धुर्मुस–सुन्तलीले सुरु गरे बर्दिवासमा मुसहर बस्ती निर्माणको काम, महजोडीद्वारा शिलान्यास (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  

याेग विमली, बर्दिवास, २५ पुस । धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीमा सोमबार तेस्रो एकीकृत नमुना बस्ती निर्माणको औपचारिक सुरुवात गरेको छ । प्रारम्भिक चरणका कार्य सम्पन्न भएपछि सोमबार सो बस्ती निर्माणको वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात महजोडीले शिलान्यास गरेका हुन् ।

सो क्रममा महजोडीले एक लाख रुपैयाँ रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । यस्तै शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका अर्का हास्यकलाकार किरण केसीले पनि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

शिलान्यास कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माणका लागि कतारमा रहेका प्रकाश कोइरालाबाट ४० लाख रुपैयाँ प्राप्त भएको जानकारी दियो ।

सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको ५० वटा घर, सामुदायिक भवन र मन्दिर रहने एकीकृत नमुना बस्ती चार करोड ७८ लाखको लागतमा निर्माण हुने सीताराम कट्टेल धर्मुसले बताउँदै आएका छन् । एकीकृत नमुना बस्तीमा बन्ने घरहरु युरोप अमेरिकालगायतका विकसित मुलुकको घरहरु जस्तो हुने जानकारी दिइयो ।

हास्यकलाकारद्वय धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन् ।

चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झरेका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए ।

हास्य कलाकारद्वय धुर्मुस कट्टेल र सुन्तलीले यसअघि काभ्रे र सिन्धुपाल्चोकमा दुईवटा नमुना एकीकृत बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेका छन् ।

यसैबीच, कलाकारद्वय धुर्मुस–सन्तली आइतबार महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका हास्यकलाकारद्वयलाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा एकीकृत नमुना बस्ती बनाउने (भिडियाे सहित)

कार्यक्रममा कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाएको आत्मीयता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताए । ‘हामी तपाईहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन,’ धुर्मुसले भने, ‘हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *