सिंहदरबारको अघिल्लो मोहडा र भित्री भाग बचाउन अभियान सुरु, सहरी विकासमन्त्री र पुरातत्व विभागका महानिर्देशकलाई ज्ञापन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । सहरी विकास मन्त्रालयले सिंहदरबार पुनर्निर्माण गर्न भन्दै प्रतिवेदन तयार पारेपछि ‘सिंहदरबार नभत्काऊ’ भन्ने अभियान सुरु भएको छ । मन्त्रालयका केही पदाधिकारीले सिंहदरबार अघिल्लो मोहडा भत्काउन पुरातत्व विभागलाई दबाब दिइरहेको भन्दै अभियानले सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, पुरातत्व विभागका महानिर्देशक भेषराज दाहाललाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

१२ वैशाख २०७२ को भूकम्पपपछि सरकारी निकायहरूले नेपाल सरकारको मातहतमा रहेको भवन–सम्पदाहरूलाई संरक्षण र पुनःनिर्माण गर्नुभन्दा भत्काउन योग्य बनाएको देखिन्छ । सिंहदरबारभित्र ऐतिहासिक पुरातत्व सम्पदाको वस्तुहरू रहेको भन्दै अभियानले पुरानो सम्पदाको संरक्षण र पुनःनिर्माण ‘रेट्रोफिटिङ’ द्वारा भूकम्प प्रतिरोधात्मक गरिनुपर्ने माग पनि गरेको छ ।

यस्तो छ अभियानको मागनेपाल सरकारको प्रशासनिक केन्द्रबिन्दुमा रहेको सिंहदरबार एक सर्वश्रेष्ठ ऐतिहासिक स्मारक मात्र नभई नेपाल राज्यको प्रतीक तथा भौतिक वास्तु सम्पदा समेत रहिआएको छ । सिंहदरबारको मुख्य भवन तथा यसको सुपरिचित अघिल्लो मोहडा ‘फसाड’ सरकारकै भत्काउने योजनाको कारण आज खतरामा परेको छ । यस लापरबाहीपूर्ण योजनालाई निष्क्रिय पार्न तत्कालै प्रतिरक्षा अभियानको आवश्यकता छ ।

१९६० साल मा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका चन्द्रशमशेरका लागि वास्तुविद् कुमारनरसिंह तथा किशोरनरसिंहद्वारा सिंहदरबार निर्मित भएको हो । यो इमारत चन्द्रशमशेरको दरबार भएदेखि नै नेपाल राज्यको प्रशासनिक केन्द्र रहेको हो भनेपछि सरकारको सचिवालयमा परिणत भयो, जहाँ अधिकांश मन्त्रालयहरू रहिआए । कुनैबेला एसियाकै सबैभन्दा ठूलो र भव्य भवन मानिएको सिंहदरबारको अधिकांश भाग २०३० सालको भीषण आगलागीमा नष्ट भएको थियो भने अघिल्लो ‘फसाड’ लाई ब्लास्टिङ गरेर बचाइएको थियो ।

सिंहदरबारको अघिल्लो मोहडा तथा भित्री भाग बचाउन अति आवश्यक छ, किनकि यसभित्र राणाकालीन वास्तु सम्पदाका उच्च नमूना रहेका छन् । अन्य महत्वपूर्ण हल र ग्यालरीहरूका साथै यहाँ राजकीय सम्मानको थलो बेलायती बैठक रहेको छ, जहाँ गहकिला झाडपानस्, ठूल्ठूला ऐना, रंगीन काँसका ढोका तथा बेलायती मेच–टेबलहरू रहेका छन् । बेलायती बैठकबारे आमजनता अनभिज्ञ छन्, किनकि यो सार्वजनिक राष्ट्रिय सम्पदा हुँदाहुँदै शासकहरूको आवतजावतको स्थलमा सीमित राखिएको छ । बेलायती बैठक भत्काउँदा पूरै मुलुकलाई क्षति पुग्नेछ, किनकि राजकीय समारोहका लागि यत्तिको गरिमामय प्रांगण अर्को छैन ।

हामीले यो कुरा सर्वप्रथम बुझ्नु जरूरी छ कि, सिंहदरबारको अघिल्लो मोहडा जनताका लागि दृश्यसम्पदाको रूपमा नेपाल राज्यको प्रतीक रहेको छ । यो मोहडाले आमनागरिकलाई राज्यको स्थिरताको भावना दिलाउँछ, जतिबेला द्वन्द्वकाल, भागबन्डाको राजनीति, कर्मचारीतन्त्रको राजनीतीकरण तथा बाह्य हस्तक्षेपले नेपालको राजकाज खल्बल्याएको छ ।

वैशाख २०७२ को भूकम्पपश्चात सम्बन्धित निकायहरूले नेपाल सरकारको मातहतमा रहेको भवन–सम्पदाहरूलाई संरक्षण र पुनःनिर्माण गर्नुभन्दा भत्काउन योग्य बनाएको देखिन्छ । नयाँ भवन बनाउँदा हुने अनेकन् आकर्षणले सरकारी नीतिमा असर परेको देखिन्छ । उता भुईंचालोपश्चात् प्रयोगका लागि खतरापूर्ण भनी अधिकांश राणाकालीन इमारतहरूलाई पहेंलो नभई रातो स्टिकर दिनु नै सम्बन्धित इन्जिनियरहरूले निजी जोखिम उठाउन नचाहेको प्रस्ट छ ।

हाम्रो बुझाइमा राणाकालीन दरबारहरूको ‘स्ट्रक्चरल’ अवस्थाबारे पर्याप्त अध्ययन भएको छैन । उता युनेस्को, पुरातत्व विभाग तथा सम्पदा संरक्षणको दुनियाँको चासो मल्लकालीन तथा यसपूर्वका संरचनामा अड्केकाले राणाकालीन सम्पदाप्रति ध्यान पुगेको छैन । सिंहदरबारलाई राणाकालीन इतिहासको अवशेषको आँखाले नहेरी नेपाल राज्यको प्रतीकको रूपमा लिई यसको संरक्षण अत्यावश्यक भएको छ ।

जानकारीमा आएअनुसार सहरी विकास मन्त्रालयका पदाधिकारीले पुरातत्व विभागलाई सिंहदरबारको अघिल्लो मोहडा भत्काउन दबाब दिइरहेछन् । पुरातत्व विभाग दबाबसामु निरीह छ । आफ्नो ‘स्ट्रक्चरल इन्जिनियर’ नभएका कारण पनि मन्त्रालयको प्रतिवेदन अध्ययन गर्ने क्षमता विभागको छैन । मन्त्रालयको प्रतिवेदनमा इतिहास, संस्कृतिलगायत नेपाली जनताको भावना समेटिएको देखिंदैन र यसबारे हाम्रो आपत्ति छ । हाम्रो ठहर छ कि सिंहदरबारको अघिल्लो मोहडालाई भत्काएर यसको नक्कलमा नयाँ भवन निर्माण गर्नुले नेपाल राज्यको धरोहरमा आघात पुग्नेछ । आजको सामाजिक र राजनीतिक अवस्थामा यसको थप क्षति हुन दिनु सर्वथा अमान्य छ ।

हामी सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलाई आफ्नो मन्त्रालयको प्रतिवेदन रद्द गर्न सुझाव दिन्छौं भने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई मन्त्रालयको प्रतिवेदनलाई स्वीकृति नदिन आग्रह गर्दछौं । हामी माग राख्दछौं कि सम्पदा संरचनाको अवस्था मूल्यांकन गर्दा अनिवार्य सांस्कृतिक र ऐतिहासिक पक्षलाई प्रमुखता दिइयोस् ।

सांस्कृतिक तथा ऐतिहासिक परिप्रेक्ष्यमा सिंहदरबारको मूल भवन र अघिल्लो मोहडा अति महत्वपूर्ण छ । यस इमारतको संरक्षण र पुनःनिर्माण हुनुपर्दछ तथा ‘रेट्रोफिटिङ’ द्वारा भूकम्प प्रतिरोधात्मक गरिनुपर्दछ । राज्यको केन्द्रीय सम्पदा यस परिसरको पुनःनिर्माणमा खर्चको लेखाजोखा हुन सक्दैन । राष्ट्रिय सम्पदाको रूपमा अडेको यस इमारतको नक्कल गर्दै ‘रेप्लिका’ निर्माण गर्नु कदापि उचित होइन ।

हामी यो पनि माग राख्दछौं कि सिंहदरबार अघिल्लो मोहडा सम्बन्धमा रहेको निर्णयक्रम, विभिन्न प्रतिवेदन, खर्च विवरण इत्यादि पारदर्शी होस् । यस परिसरको पुनःनिर्माण तथा भविष्यमा प्रयोगको विषयको छलफल नेता र कर्मचारीमा सीमित हुनुहुँदैन, यसै कारण सार्वजनिक सुनुवाइ अनिवार्य छ । सिंहदरबारको ईंटा र बज्रको महत्व आमजनताको सरोकारको विषय हो ।
यति महत्वपूर्ण सम्पदाको अस्तित्वमा जनताको ध्यान नपुग्नुका कारण खतरामा पर्न दिनुहुन्न । यस पेटिसनमा सही गरिकन सिंहदरबारको प्रतिरक्षा, संरक्षण र पुनःनिर्माणको अभियानमा सरिक हुन हामी तपाईंलाई आह्वान गर्दछौं ।

(साभार ः पेटिसनः सिंहदरबार नभत्काऊबाट)

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.