम गर्ने । यो मानसिक समस्या नै हो भनेर उहाँ धेरै ठाउँमा जानुभएको रहेछ तर निको भएको रहेनछ ।
उहाँले कस्तो औषधि खानुभएको छ त भनेर मैले उहाँको हिस्ट्री हेरेँ । श्रीमानसँगको व्यवहार र सम्बन्धको कुरा आयो ।

उहाँको श्रीमानले उहाँलाई निकै शंका गर्नुहुँदो रहेछ । उहाँ बाहिर कामबाट घर फर्केपछि श्रीमानले उहाँको लुगाहरु चेकजाँच गर्नुहुँदो रहेछ । श्रीमानकै शंकाका कारण उहाँलाई तनाव भएको रहेछ । उहाँलाई यही तनाव कम गर्ने सामान्य औषधि दिएँ । तर, उहाँलाई लिएर आउने उहाँकै श्रीमानलाई भने विशेष औषधि दिएँ । औषधिपछि उहाँ पूरै निको हुनुभयो । अहिले उहाँहरु दुवै नै ठीक हुनुहुन्छ ।

श्रीमानचाहिँ अत्यन्तै धेरै शंकालु स्वभावको, रक्सी पनि खाने बानी र रक्सी खाएपछि शंका झन् बढी गर्ने गर्नुहुँदो रैछ । अत्यन्त्रै शंका गर्नु पनि स्किजोफ्रेनियाको लक्षण हो । तर, अलिअलि शंका गर्नु मानिसको स्वभाव पनि हुन्छ ।

कारण

यही कारणले गर्दा यो रोग लाग्छ भन्ने हुँदैन । दिमागमा एक किसिमको रसायन हुन्छ— डोपामिन । ब्रेनमा डोपामिन धेरै वा कम हुन गयो भने स्किजोफ्रेनिया हुने गर्छ । यो रसायनको कमी वा बढी हुनुमा वंशाणुगत कारण पनि हुन सक्छ । जसको बुवाआमा वा हजुरबा–हजुरआमामा त्यस्तो समस्या छ भने उसलाई यो रोग लाग्ने सम्भावना हुन्छ ।

कुनै वातावरणले मात्रै यो रोग लाग्छ भन्ने हुँदैन, तर वातावरणले यो रोग हुर्कनलाई भने भूमिका खेल्छ ।

ठूला लक्षण

स्किजोफ्रेनिया रोग लागेको वा नलागेकोबारे बुझ्न धेरै सजिलो छ । स्किजोफ्रेनियाका धेरै नै लक्षण हुन सक्छन् । त्यसमध्ये दुइटालाई अलि बढी नै देख्न सकिन्छ । एक, अनौठो व्यवहार देखाउने ।

जस्तो, त्यत्तिकै पनि रिसाउने, बिनाकारण कसैलाई हमला गर्न जाने, एक्लै हाँस्ने, एक्लै रुने, या कसैसँग कुरै नगर्ने, एक्लै बस्न मन पराउने जस्ता लक्षण देखिन सक्छ ।

अर्को प्रकारको लक्षणमा बिरामी कसैसँग पनि बोल्दैन । कुनै प्रतिक्रिया देखाउँदैन । आफ्ना नियमित कार्य गर्दैन । यस्तो प्रकारको लक्षण देखाउनेलाई भने रोग लागे वा नलागेको थाहा पाउन अलि गाह्रो हुन्छ ।

त्यस्तै, हुँदै नभएको आवाज सुन्ने पनि हुन सक्छ, त्यसलाई अडिटोरी हलुसिनेसन भनिन्छ । दुईजना बोलेको ठाउँमा एक–अर्काको कुरा नसुनेर कुनै अर्कै कल्पना गरेको आवाज सुन्ने, जुन उसले मात्रै सुनेको हुन्छ तर साँचो हुँदैन । यो बिरामीले मात्रै सुन्ने आवाज वास्तवमा ब्रेनमै हुन्छ । बिरामीलाई लाग्छ कि यो बाहिरबाट आएको आवाज हो । हामीले धेरै आवाज सुनिरहेका हुन्छौँ । तर, सबै आवाजलाई हामीले ध्यान दिँदैनौँ । तर, त्यो हाम्रो माइन्डमा रहेको हुन पनि सक्छ । बिरामीहरुले यस्तो पुरानो आवाजलाई वर्तमानमा सुनिरहेका हुन्छन् । तर, त्यसको स्रोत के हो, त्यो आवाज कहिलेको हो भन्ने छुट्याउन सक्दैनन् ।

अर्को, चिन्दै नचिनेको मानिसले आफूलाई केही गर्छ कि भनेर त्यत्तिकै डराउने, लुक्न खोज्ने, भाग्न खोज्ने हुन्छ । जसमा कुनै दुश्मनी नै हुँदैन, पहिले चिनेकै हुँदैन ।

अर्को आफूलाई नचिनेका मानिसले पनि आफ्नै कुरा गरेका छन् कि भनेर सोच्ने । यसलाई डिल्युजन अफ रिफ्रेन्स भनिन्छ ।
अर्को, बाटामा हिँडिरहेको मानिसले मलाई नै हेरेको छ, मलाई नै चियाएको छ, मेरै पछाडि लागिरहेको छ भनेर सोच्नु । त्यस्तै, आफ्नो कुरा अरुले गरिरहेको छ भन्नेजस्तो लाग्ने ।

मेरो दिमागमा जुन कुरा छ, त्यो अर्को मानिसले नभने पनि पत्ता लगाइरहेको हुन्छ भन्ने पनि लाग्ने । त्यस्तै, मैले जे सोचिरहेछु, त्यो कुनै बाहिरी शक्तिले मलाई सोच्न बाध्य पारिरहेको छ भन्ठान्ने ।
कुनै टिभी, पत्रकारितामा कुनै कुरा आयो भने, यो मेरो सोच हो तर सबैले बाहिर ल्याए भन्ठान्ने ।

मसिना वा बाहिर अरुले ख्याल गर्न नसक्ने लक्षण

प्रोड्रोमल फेज भन्ने हुन्छ, स्किजोफ्रेनियाको । त्यो फेज कहिलेकाहीँ लामो समय देखिन सक्छ । यसमा सबै काम गरिरहने तर सानो कुरामा झर्कने, काममा त्यति रुचि नदेखाउने हुन सक्छ । या कुनै पनि कुरामा इन्ट्रेस नदेखाउने हुन सक्छ । यस्तो मानिसलाई पछि गएर स्किजोफ्रेनिया या साइकोसिस हुने सम्भावना रहन्छ ।

अर्को, स्किजोफ्रेनियाको सिन्ड्रोम छ— टोलाउने, आफैँ सोचेर हराउने, एकपछि अर्को काम सोच्न शक्तिमा कमी हुँदै जाने हुन सक्छ । बस स्टेसनमा बस कुरेर बसिरहेका मानिस बस आएका बेला आफ्नै सोचमा हराउने हुँदा पनि धेरै नै बस छुटिरहेको हुन्छ ।

स्किजोफ्रेनियाका बिरामीमध्ये २० देखि ४० प्रतिशतले आफैँलाई घात वा आत्महत्या पनि गर्न सक्छन् । हुँदै नभएको आवाज सुन्ने लक्षण भएकाले यसो गर्न सक्छन् । किनभने, उनीहरुले सुनिरहेको आवाजले आत्महत्या गर्न बाध्य पारिरहेको हुन्छ । आवाजले जे भन्यो, त्यही गर्न बिरामीले खोजिरहेको हुन्छ । कहिलेकाहीँ आवाजले त्यो तेरो दुश्मन हो, त्यसलाई आक्रमण गर भनिरहेको पनि हुन्छ, त्यस्तो बेला आक्रमण गर्न पनि सक्छन् । कहिलेकाहीँ त्यही आवाजले तैँले बाँचेर फाइदा छैन, त्यसैले मर् पनि भनिरहेको हुन्छ, त्यस्तो बेला बिरामीले आत्महत्या गरिरहेको हुन्छ ।

उपचार

स्किजोफ्रेनियाको उपचार छ, यो औषधिले उपचार हुन सक्छ । कुनै–कुनै स्किजोफ्रेनिया औषधिले नै पूर्ण रुपमा निको हुन्छ भने कुनै–कुनै शत प्रतिशत निको नभए पनि केही प्रतिशत हुन्छ, कमसे कम ८० प्रतिशत निको हुन्छ । यसको औषधोपचार छ, आत्तिनुपर्दैन । उपचार पनि सहज र सस्तो छ ।

यसको औषधि सस्तो पनि छ । आजको दिनमा यसको महिना दिनसम्म खाने औषधिको मूल्य त्यस्तै दुई सय रुपैयाँ पर्न जान्छ ।
यति हो कि यसमा लामो समय औषधि खानुपर्ने हुन्छ । स्किजोफ्रेनिया र योजस्तै अन्य रोग पनि हुन्छन्, यसमा झन्डै दुई वर्षसम्म औषधि खानुपर्ने हुन्छ । यदि औषधि खाएर फेरि पनि रोग बल्झियो भने अर्को पाँच वर्ष खानुपर्ने हुन्छ । यदि पाँच वर्षसम्म खाएर पनि बल्झ्यो भने जीवनभरि नै खानुपर्ने पनि हुन्छ ।
०००
स्किजोफ्रेनिया भएको पत्ता लगाउन सानो–सानो बानी वा व्यवहारलाई नै ध्यान दिने हो । कहिलेकाहीँ एकैचोटि पनि मानिसले व्यवहारमा परिवर्तन गर्न सक्छ, आफन्तले उसको व्यवहारलाई ध्यान दिएर उपचार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ हामीले स्किजोफ्रेनियाको लक्षणलाई टिनएज वा सामान्य बानी–व्यवहारका रुपमा लिएका हुन्छौँ । त्यसैले यो रोगमा परिवार र आफन्तको ठूलो भूमिका हुन सक्छ । परिवारको सपोर्ट हुने बिरामी छिटो निको हुने सम्भावना हुन्छ ।

स्किजोफ्रेनिया भइसकेपछि बिरामी बिस्तारै अन्य लागूऔषध वा मदिरा सेवनतिर मन दिन सक्छ । अनेक शंका–उपशंका हुने, डर लाग्ने भएपछि स्वाभाविक रुपमा पनि मानिसले त्यतातिर ध्यान दिन सक्छ । यसप्रति पनि ध्यान दिनुपर्ने हुन्छ । यो ठूलो रोग त होइन, उपचार छ, नेपालमै निको हुने रोग हो, तर लामो समय औषधि गर्नुपर्ने हुन्छ ।

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *