नेपालका सम्पूर्ण कारागारको अवस्था निकै दयनीय, सधैं कोचिएर बस्नुपर्दा मानसिक समस्या

क्षमताभन्दा ९२ प्रतिशत बढी कैदीबन्दी
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । केही दिनअघि ललितपुरस्थित नख्खु कारागारले जेलभित्रै मानसिक उपचार केन्द्र निर्माण गर्ने घोषणा ग¥यो । जेलमा रहेका धेरै कैदीबन्दीमा मानसिक समस्या देखिएको जनाउँदै कारागारले जेलभित्र मानसिक उपचारका लागि भवन बनाउने जानकारी दियो । यो त प्रतिनिधि घटना मात्र हो । नेपालका अधिकांश कारागारको अवस्था नख्खु जेलको जस्तै छ । जेलको क्षमताभन्दा बढी कैदीबन्दी खाँदेर राख्दा अधिकांशमा मानसिक समस्या देखिन थालेको छ ।

नेपालका सबै कारागारहरूमा क्षमताभन्दा करिब ९२ प्रतिशत बढी कैदी बन्दी रहेका छन् । बस्नयोग्य न्यूनतम आधारभूत सुविधा नभएका कतिपय कारागारमा बन्दीहरू खाँदिएर बस्न बाध्य छन् । न्यायालयबाट मुद्दा फस्र्योट हुँदै गएपछि कारागारमा कैदी बन्दीहरूको संख्यामा वृद्धि भएको हो । कारागार विभागबाट प्राप्त विवरणअनुसार २०७३ असार महिनामा विभिन्न ७५ कारागारको क्षमता १० हजार १ सय ८३ रहेकोमा बन्दीहरूको संख्या १९ हजार ७ सय ३५ रहेको देखिन्छ । यो संख्या कूल कैदीबन्दीको संख्या ९१.२१ प्रतिशतले बढी हो ।

क्षमताभन्दा अत्यधिक बढी संख्यामा कैदी बन्दी रहेको र महिला कैदी बन्दीहरूको संख्या उल्लेख्य बढी रहेकाले कारागार व्यवस्थापन विभागलाई कैदी बन्दी राख्न असहज भएको छ । गम्भीर प्रकृतिका अपराधमा जेल परेकाहरू तत्काल छुट्न नसक्ने भएकाले पनि क्षमताभन्दा बढी बन्दी राख्नुपरेको विभागको भनाइ छ ।

कुन कारगारमा कति संख्यामा कैदीबन्दी ?

केन्द्रीय कारागार जगन्नाथदेवलमा एक हजार पाँच सयजनाको क्षमता भए पनि त्यहाँ दुई हजार एक सयभन्दा बढी कैदीबन्दी रहेका छन् । मोरङमा २ सय ५० जनाको क्षमता भए पनि त्यहाँ पाँच सय ९२ जना खाँदिएर बसेका छन् । सुनसरीको झुम्का कारागारमा पनि क्षमताभन्दा बढी कैदी बन्दी छन् । झापामा दुई सयजनाको क्षमता पाँच सय ३८, चितवनमा ५५ जनाको क्षमता रहेकामा चार सय ७३ जना छन् । कारागारको क्षमता हेर्दा ४४ देखि ७ सय ६० प्रतिशतसम्म कैदी बन्दी रहेको देखिन्छ ।

कारागारको भौतिक तथा व्यवस्थापकीय सुधार कार्यदलले नेपालको ७२ जिल्लामा रहेका ७४ वटा कारागामध्ये धेरैजसोको भौतिक अवस्था अत्यन्त नाजुक रहेको प्रतिवेदन दिएको थियो, तर अहिलेसम्म सुधारको पहल भएको छैन । ७४ वटा कारागारहरूको कुल क्षमता सात हजार एक सयजना रहेकोमा कार्यदल गठन भएको अवस्थामै कैदीबन्दीको संख्या १३ हजार दुई सय ५२ पुगिसकेको थियो ।

के के छन् समस्या ?

कारागारहरूमा शौचालय, खानेपानी, ढल, बिजुलीलगायतका समस्या रहेका छन् । चौबीसै घन्टा खटिनुपर्ने कारागारमा एकातिर दरबन्दीअनुसारका जनशक्तिको आपूर्ति हुन सकिरहेको छैन भने अर्कोतिर कारागारमा काम गर्न गएकाहरू जतिसक्यो चाँडो कारागारबाट सरूवा खोज्ने प्रवृत्ति छ । गृह मन्त्राललयका एक अधिकारीका अनुसार कारागार व्यवस्थापन विभाग र त्यस मातहत निकायमा खटिएका कर्मचारीहरू पहिलो त जार्नै नमान्ने र गए पनि दुई तीन महिनामै सरुवा मिलाएर अर्के विभागमा जाने क्रम बढेको छ ।

‘क’ वर्गको कारागारमा सबैको आँखा

कर्मचारीहरू पनि ‘क’ वर्गको कारगारमा मात्रै जान खोज्ने प्रवृत्ति बढेको छ । जगन्नाथदेवल ‘क’ वर्गको कारागारमा पर्छ भने पर्सा, झुम्का, सुनसरी ‘ख’ वर्गको कारागारमा पर्छन् । त्यसैगरी, ‘ग’ वर्गमा झापा, मोरङ, महोत्तरी, बाँके, पाल्पा, डिल्लीबजार, ललितपुर (नख्खु) र रूपन्देहीसमेतका आठ कारागार छन् । यी कारगारमा पनि कर्मचारी जान रुचाउने गरेको गृह स्रोृतको दावी छ ।
‘घ’ वर्गअन्तर्गत बर्दिया, सप्तरी, सल्यान, सर्लाही, कपिलवस्तु, सिरहा, चितवन, कास्की, कैलाली, कञ्चनपुर र रौतहटसमेतका ११ कारागार पर्छन् । ‘ङ’ वर्गकोमा ५२ वटा कारागार पर्छन् । यी कारागारका भौतिक पूर्वाधार निकै कमजोर रहेका छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *