गाउँ गाउँमा मतदाता नामावली संकलन

  •  
  •  
  •  
  •  
  •  

बैतडी, १९ पुस। आसन्न निर्वाचनको तयारीस्वरुप जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लाभरि फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालनका लागि गाउँगाउँ टोली परिचालन गरेको छ।

पुस दोस्रो सातादेखि सुरु भएको सङ्कलन तथा अद्यावधिक कार्य हालसम्म जिल्लाका ११ गाविस, पाटन नगरपालिकाका दुईवटा वडा र दशरथचन्द नगरपालिकाका तीनवटा वडामा सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर उमेशराज जोशीले राससलाई जानकारी दिए। उनले भने, “पुस १२ गतेदेखि सुरु भएको सङ्कलन कार्यमा हालसम्म ४८० जनाको नाम दर्ता भइसकेको छ।”

आउँदो माघ १४ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाभरि सात टोली परिचालन गरिएको छ। यसअघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोबास गरिरहेका, बसाइँसराइ, मृत्यु, आदि कारणले अद्यावधिक गर्नुपर्ने र नयाँ नागरिकता लिएका मानिसले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले बताए।

जिल्लाका ५६ गाविस र दुई नगरपालिकाका प्रत्येक वडामा सञ्चालनमा रहेको कार्यक्रम प्रत्येक दर्ता केन्द्रमा दुई दिनसम्म मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यस कार्यमा आम मानिसलाई उत्प्रेरित एवम् सुसूचित गर्न सम्पूर्ण राजनीतिक दलका संयन्त्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मी र मतदाता स्वयम्ले सक्रिय भूमिका खेलिदिन जिल्ला निर्वाचन कार्यालय बैतडीले आग्रह समेत गरेको छ।

विभिन्न राष्ट्रिय निर्वाचन, जनमत सङ्ग्रह, स्थानीय निकायको निर्वाचनलगायत प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली तथा अद्यावधिक कार्य भइरहेको हो।

निर्वाचन आयोगले निर्वाचनमा हुने गरेका त्रुटि सच्याउन र मतदाता नामावली अद्यावधिक गर्न फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कामको २०६७ भदौ २८ गतेदेखि नै थालनी गरेको हो।

उमेरले १६ वर्ष पुगेपछि नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता बन्नका लागि १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ।

जिल्लामा २०७३ असोज मसान्तसम्ममा ६० हजार ७९६ पुरुष तथा ६४ हजार ३१९ महिला गरी एक लाख २५ हजार ११५ जनाको मतदाता नामावली नाम दर्ता भइसकेको छ। रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.