सिलाइको काम गर्दै आएका परियार अहिले पुरोहित भएपछि भ्याइनभ्याइ

  •  
  •  
  •  
  •  
  •  

गोपालप्रसाद पोखरेल, मोरङ, १७ पुस । परमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ।

उनी जातले दर्जी हुन् र पुरोहितले चिनिन्छन्। मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन। परम्परागत पेसा चलाउनैपर्यो । कर्मकाण्डमा परियारको जतिको दख्खल झापा, मोरङ र सुनसरीमा अरू एक दुई जना मात्रै छन्। गुरु परियारसँग सीप मात्र होइन शैक्षिक ज्ञान पनि छ।

उनले २०२८ सालमा धरानको पिण्डेश्वर क्याम्पसबाट पूर्वमध्यमासम्मको अध्ययन गरे। उसबेलाको छुवाछूतवादी हिन्दू संस्कारमा मुस्किलले संस्कृत अध्ययन गरेका परियार आफ्नो अध्ययनको श्रेय सुधारवादी पं छविलाल पोख्रेललाई दिन्छन्। त्यस युगमा दमाईँका छोरालाई ब्राह्मणसँगै राखेर संस्कृतको कौमुदी व्याकरण पढाउने छविलाल गुरु तथा उनका समकक्षी टीकाप्रसाद बस्ती र नारायणप्रसाद कट्टेलको परियार मुक्तकण्ठले प्रशंसा गर्छन्। विसं २०३० देखि कर्मकाण्ड र सिलाइको काम गर्दै आएका ५६ वर्षीय परियार हिन्दू धर्मका कुनै पनि उपनिषद्, पुराण, उपपुराण र मनुस्मृतिमा जातीय विभेद नभएको बताउँछन्।

आदिकालमा छुवाछूत नभएको र मानिसले धेरैपछि चलाएको छुवाछूतको चलन अशिक्षा र गरिबीसँग जोडिएको परियारको भनाइ छ। मान्छेसँग खाने अन्न र घर चलाउने प्रशस्त पैसा नभएसम्म छुवाछूत र जातिवाद रहन्छ। आरक्षणका पक्षपाती परियार भन्छन्–दलितलाई समृद्ध बनाउनका लागि आरक्षण आवश्यक छ। दलितलाई पैसा होइन, सीप र शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्छ।

शिक्षा सबैको पहँचमा नपुगेसम्म छुवाछूत रहिरहने परियारको धारणा छ। झट्ट देख्ने कसैले पनि परियारलाई दर्जी भन्दैनन्। काँधमा सेतो जनै र घाँटीमा रुद्राक्ष माला धारण गर्ने परियारको नित्यकर्म पनि कुनै नियमी पण्डितको भन्दा कम छैन। दैनिक स्नान, पूजापाठ, गीता पाठ, गायत्री जप गर्दै आएका परियार धूमपान र मद्यपान गर्दैनन्, न त माछामासु नै खान्छन्। तान्त्रिक योगाभ्यासमा पनि उनी पोख्त छन्। उनी भन्छन्–तान्त्रिक योग अभ्यासबाट धेरै रोग निको हुन्छन्।

निखिलेश्वरानन्द स्वामीका अनुयायी परियारले मोरङको बयरवनमा कैलाशेश्वर वृद्धाश्रम सेवा समिति खडा गरे। हाल सो समितिका सदस्य परियार भन्छन्–संस्था दर्ता भइसकेको छ। वृद्धाश्रम निर्माणको काम धमाधम भइरहेको छ। सिद्धाश्रम संस्थाको विशिष्ट सल्लाहकार, सनातन धर्म सेवा समिति बयरवनका उपाध्यक्ष र नेपाली काँग्रेस क्षेत्र नं २ मोरङका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हाल्न पनि मैले भ्याएको छु । ईश्वरले तिमी आँट म पुर्याइदिन्छु भन्छन् रे, अहिलेसम्म त्यस्तै भएको छ। रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *