जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ?

  •  
  •  
  •  
  •  
  •  

 

रगतमा बिलिरुबिन भन्ने तत्व बनिरहेको हुन्छ । त्यो तत्वलाई रगतले कलेजोमा लैजान्छ र कलेजोले नलीहरूबाट आन्द्रा लगेर त्यसलाई बाहिर फ्याँक्ने गर्छ । कुनै पनि कारणले शरीरमा बिलिरुबिनको मात्रा बढी हुन पुग्यो भने त्यो आँखा र छालाहरूमा जन्मन पुग्छ र पहेँलो देखिन्छ ।

सर्जिकल जन्डिसबारे मिडियाएनपीकर्मी डा. दिलजान मंसूरले लिभर प्यांक्रियाज र ग्यास्ट्रोइन्टेसटिनल सर्जन डा. रमेशसिंह भण्डारीसँग गरेको भिडियो संवादमा आधारित ।

सर्जिकल जन्डिस भनेको के हो ?

  • डा. रमेशसिंह भण्डारी

साधारण बुझाइमा आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई हामीले जन्डिस भनेर बुझ्छौँ । यो ठीक हो । यो त बाहिरी कुरा भयो । हाम्रो शरीरको रगतमा बिलिरुबिन भन्ने तत्व बनिरहेको हुन्छ । त्यो तत्वलाई रगतले कलेजोमा लैजान्छ र कलेजोले नलीहरूबाट आन्द्रा लगेर त्यसलाई बाहिर फ्याँक्ने गर्छ । कुनै पनि कारणले शरीरमा बिलिरुबिनको मात्रा बढी हुन पुग्यो भने त्यो आँखा र छालाहरूमा जन्मन पुग्छ र पहेँलो देखिन्छ । यही अवस्थालाई हामीले जन्डिस भन्छौँ ।

०००
हामी सर्जिकल जन्डिसको कुरा गर्दैछौँ । सामान्य भाषामा सर्जनहरूले हेर्ने वा उपचार गर्ने जन्डिसलाई सर्जिकल जन्डिस भन्छौँ । सर्जनहरूले कस्तो खालको जन्डिस हेर्छन् त ? बिलिरुबिन भने तत्व शरीरमा बढी मात्रामा उत्पादनमा भयो, कलेजोबाट आन्द्रासम्म लैजाने नलीहरू कुनै पनि कारणले कहीँ बन्द हुन पुग्यो भने त्यसलाई हामीले सर्जिकल जन्डिस भन्छौँ ।

कलेजोबाट आन्द्रासम्म पुर्याउने प्रक्रियामा धेरै कारणले नलीहरू बन्द हुन पुग्छन् । नली, पित्तथैली, प्यांक्रियाज वा आन्द्राको क्यान्सरका कारण पनि नली बन्द हुन सक्छ । क्यान्सरबिना पनि यी नली बन्द हुन सक्छन् । जस्तो, पित्तथैलीमा रहेका ढुंगाहरू पित्तथैलीबाट फुत्केर नलीमा आउँदा पनि बन्द गराउन सक्छन् ।
अर्को, पित्तको नलीमा कीरा पसेर पनि ब्लक गरेको हुन सक्छ । जुनसुकै कारणले पनि नली ब्लक हुन्छ र सर्जनले अपरेसन गर्नुपर्छ भने त्यो सर्जिकल जन्डिस हो । अझ स्पष्ट पारौँ, सर्जिकल जन्डिसलाई कुनै न कुनै तरिकाले शल्यक्रिया या सर्जरी गर्नुपर्छ, यो औषधिको सेवनले मात्रै निको हुँदैन ।

पित्तथैलीको अपरेसन हुन्छ । कसैकसैमा पित्तथैलीको अपरेसन गरेपछि पनि जन्डिस देखिन्छ । यसका कारण धेरै कारण हुन्छन् । कहिलेकाहीँ अपरेसन गर्ने क्रममा नलीमा चोट लागेर नली खुम्चन पनि सक्छ र बिलिरुबिनका लागि बाटो बन्द हुन सक्छ, यसलाई पनि हामी सर्जिकल जन्डिस भन्छौँ । यस्ता अन्य कारणले पनि नली बन्द हुन सक्छ र सर्जिकल जन्डिस देखिन सक्छ । तर, अपरेसन गर्दाबित्तिकै देखिएका सबै सर्जिकल जन्डिस हो भन्ने हुँदैन ।

लक्षण

सर्जिकल जन्डिसका लक्षण फरक हुने होइनन् । जन्डिस भन्नेबित्तिकै आँखा, छाला पहेँलो हुने भइहाल्छ । चाहे त्यो औषधिले निको हुने मेडिकल जन्डिस होस् वा सर्जरी नै गर्नुपर्ने सर्जिकल जन्डिस होस् ।

आँखा पहेँलो देखिइसकेपछि शरीर अति नै चिलाउँछ भने सर्जिकल जन्डिसको भएको पनि हुन सक्छ । अर्को, पिसाबको रंग निकै पहेँलो हुँदै जाने, दिसा सेतो हुँदै जाने भयो पनि सर्जिकल जन्डिस भएको शंका हुन्छ । धेरै कन्डिसनमा यस्तो शंका मिलेको पनि हुन्छ । लक्षणहरू कहिल्यै पनि शतप्रतिशत मिल्दैन । प्रमाणित गर्न चेकजाँच नै गर्नुपर्छ । सबैभन्दा पहिले हामीले रगत जँचाउनुपर्छ— जसमा बिलिरुबिनको तह र मात्रा हेरिन्छ । यसबाट दुवै जन्डिस थाहा पाउन सकिन्छ । सर्जिकल जन्डिसको लक्षण देखिएमा भिडियो एक्स–रे गर्नुपर्ने हुन्छ । स्टोन, क्यान्सर हो भने भिडियो एक्स–रेबाटै देखिन्छ । यसपछि पनि सिटिस्कान, एमआरआई गराउनुपर्ने हुन्छ ।

उपचार

हाम्रो देशमा सर्जिकल जन्डिसको प्रशस्त उपचार छ । नेपालमा धेरै रोगको उपचार हुने भइसकेको छ भने जन्डिसको पनि उपचार छ ।
सर्जिकल जन्डिस हुनेबित्तिकै आत्तिनुपर्ने कुनै कारण छैन । जन्डिस भएको थाहा पाएपछि धेरै बिरामी आयुर्वेदिक औषधि लिने गरेको पनि पाइन्छ । औषधिले उपचार हुने जन्डिसमा त आयुर्वेदिक औषधिले पनि राम्रो हुन सक्ला । तर, सर्जिकल जन्डिस भएको छ भने सर्जनकहाँ रिफर गर्नुपर्ने हुन्छ ।

क्यान्सरकै कारण भएको सर्जिकल जन्डिस छ भने पनि समयमै अपरेसन हुन पायो भने ठीक बनाउन सकिन्छ । निकै नहुने अवस्थामा पनि बिरामीलाई केही लामो समय बचाउन सकिन्छ ।
लामो समयको औषधिका कारण पनि कलेजो खराब हुन सक्छ । तर, यो सर्जिकल जन्डिसमा पर्दैन । सर्जिकल जन्डिसमा कलेजो सही र नलीहरू थुनिएको हुन्छ ।

जन्डिस देखिएपछि सामान्यतः मानिस सहजै अस्पताल आउन सक्छन् । तर, कहिलेकाहीँ आकस्मिक पनि उपचारका लागि जानुपर्ने हुन्छ । कहिलेकाहीँ जन्डिस भएको मानिसलाई बेसरी ज्वरो आउने हुन सक्छ । यो भनेको जन्डिसको गम्भीर अवस्था हुन सक्छ । जन्डिस भएको मानिसलाई ज्वरो आयो भने नलीमा इन्फेक्सन भएको पनि हुन सक्छ ।

उमेर समूह

जुनसुकै उमेर समूहलाई सर्जिकल जन्डिस हुन सक्छ । तर, अलि उमेर पुगेका जस्तो ४० नाघेका ५०–६० तिरकालाई सर्जिकल जन्डिस भयो भने क्यान्सरले गर्दा हो कि भन्न सकिन्छ । त्यस्तै, अलि जवान मानिसमा स्टोनका कारण सर्जिकल जन्डिस हुन सक्छ ।
जन्डिसको पहिलो लक्षण आँखा पहेँलो हुन थालेदेखि नै चेकजाँच गराउनुपर्छ । कुन जन्डिस हो भन्ने थाहा पाउनुपर्छ र त्यहीअनुसार उपचार गरिहाल्नुपर्छ, यसो गर्दा सहज रुपमा उपचार हुन्छ ।
सर्जिकल जन्डिसमा हामीले सामान्यतः यो खाना खान हुन्छ वा हुँदैन भन्दैनौँ । फेरि पनि चिल्लो वा प्रोटिन, पिरो कम खाँदा राम्रो हुन्छ, किनभने पचाउन गाह्रो हुन्छ ।

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *