अभिनेत्री सञ्चिताका नजरमा १० अभिनेता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अभिनेत्री सञ्चिता लुइँटेलले अहिलेसम्म झन्डै पाँच दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । ०५७ सालमा बनेको ‘अप्सरा’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी सञ्चिता त्यसपछि लगातार अभिनयमा व्यस्त भइन् । केही समयको विश्रामपछि तीन वर्षअघि ‘नाइँ नभन्नू ल–३’बाट फिल्ममा ‘कमब्याक’ गरेकी सञ्चिताले थुप्रै अभिनेतासँग अभिनय गरेकी छिन् । आफूले अभिनय गरेका सबै अभिनेता नै राम्रो मान्छिन् उनी । सबैको आ–आफ्नै शैली र पहिचान भएकाले एक–दुई गरेर छुट्याउन नसक्ने बताउँछिन् ।

आफ्नै पाराका रमेश उप्रेती मेरो पहिलो फिल्म अप्सराको हिरो हुनुहुन्थ्यो– रमेश उप्रेती । एकाएक आएकीले मलाई अभिनयसम्बन्धी खासै केही ज्ञान थिएन । घरमा अलिअलि प्राक्टिस गर्थें । स्पटमा पुगेपछि निर्देशकले भनेबमोजिम अभिनय गर्थें । रमेशजीसँग सिनबाहेक अरू वेलामा कुराकानी हुँदैनथ्यो । उहाँ आफ्नै पाराको लाग्यो । म नयाँ भएकीले होला, उहाँसँग केही सिक्ने, छलफल गर्ने भन्ने नै भएन । अप्सराका अन्य कलाकारसँग पनि त्यत्ति साह्रो कुराकानी हुँदैनथ्यो । रमेशजीसँग काम गर्दा त्यस्तो खासै नौलो अनुभव भएन । उहाँ आफ्नो रोल निर्वाह गरेर हिँड्नुहुन्थ्यो । सुटिङको अन्तिम दिन मात्रै उहाँले ‘राम्रो गर्दिरहिछ्यौ, बेस्ट अफ लक’ भन्नुभयो । त्यसपछि उहाँसँग अर्काे फिल्म जुरेन । कार्यक्रममा भने कहिलेकाहीँ भेट भइरहन्छ ।

अभिनयमा पनि अब्बल रामकृष्ण ढकाल अप्सरा गर्दागर्दै मलाई दोस्रो फिल्म ‘आशिर्वाद’को अफर आयो । त्यो फिल्ममा मेरो जोडी गायक रामकृष्ण ढकाल हुनुहुन्थ्यो । उहाँ गायकका रूपमा निकै चर्चित भएकाले उहाँसँग अभिनय गर्दा कस्तो होला भन्ने लागेको थियो । तर, उहाँले नै ‘म त गायक हुँ, अभिनय थाहा छैन, बानी पनि छैन’ भन्नुहुन्थ्यो । ‘तपार्इंहरू त अभ्यस्त हुनुहुन्छ, सहयोग गर्नुस् है’ भन्नुहुन्थ्यो । तर उहाँले अभिनय पनि राम्रो गर्नुभयो । निर्देशक शम्भु प्रधान अंकलले जेजे गराउनुहुन्थ्यो, त्यही गरियो । रामकृष्णजीसँग डान्स गर्दा भने अलि असहज हुन्थ्यो । शान्ता नेपाली म्यामले सिकाएर राम्रो काम गराउनुभएको थियो । फिल्मले पनि राम्रै चर्चा पाएको थियो ।

भर्सटाइल एक्टर दिलीप रायमाझी तेस्रो फिल्म ‘भन्नै सकिनँ’मा दिलीप रायमाझीजीसँग अभिनय गरेँ । उहाँ साह्रै मिजासिलो, मिहिनेती र हँसिलो मान्छे । आफ्नो मात्र होइन कि को–आर्टिस्टको पर्फमेन्समा पनि ध्यान दिने बानी उहाँमा पाएँ । म उहाँको डान्सको फ्यान थिएँ । सँगै काम गरेपछि अभिनय पनि राम्रो लाग्यो । दिलीपजी हँसाइरहनुहुन्थ्यो । भन्नै सकिनँपछि उहाँसँग ‘दागबत्ती’ फिल्ममा पनि काम गरियो । उहाँ पर्फेक्ट आर्टिस्ट हो । अभिनय, डान्स, डाइलग डेलिभरी सबै राम्रो छ उहाँको । भर्सटाइल एक्टर हो दिलीपजी ।

मिहिनेती, लगनशील र मिजासिला उत्तम प्रधान मैले काम गरेकामध्ये उत्तम प्रधान पनि निकै सहज लाग्यो । उहाँसँग मैले ‘मायाको साइनो’ फिल्ममा अभिनय गरेकी थिएँ । ‘मुक्ति’ टेलिशृंखला र ‘दर्पणछायाँ’का कारण उहाँ त्यतिवेला निकै चर्चित र व्यस्त हुनुहुन्थ्यो । सेड्युल मिलाएर काम गर्नुहुन्थ्यो । हाँसिरहने, हँसाइरहने, साह्रै मिजासिलो व्यक्तिका रूपमा पाएँ उत्तमजीलाई । आफूले जानेको कुरा सिकाउने, को–आर्टिस्टलाई सहयोग गर्ने सहयोगीपना उहाँमा छ । कामप्रति उहाँ साह्रै मिहिनेती र लगनशील हुनुहुन्छ ।

चरित्रलाई जीवन्तता दिने अनुप बराल अनुप बरालजीसँग मैले ‘दासढुंगा’ फिल्ममा अभिनय गरेँ । सुरुमा थिएटरमा जमेको कलाकारसँग अभिनय गर्न गाह्रो होला कि भन्ने लागेको थियो । तर, उहाँले नै ‘म त थिएटरमा काम गरेको मान्छे, फिल्मको प्राविधिक पक्षसँग अभ्यस्त छैन । त्यसैले सहयोग गर्नुस् है’ भन्नुभयो । आफ्नो चरित्र र भूमिकालाई जीवन्तता दिन अत्यन्तै मिहिनेत गर्ने अभिनेता लाग्यो मलाई अनुपजी । दासढुंगामा काम गर्दा उहाँबाट पनि केही कुरा सिक्ने मौका पाएँ । सायद, उहाँले पनि फिल्मबारे केही सिक्नुभयो होला । अभिनयप्रतिको उहाँको लगाव र झुकाव गज्जबकै छ ।

अत्यन्तै मिहिनेती र मिलनसार राजबल्लभ कोइराला राज बल्लभ कोइरालासँग मैले ‘सम्झना’, ‘छाडी गए पाप लाग्ला’, ‘हे युवा’लगायतका फिल्मका काम गरेकी छु । राजबल्लभ साह्रै फ्रेन्डली लाग्यो । आफ्नो भूमिका र चरित्रमा न्याय दिन अत्यन्तै मिहिनेत गर्ने गर्छन् । युनिटमा सबैसँग मिल्ने, सबैसँग साथीको व्यवहार गर्ने साह्रै्र ‘कुल’ हिरो हुन् उनी । साथीजस्तो भएकाले उनीसँग काम गर्दा सधैँ सहज महसुस भयो । हामी आ–आफ्नो भूमिकाका बारेमा छलफल गथ्र्याैं । कहीँ अझै राम्रो बनाउन सकिन्छ भने निर्देशकसँग सल्लाह गथ्र्याैं । उनीसँग अभिनय गरेको छाडी गए पाप लाग्लाले अवार्ड पनि जितेको थियो । राजबल्लभमा सच्चा कलाकारिता छ ।

‘फिल’ दिन सक्ने आर्यन सिग्देल एकदमै राम्रो अभिनय गर्ने, अझ राम्रो गरूँ भन्ने चाहना राख्ने हिरो हुन्, आर्यन सिग्देल । उनी र मैले ‘कोही मेरो’ र ‘बन्दी’ फिल्ममा अभिनय गरेका छौँ । तीबाहेक अर्काे एउटा फिल्ममा पनि सँगै थियाँै । तर, त्यो फिल्म अहिलेसम्म रिलिजै भएको छैन । आर्यन पर्फेक्ट हिरो हुन् । अभिनय, डान्स, डाइलग डेलिभरीदेखि हिरोइजम सबै छ उनमा । अभिनय गर्दा को–आर्टिस्टलाई ‘फिल’ दिन सक्ने क्षमता उनमा छ । कामको वेलामा निकै खट्ने बानी उनमा छ ।

बेग्लै सोच र शैलीका सुरजसिंह ठकुरी म केही वर्षको अन्तरालपछि ‘कमब्याक’ भएँ– ‘नाइँ नभन्नू ल–३’बाट । सो फिल्ममा सुरजसिंह ठकुरीसँग अभिनय गरियो । सुरजजीको पर्सनालिटी राम्रो, आफ्नो कुरा प्रस्ट राख्ने र आफ्नो भूमिकाप्रति प्रतिबद्ध अभिनेता पाएँ । मिडिया पर्सनालिटी भएर पनि होला, उहाँ सहजै फ्रेन्डली लाग्यो । आफूले गर्नुर्ने अभिनय अझ राम्रो बनाउन कोसिस गर्ने, निर्देशकले भनेको कुरा सहजै टिप्न सक्ने क्षमता उहाँमा छ । एकदम भलाद्मी, अलि बेग्लै प्रकारको सोच र शैली छ उहाँमा ।

प्रस्ट नेपाली बोल्ने जीवन लुइँटेल जीवन लुइँटेलजीसँग ‘राधा’ फिल्ममा अभिनय गरेँ । गत तिहारमा प्रदर्शन भएको सो फिल्म सफल पनि भयो । जीवनजी एकदमै फ्रेन्डली, आफ्नो क्यारेक्टर बुझ्ने अनि निकै प्रस्ट नेपाली बोल्ने अभिनेता लाग्यो । सँगै सिन परेको छ भने सल्लाह गरेर अझ राम्रो बनाउने बानी उहाँमा पाएँ । आफ्नो को–आर्टिस्टलाई पनि सम्झाउने, आफूले पनि केही सिक्ने तत्परता देखाउने गर्नुहुन्छ । अभिनय, संवाद सम्प्रेषण मात्र होइन नृत्य पनि उहाँको निकै राम्रो छ । सक्दो राम्रो गर्न कुनै कसर बाँकी नराख्ने गरेको पाएँ ।

सिक्न चाहने राज कटुवाल पछिल्लो समय मैले ‘लीला’ फिल्ममा नयाँ अभिनेता राज कटुवालसँग अभिनय गरेँ । उहाँमा पनि केही गर्छु भन्ने भावना छ । आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न अत्यन्तै मिहिनेत गर्ने गरेको पाएँ । आफूभन्दा सिनियरसँग सोध्ने, जान्न र सिक्न खोज्ने उहाँमा राम्रो बानी छ । हरेक सटलाई विशेष बनाउनुपर्छ भन्ने सोच उहाँमा रहेको पाएँ । आफूले नजानेको कुरा या आफूलाई थाहा नभएको कुरा सिक्ने उत्सुकता देखाउनुहुन्छ । लगनशीलता र धैर्यता पनि उहाँमा पर्याप्त छ ।नयाँ पत्रिकाबाट

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *