स्टाफ नर्सका कुरा : सिस्टर, हाम्रो बिरामीको अवस्था कस्तो छ ?

  •  
  •  
  •  
  •  
  •  

डा. दिनजान मंसूर

बिरामी भेट्न आउनेले नर्सलाई सोध्छन्, ‘सिस्टर, हाम्रो बिरामीको अवस्था कस्तो छ ?’ यसैले देखाउँछ बिरामीको उपचारमा नर्सको भूमिका निकै संवेदनशील हुन्छ । मिडियाएनपीले विशेषज्ञ डक्टरका साथ विशेष रोगबारे कुरा गर्दै आएको छ । तर, यसपालि विशेषज्ञ डक्टर नभएर हामीसँग दुई नर्स छन्— पुनिता शाक्य र ध्रुव केसी ।

भिडियोमा दुवै महिला देखेर तपाईंलाई आश्यर्च लाग्छ नै, तर नारी भए पनि उनको नाम ध्रुव नै हो । पुनिता र ध्रुव नर्सिङ सेवा र पेसामा लागेको आठ वर्ष भयो । दुवैले नर्सिङ सेवा र पेसाबारे आफ्ना विचार र भावना राखे ।

०००
नर्स पुनिता र ध्रुव एकै स्वरमा भन्छन्, ‘नर्स निकै संवेदनशील पेसा हो । एउटा बिरामीको उपचार टिमवर्कमा हुने कुरा हो । त्यसमा विशेष डक्टर, नर्स, बिरामी स्वयं र बिरामीको परिवारको भूमिका हुन्छ । त्यसमा पनि नर्सको विशेष भूमिका रहन्छ । कतिपय बिरामीसँग चौबीसै घन्टा कुनै न कुनै नर्स रहनुपर्छ । किनभने, कतिपय बिरामीलाई निरन्तर हेरचाह आवश्यक हुन्छ । कतिबेला बिरामीलाई समस्या देखिने हो, असहज हुने हो, थाहा हुँदैन ।’

०००
बिरामी हस्पिटलमा भर्ना भइसकेपछि नर्स नै बिरामीको हेरचाहमा खटिन्छन् । धेरैलाई लाग्छ कि यी नर्सहरू डक्टरका सहयोगी हुन्, न कि बिरामीका । नर्सहरूको काम डक्टरहरूको पछिपछि लाग्नु मात्रै हो ।  पुनिता र ध्रुव एउटै भोगाई, भावना बोल्छन् र भ्रम हटाउन आग्रह गर्छन्, ‘हो, धेरैको बुझाइ छ कि नर्स भनेको डक्टरको एसिस्टेन्ट हो, डक्टरको पछिपछि हिँड्ने हो । त्यस्तो होइन, नर्सिङ छुट्टै विद्या हो, त्यसको आफ्नै थेओरी छ ।

डक्टरले बिरामीको उपचार गर्छ भने नर्सले त्यो उपचारले बिरामीलाई के भइरहेको छ भनेर हेर्ने हो । त्यसैले यो ठूलो जिम्मेवारी हो । अझ डक्टरले लेखेर दिएको औषधि बिरामीको परिवर्तित अवस्थाअनुसार बिरामीलाई दिने वा नदिने भन्ने पनि नर्सले हेरिरहेको हुन्छ । जस्तो, कहिलेकाहीँ औषधिले अर्कै असर गर्न सक्छ । त्यसलाई ख्याल गर्ने नर्सले हो । नर्सलाई औषधिको बारेमा पनि ज्ञान हुनुपर्छ र हुन्छ ।’
नर्सले बिरामीको हेरचाह गर्छन्, उनीहरूकै विशेष हेरचाहले बिरामीको उपचारमा गम्भीर मद्दत पुर्याएको हुन्छ । नर्सले बिरामीलाई कतिसम्म हेरचाह गर्नुपर्ला त ?  पुनिता भन्छिन्, ‘नर्स भइसकेपछि बल्र्ड प्रेसर हेर्ने, औषधिहरू दिने, अवस्था बुझिरहने त छँदै छ । त्योसँगै गम्भीर बिरामी, जो बेडबाट हिँडडुल गर्न समस्या छ भने त्यस्तो बिरामीको विशेष हेरचाह गर्नुपर्छ । ओल्टे–कोल्टे फेराइदिनेदेखि दिसापिसाब गराइदिने, खाना खुवाइदिने, नुहाइदिने, दाँत माझिदिनेसम्म गर्नुपर्छ ।’
०००

नर्सले राम्रो गर्दागर्दै पनि कतिपय अवस्थामा कामको जस पाएका हुँदैनन् । पुनिता भन्छिन्, ‘यसमा बुझाइ कमी हो । कतिपय अवस्थामा नर्सकै पनि कमजोरी होला । तर, सेवा भन्नेबित्तिकै हामीले कसैबाट खास व्यवहारको अपेक्षा गर्नु हुँदैन । विभिन्न बिरामीको हेरचाह गर्नुपर्ने हुन्छ, कसैले राम्रो व्यवहार गर्छ, कसैले नराम्रो पनि गर्छ । तर, हाम्रो कामै उहाँहरूको सेवा गर्ने भएकाले त्यस्तो दुःख लाग्दैन, मान्नु पनि हुँदैन । ’

राम्रो नर्स बन्न कस्ता गुण चाहिएला त ?
यसमा दुवै एउटै भावना र बुझाइले बोल्छन्, ‘नर्स भइसकेपछिको आवश्यक गुण इमानदारिता नै हो । ऊ आफ्नो जिम्मेवारी इमानदारितापूर्वक निभाउनुपर्छ । र, आफूले लिएको शिक्षा व्यवहारमा प्रयोग गर्न सक्नुपर्छ । त्यस्तै, बिरामीसँग परामर्श गरेर मनोवैज्ञानिक रुपमा बिरामीलाई उत्साह, आशा दिने क्षमता पनि हुनुपर्छ । त्यस्तै, हँसिलो, स्वस्थ, घुलमिल हुन सक्ने मिजासिलो स्वभावको हुनुपर्छ । त्यस्तै, सेवाको भावना हुनुपर्छ ।’

बिरामीको स्याहार भन्नाले के बुझिन्छ ?
पुनिता भन्छिन्, ‘बिरामीलाई केही आधारभूत सहयोग आवश्यक हुन्छन् । कस्तो प्रकारको बिरामी हो र उसको अप्ठेरो के हो ? आवश्यकता के हो ? त्यसलाई बुझेर सहयोग गर्नु नै पेसेन्ट केयर अर्थात् बिरामी हेरविचार हो । जस्तो, उसलाई समयमा औषधि दिनु, बिरामीको अवस्था कस्तो हुँदै छ, ख्याल गर्नु ।’

समस्या
अहिले नर्सलाई जुन रुपमा पारिश्रमिक दिनुपर्ने हो, त्यो छैन । निकै कम तलबमा नर्सले काम गरिरहेका छन् । अहिले हस्पिटलहरूमा यस्तो पनि देखिन्छ कि निकै कम म्यान पावर राखिन्छ र थोरै कर्मचारीलाई बढी कामको दबाबमा पारिन्छ । अर्को, स्टाफ नर्सहरूको समस्या हस्पिटल म्यानेजमेन्ट लेभलसम्म त्यति राम्रोसँग पुग्दैन । यसले गर्दा नर्सिङ पेसा जुन रुपले विकसित भएर आउनुपर्ने हो, त्यो अहिले छैन ।
पुनिता भन्छिन्, ‘नर्स भनेको के हो भन्ने म्यानेजमेन्टले बुझेकै छैन जस्तो मलाई लाग्छ ।’
०००

अहिले घरमा एकजना नर्स भए राम्रो भन्ने कुरा पनि आएको छ । यसमा पुनिता भन्छिन्, ‘स्वास्थ्य ठूलो कुरा हो । रोग र स्वास्थ्यको बारेमा सामान्य जानकारी हुन आवश्यक छ । घरमा कसैलाई यस्तो जानकारी छ भने त्यसले परिवारलाई नै सामान्य स्वास्थ्य शिक्षा हुन सक्छ । धेरै रोगबाट जोगिन, सावधानी अपनाउन र बिरामी भइहालेमा हेरचाह र उपचार प्रक्रिया अगाडि बढाउन सहज हुन्छ ।

नर्सिङ पढेकाहरू बिरामीलाई देखेर अत्तादिँदैनन्, मनोवैज्ञानिक रुपमा पनि बलिया हुन्छन् ।’ ध्रुव भन्छिन्, ‘भनिन्छ, बच्चाको पहिलो पाठशाला नै परिवार हो । घरमा एकजना नर्स छ भने बच्चाले स्वास्थ्यबारे धेरै जानकारी पाउन सक्छ र उसले आफ्नो जीवन निरोगी राख्नति सतर्क हुन सक्छ । परिवारमै एउटा नर्स नभए पनि गाउँ, टोलमा एकजना नर्स भए पनि धेरै सहज हुन्छ ।’

सन्तुष्टि
अहिले पैसा कमाउँछु, विदेश जान्छु, वा राजधानी वा सहरमा बसेर काम गर्छु भनेर नर्सिङ पढेको पाइन्छ । ध्रुव भन्छिन्, ‘दुर्गम क्षेत्रमा गएर बिरामीको सेवा गर्छु भन्ने भावना हुनुपर्छ ।’ स्वरमा स्वर मिलाएर पुनिता र ध्रुव दुवैले भने, ‘आफूले स्याहार गरेको बिरामी निको भएर घर फर्कंदा हामीले खुसी लाग्छ ।’

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *