२७ वर्षपछि नेपालमा इन्टरपोल सम्मेलन हुँदै, विदेशी प्रहरी प्रमुखको केही दिन नेपाल घुम्ने इच्छा

  •  
  •  
  •  
  •  
  •  

निशान्त शर्मा काठमाडौं, १८ पुस । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ मुलुकका प्रहरी प्रमुखहरू नेपालमा आउन लागेको अपराध अनुसन्धान विभागले जानकारी दिएको छ । त्यसका लागि काठमाडौंको ह्यात होटल बुक भइसकेको छ । प्रहरी प्रधान कार्यालयमा दिनदिनै तयारी बैठक हुन थालेका छन् ।

जनवरी १७ तारिख (माघ ४–७) देखि सम्मेलन सुरु हुनेछ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद, मानव बेचबिखन, लागूऔषध तथा संगठित अपराध जस्ता गम्भीर विषयमा छलफल हुनेछ । यस्तो सम्मेलन नेपालमा सन् १९८९ मा सम्पन्न भएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले सम्मेलन तयारीको जिम्मा पाएको छ ।

इन्टपोल महासचिवालयको हरेक दुई दुई वर्षमा सदस्य राष्ट्रहरूमा हुने इन्टरपोलको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५० देशका तीन उपक्षेत्रीय कार्यालय प्रतिनिधिहरू सम्मेलनमा भाग लिन आउनेछन् । अपराध विभागका प्रमुख एआइजी विज्ञानराज शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ । सम्मेलन सम्पन्न गर्न पूर्वतयारी समिति पनि छुुटै बनाइएको छ । जसमा डिआइजी बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधव जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंसाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन् ।

१ सय ९० देशका प्रहरी संगठनहरू सदस्य रहेका इन्टरपोलको वार्षिक बजेट ७८ लाख अमेरिकी डलर रहेको छ । सम्मेलन सकिएपछि इन्टरपोल मुख्यालय फ्रान्सबाट नेपाल प्रहरीले गरेका काम कारबाहीको अनुगमनका लागि ४ अप्रिल २०१७ मा प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघ–संस्थाका दुई सय ९२ जना प्रतिनिधि काठमाडौं आउने भएका छन् ।

इन्डोनेसियाको बालीमा सम्पन्न इन्टरपोलको ८५औं महासभाबाट अध्यक्षमा निवार्चित भएका चीनका मेङ होङवीईको नेपालमा हुने सम्मेलन इनटरपोलको पहिलो कार्यक्रम हुनेछ । उनी चीनका राज्यमन्त्री हुन् । अध्यक्ष एसिया प्यासिफिक सबै देशका प्रहरी प्रमुखहरू सो सम्मेलनमा नेपाल आउनेछन् । सम्मेलनमा दुई सयभन्दा धेरै अधिकारीहरू नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आफ्नै खर्चमा आउँदै, डिनर–लञ्चको खर्च नेपालले बेहोर्ने

एउटा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएकाले मुलुकको छविमा सकारात्मक सन्देश प्रवाह हुने प्रहरीको दाबी छ । पर्यटनको दृष्टिकोण पनि यो सम्मेलन फलदायी हुने बताइन्छ । सबै प्रहरी प्रमुखहरू आफ्नै खर्चमा नेपाल आउनेछन्, उनीहरू बस्ने होटलको खर्चसमेत आफैंले बेहोर्ने छन् ।  नेपालले कार्यक्रम र डिनर–लञ्चको खर्च मात्र बेहोर्ने छ । नेपाल आउने प्रहरी प्रमुखहरूले केही दिन नेपाल घुम्न इच्छा देखाएका छन् । यसबाट पर्यटन क्षेत्रका प्रचार प्रसार हुने प्रहरी अधिकारीहरूको दाबी छ ।

नेपाल लागूऔषध र वन्यजन्तुका अंग कारोबारमा ट्रान्जिट देशका रूपमा प्रयोग भइरहेको छ । दक्षिण अमेरिकन देशहरूमा उत्पादन हुने कोकिनदेखि अफगानिस्तानको हेरोइनसम्म नेपाल हँुदै युरोपलगायत विभिन्न देश पुग्ने गरेको छ । त्यस्तै, वन्यजन्तुका अंग नेपाल हँुदै चीनमा तस्करी भइरहेको छ । यो सम्मेलनमा नेपाल यही विषयलाई उठाउने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । खासगरी अन्तर्राष्ट्रिय आतंकवादलाई मुख्य एजेन्डा बनाएर हुन लागेको सो सम्मेलनमा आउने प्रमुख देशका प्रहरी प्रमुखले नेपालमा पनि त्यसको प्रभावबारे चिन्तन मनन गर्ने बताइएको छ ।

सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फ्रान्सका प्रहरी प्रमुख पनि नेपाल आउनेछन् । विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रावासी संगठनका प्रतिनिधि, आसियानका सचिवालय प्रतिनिधि, सार्क सचिवालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि नेपाल आउँदैछन् ।

यस्तै, अरवियन मन्त्रिपरिषद्का सदस्य, गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थिक समन्वय संगठनका प्रतिनिधि, इक्याप्ट इन्टरनेसनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेशन क्राइम कोअर्डिनेशनका प्रतिनिधि, एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधिहरूले यो सम्मेलनमा भाग लिनेछन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.