लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौंदोरम्बा गाविस–८ रामेछापका सागर भन्ने टीका थापामगरले लुटपाट, चोरी तथा डकैतीबाट पछिल्लो १० वर्षमा लाखौं रुपैयाँ बराबरको सम्पत्ति जोडे ।

०६४ सालयता पटके कारबाहीमा पर्दै आएका उनी बैंकबाट रकम लिएर बाहिरिँदै गर्दा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटपाट अभियोगमा बिहीबार पुनः छैटौं पटक प्रहरी फन्दामा परे । प्रहरीका अनुसार थापामगरले लुटेको धनबाटै बनेपामा पक्की घर समेत बनाएको फेला पर्‍यो ।

ओखलढुंगा चण्डेश्वरीका महेश खड्काले चोरी तथा डकैतीबाटै केही वर्षअघि काठमाडौंमा १२ आना जग्गा जोडेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । पेसेवर चोर विरुद्धको कारबाहीमा पक्राउ परेपछि उनको अपराध धन्दाबारे महानगरीय प्रहरी अपराध महाशाखाले त्यसको पर्दाफास गरेको थियो ।

रोजगारीका क्रममा काठमाडौं आएका धादिङका लोकबहादुर विश्वकर्माले पनि पैसा कमाउन अपराधकै सहारा लिए । स्थानीय टोले गुण्डा र लुटेरासँग संगत बढाउँदै उनी लुटपाटको सम्पत्तिबाटै बालाजुमा सुनचाँदी व्यवसायीको रूपमा उदाए । तर चोर÷पकेटमारकै सुराकीबाट  उनी प्रहरी फन्दामा परे ।

राजधानीभित्र चोरी, पकेटमारी, लुटपाट, डकैती जस्ता शृङखलाबद्ध अपराधमा थापामगर, खड्का र विश्वकर्मा प्रतिनिधिमूलक पात्रमात्रै हुन् । महानगरीय प्रहरी अपराध महाशाखा तथा स्थानीय प्रहरीले यस्ता अपराधबाट लाखौं रुपैयाँ बराबरको चलअचल सम्पत्ति आर्जन गर्ने अभियुक्तलाई कारबाहीको दायरामा ल्याएको छ । महाशाखाका अनुसार छिट्टै सम्पत्ति आर्जन गर्ने लोभमा कैयौं युवा यस्ता अपराधमा संलग्न हुँदै आएका छन् ।

प्रहरीका अनुसार विभिन्न आवरणमा रहेका गुण्डा नाइकेसँग संगत बढाउँदै आफैं अपराधमा संलग्न हुने युवाको संख्या पछिल्ला दिन बढ्दो क्रममा छ । प्रहरीले दैनिकजसो पक्राउ गर्ने अभियुक्तहरुमा विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका होटल÷रेस्टुराँमा काम गर्ने मजदुर÷बाउन्सर, घरेलु कामदार, चालक तथा बेरोजगार युवा रहेको महाशाखाको अपराध तथ्यांकमा उल्लेख छ ।

पक्राउ परेका लुटेरा तथा चोरमाथि अनुसन्धान गर्ने क्रममा अपराधबाटै कतिपय लाखदेखि करोड रुपैयाँसम्म सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल टोलेगुन्डा हुँदै संगठित अपराधमा संलग्न व्यक्तिसँगको संगतबाट कतिपय व्यक्ति पेसेवर अपराधीको रूपमा सक्रिय हुँदै आएको बताउँछन् ।

उनका अनुसार उत्यकाभित्र सार्वजनिक यातायातमा तथा भीडभाड हुने स्थानमा पकेट मार्नेदेखि सुनचाँदी पसलमा लुटपाट गर्नेसम्मका विभिन्न गिरोह उपत्यकामा सक्रिय देखिन्छन् । जसलाई स्थानीय क्लब सञ्चालक, डान्स÷रेस्टुराँ, होटल, यातायात लगायतमा आवद्ध मजदुर, सडक बालबालिका लगायतलाई गिरोहले संगठित रूपमा परिचालन गर्ने गरेको प्रहरीको दाबी छ ।

यस्तो अपराधलाई पेसेवर गिरोहले सम्पत्ति आर्जन गर्ने सजिलो माध्यम बनाएको उनको दाबी छ । “उपत्यकाभित्र सक्रिय गिरोहले अपराधलाई सम्पत्ति आर्जन गर्ने माध्यम बनाएका छन्,” एसएसपी खनालले भने, “यसका पछाडि गरिबी, बेरोजगारी, अशिक्षा तथा प्रलोभन प्रमुख कारण देखिन्छ ।”आजको कारोबार दैनिकमा खबर छ ।

अपराधबाट धनी बनेका कतिपय अपराधी विस्तारै सामाजिक कामको आवरणमा समाजमा स्थापित हुन खोज्ने क्रम पनि बढेको उनले बताए । त्यस्ता व्यक्तिमाथि प्रहरी निगरानी बढाइएको उनले जानकारी दिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *