एक वर्ष कराँची जेलमा बिताएका यमबहादुरले नेपाल झरेसँगै भने- बल्ल नेपाली बोल्न पाएँ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ।  भारतीय समुद्रमा माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगेका गुल्मी, बडागाउँका यमबहादुर सार्की उद्धार–सहयोगीको भरथेग पाएर मंगलबार राति काठमाडौं उत्रँदा निकै मुस्किलले नेपाली बोलिरहेका थिए ।

‘एक सालसम्म जेलमा थिएँ, नेपाली बोल्नै मुस्किल परिरहेको छ,’ पुसे ठिहीमा समेत पातलो सर्ट, फाटेको पाइन्ट र प्लास्टिकको चप्पलका भरमा विमानस्थलमा भेटिएका सार्कीले एकै सासमा सुनाए, ‘कराँचीको ल्यान्डी जेलमा ५ सयभन्दा बढी कैदी थियौं, म एक जना मात्रै नेपाली थिएँ । यसरी अचानक घर फिर्न पाउँला भन्ने लागेकै थिएन ।’

भारत–पाकिस्तान सीमावर्ती पञ्जाब प्रान्तको समुद्रमा पानी जहाजमा तैरिँदै माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ ३ का सार्की सामुद्रिक सिमाना थाहा नपाई पाकिस्तान पुगेका थिए । मछुवारको भरिया मात्रै बनेर काममा गएका ३३ वर्षे सार्कीलाई ‘आफू नेपाली भएको’ पहिचान जुटाउनै एक वर्ष लागेको छ ।

इस्लामाबादस्थित नेपाली दूतावासले सार्की थुनामा रहेको ३ महिनाअघि थाहा पाए पनि घर फिर्ती टिकट उपलब्ध गराउन नसक्दा थुना अवधि लम्बिँदै गएको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो ।

आर्थिक अवस्था कमजोर रहेका र फिर्ती टिकटको रकमसमेत जुटाउन नसकिरहेका सार्कीका बारेमा थाहा पाएर झापा, दुधेका व्यवसायी सन्तोष थोप्रा लिम्बूले टिकटसहित गुल्मीसम्म जाने खर्च उपलब्ध गराएका थिए । सार्कीलाई ‘रिसिभ’ गर्न पनि लिम्बू मंगलबार विमानस्थल पुगेका थिए ।

‘काठमाडौं उत्रिएर पहिलोपटक बाबु अमरबहादुरसँग फोनमा कुरा गर्न पाएँ, म बाँचेर आएँ भनेर सुनाएँ,’ यमबहादुरले सुनाए, ‘भारतको पञ्जाबमा बसेर आसपासको समुद्रमा माछा मार्नर्े काममा जान थालेको १४ वर्ष भइसकेको थियो, पहिलोपटक दशा लागेर पाकिस्तानको जेलमा पुगेको थिएँ ।’

अन्तर्राष्ट्रिय कानुनमा समेत ‘टेरिटोरियल भायोलेन्स’ (सीमा क्षेत्र उल्लंघन) लाई गम्भीर अपराध मानिन्छ । यस्तो अभियोगमा आजीवन कारावासको सजायसमेत हुने स्थिति रहन्छ । तर, यमबहादुरका हकमा ‘नियतवश नभएको गल्ती र माछा मार्नेभन्दा पनि भरिया काम गर्ने यामबहादुरको बाध्यकारी हैसियत’ बारे खुलाएर इस्लामबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारसँग उनको रिहाइका लागि आग्रह गरेपछि ‘डिपोर्टेसन’ सम्भव भएको हो ।

यो काममा कूटनीतिक तवरमा समन्वयको काम गर्ने इस्लामाबादस्थित काउन्सिलर तीर्थराज अर्यालले बुधबार यमबहादुरलाई काठमाडौंमा भेटेर ‘अबदेखि असुरक्षित र खतरा मोल्ने प्रकृतिका काममा नजान’ सुझाव दिएका थिए । छोरा यमबहादुरलाई लिन उनका बाबु अमरबहादुर बिहीबार काठमाडौं आउने भएका छन् ।

‘मंगलबार बिहान पनि म जेल बाहिर धुले बाटामा पानी हालिरहेको थिएँ,’ यमबहादुरले सुनाए, ‘एकाएक तिमी तयार होऊ, आज नेपाल जान पाउँछौं भनेर जेलरले खबर गरेपछि म अचम्ममा परें । कराँचीबाट मस्कट (ओमान) हुँदै साँझ काठमाडौं आइपुग्दा म आफैं अचम्ममा परें ।’

यमबहादुरका अनुसार गुल्मीको बडागाउँबाटै पञ्जाब प्रान्तमा माछा मार्न जाने ८ युवा अझै समुद्रतिरै अथवा आसपासमा रहेका हुन सक्छन् । समुद्रमा माछा मारेको कामको मासिक २५ हजार रुपैयाँका हिसाबमा पाउनुपर्ने तलब यमबहादुरले ६ महिनायता पाएका छैनन् । उनी गुल्मी गाउँ पुगेर फेरि तलब उठाउन पञ्जाब जाने योजनामा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *