पाँच दिनभित्र विशेष सुरक्षा योजना लागू नगरे लुम्बिनी प्रहरी प्रमुखलाई हेडक्वार्टर तान्ने आईजीपीको चेतावनी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १७ पुस । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पाँच दिनभित्र विशेष सुरक्षा योजना ल्याउन लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर बस्नेतलाई निर्देशन दिएका छन् ।
चार दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग रूपन्देही जिल्ला पुगेका आईजीपी अर्यालले लुम्बिनी अञ्चलमा केही समययता हत्या, हिंसा, अराजकता तथा शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको भन्दै आईजीपी अर्यालले विशेष सुरक्षा योजना ल्याउन निर्देशन दिएका हुन् ।

यदि आफूले दिएको समयावधिभित्र विशेष सुरक्षा योजना ल्याउन नसके एसएसपी बस्नेतलाई हेडक्वार्टर तानिदिने चेतावनीसमेत दिएका छन् । युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको १३औं दिनको दिन एमाले अध्यक्ष ओली स्मृति सभामा भाग लिन बुटवल पुगेका थिए । उनीसँगै आईजीपी अर्याल पनि गएका थिए ।

प्रहरीले सुरक्षा दिन नसक्दा आफ्ना कार्यकर्ता मारिँदै गएको, असुरक्षा बढ्दै गएको तथा अज्ञात समूहका टार्गेटमा आफ्ना कार्यकर्ता परेको एमाले अध्यक्ष ओलीले आईजीपी अर्यालसमक्ष गुनासो गरेको स्रोतले बतायो । ओलीको सो गुनासोलगत्तै आईजीपी अर्यालले एसएसपी बस्नेतलाई रूपन्देही, कपिलवस्तु, बाँके जिल्लालाई विशेष समेटेर सुरक्षा योजना ल्याउन निर्देशन दिएका हुन् ।

युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको, केही दिनअघि युवा संघकै अर्का कार्यकर्ता सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको, कपिलवस्तु भन्सारमा सुरक्षार्थ दुई नेपाली प्रहरीलाई दसगजाबाट छर्रा लागेको विषयलाई लिएर लुम्बिनी अञ्चलमा प्रहरी प्रशासन फितलो भएको टिप्पणी सर्वसाधारणले गर्दै आएका छन् ।

५ नम्बर प्रदेशमा संविधान संशोधन प्रस्तावविरुद्ध एमालेको अगुवाइमा आन्दोलन भइरहेको छ । सो आन्दोलनमा घुसपैठ हुन सक्ने भन्दै एमालेले प्रहरीको नेतृत्वलाई समयमै सुरक्षा योजना लागू गर्न आग्रह गर्दै आएको छ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई पूर्वएमाले कार्यकर्ता मनोज पुनले आफूले हत्या गरेको स्वीकार गरेको सञ्चारमाध्यमबाट खुले पनि त्यसैलाई कसरी आधार मान्ने भन्ने विषयमा नेपाल प्रहरी अन्योलमा छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *