निस्प्रभावी विद्यार्थी आन्दोलन

  •  
  •  
  •  
  •  
  •  

नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरवपूर्ण छ । नेपालका परिवर्तनकामी आन्दोलनहरुको अगुवाइ गर्दै विद्यार्थीलाई गोलबन्द गर्ने क्रममा विद्यार्थी आन्दोलन समाज परिवर्तनका आन्दोलनहरुको मुख्य हिस्सेदारको रुपमा स्थापित छ । हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु विद्यार्थी आन्दोलनको केन्द्रीय धारको रुपमा रहेको छ ।

शैक्षिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन, न्यायिक आन्दोलन, सामाजिक परिवर्तनको आन्दोलन र रचनात्मक क्रियाशीलताको क्षेत्रमा अनेरास्ववियुले खेलेको भूमिकाले यस संगठनलाई विद्यार्थी आन्दोलनको नेता संगठनको रुपमा स्थापित गरेको हो । अनेरास्ववियुले विगतमा अबलम्बन गर्दै आएकोे आफ्ना कार्यक्रम र लक्ष्यको बाटोलाई नयाँ परिस्थितिमा पुनः छलफल चलाउनु जरुरी छ ।

यतिबेला विद्यार्थी आन्दोलन र अनेरास्ववियुजस्ता संगठनको आवश्यकता र औचित्यमाथि समेत प्रश्न खडा भइरहेको यस अवस्थामा नयाँ भूमिकासहित विद्यार्थी आन्दोलनले आफूलाई पुनर्पुष्टि गर्नु जरुरी छ ।

विद्यार्थी आन्दोलनका कालखण्डहरु
विद्यार्थी आन्दोलनको विगतदेखि वर्तमानसम्मलाई नियाल्दा यसका चारवटा कालखण्डहरु रहेका छन्ः

१. प्रारम्भिक÷पृष्ठभूमि काल : वि.सं. २०२२ वैशाख ५ गते अनेरास्ववियुको स्थापना भयो । त्यसअघिका सम्पूर्ण आन्दोलन र केही संगठनहरुको प्रयत्नलाई विद्यार्थी आन्दोलनको पृष्ठभूमि÷प्रारम्भिक कालको रुपमा हेर्नुपर्ने हुन्छ । पढ्न पाउनु पर्छ र स्वतन्त्र हिसावले विद्यार्थीहरुले आफ्नो संगठन खोल्न पाउनुपर्छ भन्ने लडाइँ यतिबेलाको विद्यार्थी आन्दोलनको मूल प्रवृत्ति रहेको पाइन्छ ।

२. सांगठनिक राजनीतिक विकास काल (२०२२–२०३६) ः २०२२ मा अनेरास्ववियुको स्थापना भएपश्चात् संगठन विस्तार र राजनीतिक शैक्षिक एजेण्डाहरुलाई अगाडि बढाउने काम भयो । २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको पुनस्र्थापना हुनुका साथै ‘सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय यवस्था’ भन्ने विषयमा जनमत संग्रहको घोषणासम्म पु¥याउने आन्दोलन र स्ववियु निर्वाचनसम्मको अवधि यस कालमा पर्दछ ।

शैक्षिक संस्थाहरुमा व्यवस्थित रुपमा संगठन निर्माण गर्ने र वैचारिक राजनीतिक आधारमा संगठनहरुको विकास गर्नुका साथै शैक्षिक एजेण्डाहरुलाई पनि संगठन निर्माणको आधारको रुपमा विकास गरेको देखिन्छ । राजनीतिक आस्थाको आधारमा संगठनको निर्माण र विकास यस कालको मुख्य उपलब्धीको रुपमा रहेको छ ।

३. आन्दोलनको उत्कर्ष काल (२०३६–२०६३) ः २०३६ सालको विद्यार्थी आन्दोलनदेखि २०६२÷६३ सम्मको अवधिलाई यस कालमा राख्नुपर्ने हुन्छ । यस कालमा मुख्यरुपमा पञ्चायतको अन्त्य गर्ने, लोकतन्त्रलाई बलियो बनाउने र हतियारको प्रयोगलाई कमजोर पार्दै शान्तिपूर्ण आन्दानेलनमार्फत राजतन्त्रको अन्त्य गर्ने राजनीतिक विषयको केन्द्रीयतामा तमामखाले आन्दोलनहरु भएका छन् । यस कालखण्डमा भएका आन्दोलनहरुकै बलमा अनेरास्ववियुले राष्ट्रियताको पहरेदार, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्धा, सामाजिक परिवर्तनको संवाहक ररचनात्मक क्रियाशीलतामा श्रेष्ठ संगठनको रुपमा आफूलाई स्थापित गरेको हो ।

४. नवनिर्माण काल (२०६३ पश्चात्) ः २०६२÷६३ पश्चात् नेपाली विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटोमा लैजानुपर्ने आवश्यकता छ । यस कालका दुइटा चरण छन् ः क) नीति निर्माणको चरण र ख) आर्थिक समृद्धि र विकासको चरण । विगतको धारणालाई परिवर्तन गर्दै नयाँ परिस्थितिमा नयाँ कार्यदिशासहित विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनु जरुरी छ । तसर्थ नर्याँ कार्यदिशाबारे यहाँ केही छ्लफल चलाउने प्रयास गरिएको छ ।

प्रिवर्तित सामाजिक अवस्था
सामन्तवादको नेतृत्वदायी संस्था राजतन्त्रको अन्त्यसँगै नेपाली समाजमा सामन्तवादको अन्त्य भई सामाज पूँजीवादमा प्रवेश गरेको छ । तर यसको चरित्र दलाल पूँजीवादी प्रकृतिको छ । दलाल पूँजीवादको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने, व्यापक ढङ्गले उद्योग कलकारखाना खोल्ने र व्यापक रोजगारी सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिसहितको सुसंस्कृत समाज निर्माण गर्ने बाटोमा मुलुकलाई लैजानुपर्ने सामाजिक दायित्व परिर्वतनकामी शक्तिहरुका सामु छ ।

राष्ट्रिय पुँजीको विकाससँगै समाजवादको यात्रा प्रारम्भ गर्ने दिशामा हामी छौं । हामीले गरेको काम प्रत्येक व्यक्तिको समृद्धिका लागि हो । आजको सामाजिक व्यवस्थालाई परिवर्तन गरेर मात्र त्यो समृद्धि प्राप्त गर्न सकिन्छ । नेकपा एमालको लक्ष्य समाजवाद हो र अनेरास्ववियुको लक्ष्य पनि त्यही हो ।

आजको प्रत्येक मान्छले भन्दैछ, हामी खान, लाउन बस्न र आनन्द गर्न चाहन्छौं । हामीले भनेको समृद्धिको परिभाषा सायद यसैभित्र पर्दछ । हाम्रो लक्ष्य समृद्धि हो । सुविधाजनक भौतिक संरचना निर्माण र आवश्यकतानुसारको मानव संशाधनमा बराबरी हिसावले विकास गर्न सकेमा आम मानिसमा त्यो समृद्धि पु¥याउन सकिन्छ ।

दीगो समृद्धिका लागि प्रगतिशील र न्यायपूर्ण समाज निर्माण गर्नु आवश्यक छ । यस्तो समाज निर्माण गर्न सोही अनरुपका सामाजिक अगुवाहरु उत्पादन हुनु पर्दछ । प्रगतिशील आचरण, मानवता, शान्ति, लोकतन्त्र र सबैका लागि समान अवसर विद्यार्थी आन्दोलनका आधारभूत चरित्र हुन् । विद्यार्थी संगठन मानव संसाधनको विकासको आधार क्षेत्र भएकाले अनेरास्ववियुले परिर्विर्तत सन्दर्भमा सोहीअनुसारको कार्यदिशा निर्धारण गर्नु पर्दछ ।

भावी कार्यदिशा

आजको अवस्थाबाट लक्ष्यसम्म पुग्न तयार गरिएको बाटो नै कार्यदिशा हो । अनेरास्ववियुले विगतमा ‘सामाजिक परिवर्तनका लागि शैक्षिक जागरण’ भनेर आफ्नो कार्यदिशालाई सूत्रीकरण गरेको थियो । तर सामाजिक परिवर्तन कसरी गर्ने र त्यसका लागि कस्तो जागरण ल्याउने भन्ने प्रश्नलाई केन्द्रमा राखेर केही छलफल चलाउनु जरुरी छ ।

विगतमा राजतन्त्रको अन्त्य गर्ने कार्यदिशामा केन्द्रित र शासनसत्तालाई असफल तुल्याउने उद्देश्यमा आधारित संगठन भएकोले अनेरास्ववियुको कार्यदिशा मूलतः विद्रोही चरित्रको थियो । आज पनि हामी त्यस्तै प्रकृतिको अभ्यास गर्न खोजिरहेका छौं तर हामी नव निर्माण कालमा छौं र यो कालमा नयाँ नेपाल निर्माणका लागि योग्यतम जनशक्त निर्माण गर्ने र त्यो जनशक्तिलाई देशभित्रै राखेर उसको योग्यतालाई प्रयोग गरी नयाँ नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी संगठनले योगदान गर्न सक्नु पर्दछ ।

समाजको परिर्विर्तत अवस्थाले हिजोका सोचव्यवहार र आर्थिक–सामाजिक सम्बन्धहरुमा फेरबदल ल्याएको छ । विश्वसञ्चारले सात समुद्रपारिलाई नजिक तुल्याएको छ । यस्तो अवस्थामा विद्यार्थी संगठनले विज्ञान प्रविधिको विकास र परिवर्तित सामाजिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो कार्यदिशा तय गर्नु पर्दछ । विषयगत विशेषज्ञता, सकारात्मक सोच र आदर्श समाज निर्माण गर्नुपर्दछ भन्ने आधारभूत मान्यता भएका व्यक्तिहरुले मात्र समाजको सही ढंगको अगुवाइ गर्न र समाजलाई महत्वपूर्ण ‘कन्ट्रीव्युसन’ गर्न सक्दछन् । नेतृत्वका लागि व्यक्ति स्वयं पनि योग्यतम हुनु जरुरी छ ।

आजको युग ज्ञान र सूचनाले नेतृत्व गर्ने युग हो । तसर्थ विश्व सूचना र ज्ञानले भरिपूर्ण भएको समाजवादी दिशा बोकेको प्राज्ञिक जनशक्तिले मात्र समाजको अगुवाइ गर्न सक्दछ । परिश्रमी, प्राज्ञिक र प्रगतिशील जनशक्तिविना नेपाली समाजको परिवर्तन र विकास सम्भव हुँदैन, हामीले भनेको समृद्धि हासिल हुँदैन । तसर्थ विद्यार्थी संगठनहरुले अब परिश्रमी र प्राज्ञिक जनशक्ति उत्पादनका लागि जोड दिनु पर्दछ ।

विश्वका विकसित देशहरु, चाहे त्यो अमेरिका, बेलायत, चीन, जापान आदि देशहरुलाई हेर्ने हो भने त्यहाँका जनताको अथक परिश्रम र मेहनतबाट ती देशहरु विकसित भएको देखिन्छ । हामीले हाम्रो देशका आम विद्यार्थी र नागरिकहरुमा राष्ट्रनिर्माणका लागि ज्यादै ठूलो मेहनत र परिश्रम गर्नुपर्दछ भन्ने मनोविज्ञान निर्माण गर्नु जरुरी छ ।

यसका साथै प्रत्येक व्यक्ति कुनै पनि एउटा क्षेत्रको विषयगत विशेषज्ञता हासिल गरेर मुलुकलाई योग्यतम जनशक्तिको रुपमा योगदान गर्न उत्प्ररित गर्नु पर्दछ । प्राज्ञिक भन्नाले प्रगतिशील, देशभक्त, जनवादी भइकन कुनै एउटा विषयको विशेषज्ञता भएको व्यक्तिलाई बुझ्नु पर्दछ ।

त्यसका लागि अनेरास्ववियुका नेता कार्यकर्ता स्वयं योग्यतम हुने र आम विद्यार्थी समुदायमा परिश्रमी र प्राज्ञिक बन्नका लागि उत्प्ररित गर्ने कार्यदिशामा आधारित रहेर कार्ययोजना तर्जुमा गरिनु पर्दछ । नयाँ कार्यदिशाका साथ अगाडि बढौं, हाम्रा बीचमा विराट सम्भावनाहरु रहेका छन् । थोमस बास्तोला, निवर्तमान उपाध्यक्ष, अनेरास्ववियु केन्द्रीय कमिटी 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *