‘पशुपति प्रसाद’ की बोल्न नसक्ने वर्षा भन्छिन्, बुवालाई गुमाउँदा एक–दुई वर्ष आफूलाई सम्हाल्नै सकिनँ

  •  
  •  
  •  
  •  
  •  

नेपाली चलचित्र नगरीमा पछिल्लो समय दैनिकजसो नयाँ अनुहारको आगमन भइरहेको छ । नयाँको प्रवेशसँगै पुराना कलाकार पनि संघर्ष गरिरहेका छन् । चलचित्र क्षेत्रमा केही यस्ता भाग्यमानी कलाकार पनि छन्, जो छोटो समयमै नाम र दाम दुवै कमाउन सफल भएका छन् । यस्तै थोरै भाग्यमानीमा पर्छिन् नायिका वर्षा सिवाकोटी ।  वर्षाको फिल्मी करियरको सुरुवात विकास आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नू ल २’ बाट भयो । यसअघि उनी म्युजिक भिडियोमा मोडलिङ गर्थिन् ।

म्युजिक भिडियोमा उनी जमिसकेकी थिइन् । ‘पहिल्यै चलचित्रका लागि अफर आएको थियो, तर चलचित्र खेल्नुअघि मलाई मोडलिङले नाम दिइसकेको थियो,’ वर्षा आफ्नो सुरुवाती दिन सुनाउँछिन् । उनी सानैदेखि नाच्ने गाउने त गर्थिन्, तर साधारण बालबालिका जस्तै । अरुले सानैदेखि उनको अनुहारको तारिफ गरिदिन्थे । चलचित्र हेर्न त्यति नरुचाउने भएकाले पहिले उनलाई चलचित्र क्षेत्रका बारेमा खासै जानकारी थिएन । हालै स्नातकोत्तर सकाएकी वर्षालाई यात्रा गर्न खुवै मन पर्छ रे । ‘फिल्ममा काम गर्ने सिलसिलामा कता कता जानुपर्छ । कामसँगै घुम्ने मौका मिल्छ । झनै रमाइलो लाग्छ,’ उनी भन्छिन् ।

निर्देशक विकास आचार्यले देख्नेबित्तिकै हुन्छ भन्नुभयो

कलेजमा सौन्दर्य प्रतियोगिता भएको थियो । मेलै भाग लिएँ । त्यसअन्तर्गत आफ्नो प्रतिभा देखाउनुपर्ने थियो । मलाई नृत्य आउँथ्यो, त्यही गरें । म बिजेता पनि भएँ । उक्त कार्यक्रममा उपस्थितमध्ये मिडियाबाट पनि हुनुहँुदो रहेछ । उहाँहरूले मलाई ध्यान दिनुभएको रहेछ । पछि कार्यक्रम सकेपछि मलाई भेट्नु भयो । अनि फिल्म खेल्छौ भनेर सोध्नुभयो । मैले केही नसोची खेल्छु भनिदिए,’ वर्षाले चलचित्रमा प्रवेशबारे यसरी सुनाइन् ।

‘मैले यतिकै होला भनेर पनि सोचेकी थिएँ । एक महिनापछि मलाई फोन आयो । चलचित्र ‘नाइँ नभन्नू ल २’ को लागि नयाँ अनुहारको खोजी भइरहेको छ, मलाई एकचोटि प्रयास गर भनेर बोलाउनुभयो । म सुटिङ सेटमा गएँ । निर्देशक विकास आचार्यले देख्नेबित्तिकै हुन्छ भन्नुभयो । यस्तै अनुहारको खोजीमा थियौं भन्दै मलाई सुटिङमा आऊ भन्नुभयो । म त तयार नै थिइनँ ।

अभिनयबारे केही पनि थाहा थिएन । विकास आचार्यले तिमी कन्फेडेन्ट भएर आऊ, बाँकी हामी सिकाउँछौं भनेपछि अलि आनन्द भयो ।’ ‘नाइँ नभन्नू ल २’ कस्तो ब्यानरको चलचित्र हो भनेरसमेत थाहा थिएन । तर चलचित्रमा प्रियंका कार्की, सुरजसिंह ठकुरी जस्ता कलाकार पनि छन् भन्दा लोभ लागेर गरेकी थिएँ । पछि मान्छै चिन्दै गएपछि थाहा भयो । यो त ठूलै ब्यानर रहेछ । राम्रो ब्यानर रहेछ भनेर ।

चलचित्रमा अनुबन्धको समाचार आउनेवित्तिकै डर लाग्यो

चलचित्रमा अनुबन्धित हुनुअगावै वर्षाले कलेजको सौन्दर्य प्रतियोगिताको क्रममा फोटो सुट गराएकी थिइन् । ‘साथीको साइटको लागि फोटो सुट गराएको थिएँ । फोटो राम्रो थियो । धेरैले मोडलिङ गर भनेर भन्नु हुन्थ्यो । अब चाहिँ गर्नुपर्ला भनेर सोच बनाउँदा बनाउँदै अफर आयो, अफर आउनेबित्तिकै पत्रपत्रिका, अनलाइनमा समाचार आउन थाले,’ वर्षा भन्छिन्, ‘चलचित्रका लागी कुरा गर्नेवित्तिकै समाचार प्रकाशित भयो । आफ्नो समचार प्रकाशित हुँदा डर लागेको थियो, साथमा खुसी पनि ।’ चलचित्रको लागि अफर आउँदा उनको परिवारले छोटो भूमिका हो भनेर हुन्छ भनेका थिए रे ।

म अरुसँग त्यति खुल्दिनँ

प्रवेश गरेको छोटो समय भए पनि वर्षालाई धेरैले घमण्डी नायिका भन्ने गर्छन् । उनी, भन्छिन्, ‘म खासै कोहीँसँग त्यति खुल्दिनँ । सानैदेखि मेरो स्वभाव यस्तै छ । मेरा थोरै साथीहरू छन् जोसँग म मिल्छु । म यो फिल्डमा लाग्छु भनेर पनि आएको होइन । त्यसैले मलाई कसैको खुट्टा ढोग्दै हिँड्न मन लाग्दैन । अनावश्यक अरुसँग बोल्दिनँ, तर म घमण्डी भने होइन ।’

वर्षालाई बैंकको जागिरे देख्न चाहन्थे बुबा

वर्षालाई आफ्नी छोरी बैंकको जागिरे होस् भन्ने उनको बुबाको सपना थियो । त्यही भएर उनले बिबिए अध्ययन गरेकी थिइन् । तर कर्म गर्दै जाँदा उनी बैंकमा होइन, कलाकारितामा स्थापित हुँदैछिन् । उनको बुबाको ६ वर्ष अगाडि निधन भयो ।

आफ्नो बुबालाई सम्झिँदै वर्षा भन्छिन्, ‘६ वर्ष अगाडि बुबाको देहान्त भयो । म पढ्दै थिएँ । सानो उमेरमै बुवाको मृत्यु भएपछि एक–दुई वर्ष आफूलाई समाल्नै गाह्रो भयो । पढ्न पनि राम्रोसँग सक्दिनँ थिएँ । तर, अहिले आफूलाई सम्हाल्न सक्ने भएकी छु । परिवारको जिम्मेवारी पनि ममा थपिएको छ ।

कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँछ, ममी हँुदाहुँदै पनि बुवा भइदिए हुन्थ्यो भन्दै रुने गर्दछ्ु । कति निर्णय आफूले लिन नसक्दा बुवालाई सम्झिने गर्दछु । कति गलत निर्णय लिएँ होला । कहिले एक्लै भएको महसुस हुन्छ । कामको अफर आउँदा दोधारमा पर्छु । यस्ता बेलामा बुवाको याद आउँछ । यदि बुवा साथमा भइदिएको भए कति सजिलो हुन्थ्यो भन्ने सोच्छु ।’

मलाई हिरोइन भनेर नोटिस गर्नुपर्छ भन्ने छैन

‘नाइँ नभन्नू ल २’ मा छोटो भूमिकामा देखिए पनि वर्षाले लगत्तै चलचित्र ‘पशुपति प्रसाद’ मा अभिनय गरिन् । यसमा उनले बोल्न नसक्ने केटीको भूमिका निभाइन् । छोटै भूमिका भए पनि यही चलचित्रबाट उनी सबैको ‘नोटिस’ मा परिन् । तर, अहिलेसम्म उनले सशक्त भूमिकामा अभिनय गर्ने रोल पाएकी छैनन् । भन्छिन्, ‘मलाई हिरोइन भनेर नोटिस गर्नुपर्छ भन्ने छैन ।’
चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘कारखाना’ बाट उनले धेरै अपेक्षा गरेकी छन् ।

भन्छिन्, ‘कारखानामा माया, प्रेम, पीडा, खुसी, रोमान्स सबै छ । यो चलचित्रबाट सबैले माया गर्छन् भन्ने मैले धेरै आशा राखेकी छु ।’ नयाँ कलाकारलाई हेप्ने प्रवृत्ति देखेर उनलाई पनि कहिलेकाहीँ दिक्क लाग्छ । ‘नयाँ अनुहारलाई अलि हेप्ने गरिन्छ । निर्माताले कुरा बुझिदिँदैनन् । नकारात्मक कुरालाई जोड दिनुभन्दा आफूले सयप्रतिशत समय दिएर कुनै काम राम्रो हुन्छ भने त्यसलाई प्राथमिकता दिन जरुरी छ,’ उनले भने ।

प्रस्तुति : वर्षा बस्नेत

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.