सुदूरपश्चिममा हिमपात, राजमार्गमा डेढ फिटसम्म हिउँ जम्यो, किसानहरू हर्षित

  •  
  •  
  •  
  •  
  •  

बैतडी, २४ पुस । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

‘हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा शनिबार रातिदेखि गाडी नै चल्न सकेका छैनन्, उनले भने– ‘राजमार्गमा डेढ फिटसम्म हिउँ परेको खबर आएको छ ।’ केही बेरपछि जेसिवी डोजरले हिउँ पन्छाइ राजमार्ग खुलाइने प्रहरीले बताएको छ । राजमार्ग अवरुद्घ हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडाँै र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् ।

यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्घ भएको बताइएको छ । वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ । चिसोले बढीजसो बालबाललिका र वृद्घवृद्घा प्रभावित भएका छन् । लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन् ।

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द
लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै संख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिए । जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको उनले बताए । यहाँका बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन् ।

रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केही पहिले पानीसँगै हिमपात भएपछि अहिले जिल्लामा जाडो बढ्दै गएपछि सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति पनि न्यून देखिएको छ । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *