शर्मालाई भवन विभागको महानिर्देशक बनाउन कांग्रेस नेताको मन्त्री केसीलाई दबाब

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० पुस । भवन विभागको महानिर्देशक बनाउन कांग्रेस नेताहरूले सहरी विकासमन्त्रीलाई दबाब दिन थालेका छन् । महानिर्देशक रमेश सिंह मन्त्रालय तानिएपछि उनको ठाउँमा मन्त्रालयका सबैभन्दा वरिष्ठ सहसचिव शिवहरि शर्मालाई भवन विभागको डिजी बनाउन कांग्रेस नेता गोपालमान श्रेष्ठ र कमल पंगेनीले मन्त्री केसीलाई दबाब दिएका छन् । तर, मन्त्री केसी शर्मालाई बनाउने पक्षमा नरहेको बुझिएको छ ।

महानिर्देशक सिंहले पुनर्निर्माण अभियानका लागि नौ सयभन्दा बढी प्राविधिक कर्मचारी आर्थिक लेनदेनका आधारमा भर्ना गरेको रहस्य खुलेपछि सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मन्त्रालय तानेका थिए । अहिले निमित्त महानिर्देशकका रूपमा मणिराम गेलालले काम गरिरहेका छन् ।

नेपाली कांग्रेसका नेता डा.नारायण खड्का सहरी विकासमन्त्री भएको बेला तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको दबाबमा सिंह सहरी विकास विभागको डिजी बनेका थिए । उनले गत वर्ष जेठमा पनि यसरी नै २५ सय प्राविधिक कर्मचारी भर्ना गरेका थिए । सिंह आफूलाई कांग्रेस भएको बताउँदै माथिल्लो तहका नेताहरूलाई प्रभावमा परेर पुनः भवन विभागमा जान खोजेका छन् ।

घुस दिएर करारको जागिर प्राप्त गरेका पाँच सय इन्जिनियर र चार सय प्राविधिक संकटमा परेका छन् । भूकम्पले ध्वस्त पारेका सार्वजनिक संरचना पुनर्निर्माणका लागि भवन विभागले पाँच सय इन्जिनियर र चार सय प्राविधिक करारमा नियुक्ति गर्ने विज्ञापन जारी गरेको थियो । विज्ञापनमा थुप्रै आवेदन पर्‍यो । तर नतिजा चाहिँ घुसका आधारमा प्रकाशित गरियो । नाम निस्केकामध्ये अधिकांश एमाले निकट इन्जिनियर र प्राविधिक रहेको बताइन्छ ।

अन्तर्वार्ता र डिजिटल लिस्टमा सिंहले फरक फरक नम्बर दिइएको पुष्टि भयो । इन्जिनियरका लागि तीन लाख र प्राविधिकका लागि एक लाख रुपैयाँको दरले रकम असुल गरिएको सहरी विकासमन्त्री केसीले थाहा पाए ।

मन्त्री केसीले प्राविधिक कर्मचारी भर्नामा अनियमितता भएको पुष्टिपछि छानबिनका लागि सहसचिव जगदीश रेग्मीको संयोजकत्वमा एउटा समिति बनाएका थिए । समितिले पनि आर्थिक चलखेलकै आधारमा कर्मचारी भर्ना गरिएको पुष्टि गरेको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.