सत्ता नछाड्ने प्रधानमन्त्रीको उद्घोष, सरकार परिवर्तन गर्ने महिना तोकिएको छैन

  •  
  •  
  •  
  •  
  •  

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको विधेयक पेस गरिएको बताएका छन् ।

प्रेस सेन्टर चितवनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको बताए ।

‘उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले एग्री टु डिसएग्री ग¥यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।’

बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उनले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताए ।

‘हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन’, प्रधानमन्त्री प्रचण्डले भने ।

एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उनले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताए ।

अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए । गृहमन्त्री अर्काे कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भनेका हुने उनको भनाइ छ । दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया आइतबारबाटै सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

आइतबारै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताए ।

अर्काे फरक प्रश्नमा प्रधानमन्त्री प्रचण्डले पहिले झैँ बीचैमा आफूले सत्ता नछाड्ने बताए । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको भन्दै उनले भने, ‘महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।’

आफू रिबन काट्नमात्रै नहिँडेको बताउँदै उनले भने, ‘मेलम्चीबाट सुरु गरेको यात्रा हिल्सा र किमाथान्कादेखि देशका चारवटै कुनामा पुगेको छु । दोधारा चाँदनीको सुख्खा बन्दरगाहादेखि झापाको धानको सुपरजोन बनियानी हुँदै थाप्लेजुङको पाथीभरासम्म गएको छु ।’

उनले सोमबारबाट यहाँ सुरु भएको चितवन महोत्सवलगायतका कार्यक्रममा सहभागी हुन आएका हुन् । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *