रेखा थापा र कोमल वलीको ‘ग्ल्यामर्स’ भजाउँदै कमल थापा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । गायिका कोमल वली र नायिका रेखा थापालाई पार्टी प्रवेश गराएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले देशव्यापी आमसभा अभियानमा छ । दुई राप्रपा एक भएपछि पाँचवटै विकास क्षेत्रमा एकता आमसभा गर्ने घोषणा गरेको राप्रपाको आमसभामा भीड जुटाइदिने पात्र बनेका छन्, रेखा र कोमल ।पूर्वको झापा, मध्यमाञ्चलको भक्तपुर, मध्यपश्चिमाञ्चलको नेपालगन्जको आमसभामा मान्छेको भीड हेर्ने हो भने राप्रपा मुलुकको सबैभन्दा ठूलो दल हो कि भन्ने भान जोसुकैलाई पनि पर्छ । राप्रपाका नेताहरूका अनुसार हाल भइरहेका आमसभा पार्टीको इतिहासमै सबैभन्दा ठूला हुन् ।

क्षेत्रीय सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूभन्दा रेखा थापा, कोमल वली, कुन्ति शाहीलगायतले भाषण गर्दा बढी ताली बजेको थियो । दुई राप्रपा एकीकृत भएसँगै पूर्वपञ्च र राजावादीहरूको मनोबल बढे पनि रेखा र कोमल वली उपस्थित हुने भएपछि मान्छेको भीड बढेकोमा कुनै दुईमत छैन । उनीहरूलाई हेर्नकै लागि पनि ग्रामीण क्षेत्रका मानिस आमसभामा सहभागी भएको देखिएको छ । तर, राप्रपा भने मानिसहरूको आकर्षण राप्रपामा बढ्दै गएको निष्कर्षमा पुगेको छ ।

क्षेत्रीय आमसभापछि एकीकृत राप्रपाका अध्यक्ष कमल थापा पार्टीमा शक्तिशाली बन्दै गएका छन् । विगतमा भन्दा आमसभामा मानिसको भीड बढी जुटाएपछि पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीलाई कमल थापाले पछाडि पारेका छन् । कमल थापाको रेखा थापा र कोमल वलीको ‘ग्ल्यामर्स’ भजाउनुको मुख्य कारण फागुनमा हुन लागेको एकता महाधिवेशन रहेको राप्रपा नेताहरूको भनाइ छ । यसबीचमा देशव्यापी रूपमा पार्टीका गतिविधि र आमसभा गरी जनस्तरमा राप्रपा ठूलो शक्ति बन्दै छ भन्ने सन्देश दिएर आगामी महाधिवेशनमा कमल थापा अध्यक्षमा निर्वाचित हुने दाउमा छन् ।

एकता महाधिवेशनमा पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार हुन् । संसद्मा कमल थापा निकट २५ जना सांसद भएकाले पनि उनको प्रभाव बढी नै रहेको छ । त्यसैले कसरी हुन्छ उनले आफू निकट नेताहरूलाई कार्यसमितिमा बढी ठाउँ दिएका छन् । राप्रपा प्रवेश गरेपछि रेखा थापाले पर्दाबाट भन्दा प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने भावले राजनीतिमा लागेको बताउँदै आएकी छन् । उनले अब आफू राजनीतिको ‘नायक’ बन्ने घोषणासमेत गरेकी छन् । उनले अभिनय गरेको चलचित्र ‘डायरी’ र ‘पलाँस’ प्रदर्शनका क्रममा छन् ।

आगामी चुनावलाई लक्षित गर्दै राप्रपाले अहिलेदेखि नै आमसभाका कार्यक्रमलाई बढी महत्व दिँदै आएको छ । तीनमध्ये स्थानीय चुनाव पहिले हुने भएकाले राप्रपाले चुनाव केन्द्रित गतिविधिलाई अघि बढाउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *