प्रचण्ड अर्थात् विश्वाससँग भेट

  •  
  •  
  •  
  •  
  •  

माओवादी नेता भक्तबहादुर श्रेष्ठ र म २०४२/०४३ सालमा वीरगन्ज जेलमा स“गै बसेका थियौं । माओवादी युद्धकालमा मैले र वामदेव गौतमले नेपाली सेनाको कब्जामा परेका भक्तबहादुरलाई दुईपटक रिहाइ गराइदिएका थियौं । सेनाले पिछा गरिरहँदा मैले उनलाई आफ्नो निवास सीतापाइलामै तीन–चार दिन लुकाएको पनि थिए । लामो समयसम्म राख्नु उनी र म दुवैका लागि खतरा थियो ।

त्यसैले आपसी सल्लाहमै उनलाई मेरो गाडीमा राखेर बल्खुमाथिको डा“डामा पुर्‍याइिदए । भक्तबहादुरलाई पिसाबसम्बन्धी रोग थियो । मैले एकपटक गोप्य नामबाट उनको उपचार गराउने व्यवस्थासमेत मिलाइदिएको थिए, शिक्षण अस्पताल महाराजगन्जमा । उपचार गर्ने डाक्टरले बाहेक उनी भक्तबहादुर हुन् भन्ने कसैले पत्तै पाएन ।

शान्ति कालमा समेत उनी मलाई भेट्न आइरहन्थे । पुरानो गुन सम्झेर आएका होलान्जस्तो लाग्थ्यो । उनी प्रचण्डसँग भेटाउने वातावरण मिलाउन आएका रहेछन् । ‘आरकेजी तपाईं प्रचण्डसँग भेट्ने हो ?’ एक दिन उनले अचानक सोधे । मैले हुन्छ भनेपछि भोलिपल्टै भेटघाटको प्रबन्ध मिलाए । जति बेला प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसीन थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट हुने भयो, २०६५ साल कात्तिकमा । म भक्तबहादुरको साथ लागेर गए । ‘बाउ आउनुभाछ भन्दिनू,’ भक्तबहादुरले प्रधानमन्त्री निवासका कर्मचारीलाई भने । ‘बाउ ?’  म एक छिन अलमलमा परें । ‘को बाउ ? कसको बाउ ?’ गम्दागम्दै प्रचण्ड ‘सन्चै बाउ’ भन्दै निक्लिए । उमेरमा पाका भक्तबहादुरलाई प्रचण्डले बाउ सम्बोधन गर्दारहेछन् ।

मनमनै सम्झिए“, छोरोको साथी छोरो भनेजस्तै, साथीको छोरो मेरो पनि छोरो । साथी भक्तबहादुर बाउ हुँदा म पनि बाउ नै हुँ, प्रचण्डको । छोरो प्रधानमन्त्री प्रचण्डलाई भेट्न आएछु, आज ! यस्तै सोच्दै थिए, प्रचण्ड परैबाट दुई हात फैलाएर, ‘आरकेजी ल आउनोस् । के छ हालखबर ?’ भनेर ठूलो स्वरमा बोल्दै हामीतिर आए । मानौं हामी बाल्यकालका लंगौटिया हौं, जो वर्षौंपछि भेटेर खुसी साट्न आतुर छौं । मलाई पनि उनको अनुहार कतै देखेजस्तो लाग्यो ।

२०४८ सालमा काठमाडौं इन्द्रचोकमा मल्ल के सुन्दरको घरमा वामपन्थी पार्टीहरूको बैठक थियो । बैठकको विषयवस्तु भने मैले बिर्सिए । पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको नामले त्यहीं भेटेको मधुरो सम्झनाको फ्ल्यासब्याक भयो । जति बेला उनी नेकपा एकता केन्द्रमा महामन्त्री थिए । एमालेका तर्फबाट म र प्रदीप नेपाल बैठकमा सहभागी भएका थियौं । अर्धभूमिगत विश्वास एउटा कुनामा गजक्क परेर बसेका थिए । त्यसपछि उनीसँग मेरो भेट भएन । एकैचोटि प्रधानमन्त्रीको रुपमा भेटें । तर ‘तपाईंलाई मैले फलानो ठाउँमा भेटेको थिए’ भनेर भन्न पनि सकिनँ । बूढो भइएछ । तत्काल नसम्झिएपछि घरमा आएर स्मृतिका यी पाना पल्टिए ।

म वरै उभिइरहेको थिए । प्रचण्ड त्यहीं आए । अनि हात मिलाउँदै प्रधानमन्त्री निवासको हलमा लगे । त्यही बेला प्रधानमन्त्रीको बेडरूमतिर उक्लिने खुड्किलोबाट एकजना व्यक्ति हातमा कालो ब्याग बोकेर पाइला चाल्दै ओर्लिरहेको देखें । ‘को रहेछ ?’  ठम्याउन खोजें । कतै देखेजस्तो लाग्छ । एक छिन आँखा तिरमिरायो । ‘दाइ’ मैले यकिन गर्न नपाउ“दै उनले नै चिनारू भावमा बोलाए ।

उनी त तिनै अजय सुमार्गी रहेछन्, जोसँग २०४३ सालमा वीरगन्ज जेलमा मसँगै रहेका विरोध खतिवडालाई भेट्न आउँदा सामान्य चिनजान भएको थियो । उनी त्यति बेलैदेखि मलाई दाइ भन्थे । मलाई फेरि अर्को अचम्म लाग्यो । म राजाको मन्त्रिपरिषद्मा हुँदा सुमार्गी युवराज पारस शाहको वरिपरि बसिरहेका हुन्थे । युवराज पारससँग उनको गज्जबको दोस्ती थियो । अँगालो मारेर आउने जाने, खाने तहको मित्रता थियो, उनीहरूबीच ।

पारसलाई भेट्न निर्मल निवासमै पुग्थे । म मन्त्री छँदा दुईपटक सुमार्गी ‘युवराज पारसले यस्तो भन्नुभा’छ उस्तो गर्नु भन्नुभा’छ’ भन्दै काम लिएर आएका थिए । तिनै सुमार्गीलाई यतिखेर म प्रचण्डको बेडरुममै देख्दै थिए । ‘कहाँबाट यता ?’ मैले सुमार्गीलाई साेधें । उनी सकसकाए । ‘काठमाडौंतिरै बस्छु,’ यति मात्र भने । कोठामा प्रवेश गराएपछि प्रचण्डले त्यहाँ भएका सबैलाई बाहिर जान निर्देश गरे । अब प्रचण्ड, भक्तबहादुर र म मात्रै भयौं ।

संवाद अघि बढेको मात्र थियो सेनाको मेजर आएर प्रचण्डलाई स्यालुट ठोक्दै भन्यो, ‘हजुर, संसद्को बैठकबाट बोलावट भएको छ ।’ संसद् भन्दा मसँगको भेट प्रधानमन्त्रीका लागि कम महङ्खवको हुनु स्वाभाविक हो । प्रचण्डले अप्ठ्यारो मान्दै भने, ‘आरकेजी तपाईंसँग एक–दुई घन्टा कुरा गर्न मन थियो । देखिहाल्नुभयो उता जानुपर्ने भयो । आज यस्तै भयो । अर्को दिन   बसौ।’

‘अर्को दिन कहिले ? कुरा गर्ने भए छिट्टै गरौं । मलाई पनि बाहिरतिर जानु छ,’ उधारो अर्को दिनबारे चित्त बुझेन र सोधिहालें । खुट्टा हल्लाउँदै मुन्टो यताउति बटारेर एकै छिन सोचेपछि प्रचण्डले फ्याट्ट भने, ‘भरे बेलुकै ।’ प्रधानमन्त्रीले सहजै भरे बेलुका भन्दा मलाई पत्यार लागेन । त्यसैले भनें, ‘डायरी हेर्नोस् त । समय छ कि छैन । फेरि भरे म आउँला । मान्छेको भीडभाड होला ।’ ‘ह्या चिन्तै लिनुपर्दैन,’ डायरी पल्टाएभन्दा बेसी विश्वस्त बनेर उनले भने, ‘ठीक ६ः३० बजे ।’ ‘गेटमा भन्दिराख्नोस् । नभए भित्र आउन अप्ठ्यारो पर्छ । म माओवादी परिन’, मेरो कुरा सुनेर प्रचण्ड बेजोडले हाँसे । बेलुका आउदा बिहानजस्तो सुरक्षा गार्डले केरकार गरेनन् ।

पहिलो भेटमै धुरीमा

प्रचण्ड एक्लै बसिरहेका थिए । म पनि बेलुका एक्लै गए । आपसी सल्लाहमै भक्तबहादुर बेलुका आएनन् । बालुवाटारको प्रधानमन्त्री निवास यति एकान्त थियो कि चिया पकाउने मानिसधरी थिएनन् । बाहिर उनका स्वकीय सचिव समीर दाहाल मात्रै थिए । म गएपछि प्रचण्डले चिया ल्याउन भने । ‘चिया पकाउने मानिस छैनन्,’ नेपथ्यबाट समीरको स्वर सुनियो । आफैं पकाएर ल्याउन प्रचण्डले उर्दी गरे ।

प्रचण्डसँग  एकान्तमा डेढ घन्टा कुराकानी भयो । राजाको मन्त्रिपरिषद्मा किन जानुभयो ? एमालेले किन निकालेको हो ? जस्ता जिज्ञासा राखे । मैले सबै बेलिविस्तार लगाए । प्रचण्डले यसअघि मेरो किरणसँग  भएका भेटबारे पनि बताए । किरणले मसँग भएका कुराकानीबारे प्रचण्डलाई जानकारी दिंदारहेछन् । ‘म पनि बोलाउँला । तपाईं आफैं पनि कहिलेकाहीँ आएर सरकारलाई सुझाव, सल्लाह दिनुहोला,’ अन्त्यमा प्रचण्डले हार्दिकता प्रकट गर्दै भने ।

प्रधानमन्त्री भएपछि चीनबाट फर्कने क्रममा प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पत्रकारहरूसँग चीन भ्रमण राजनीतिक नभएको तर्क गरेका थिए । राजनीतिक भ्रमणको सुरूवात भारतबाटै गर्ने उनको बकपत्र थियो । यो केटाकेटीलाई फकाउने तहको तर्क थियो । मैले प्रचण्डलाई यही मौकामा जिज्ञासा राखें, ‘के तपाईं चीन फुटबल खेल्न जानुभएको थियो ? प्रधानमन्त्री भएर गएको व्यक्ति कसरी राजनीतिक भ्रमण भएन ? देशको प्रधानमन्त्री विदेश जा“दा राजनीतिक र अराजनीतिक भ्रमण हुन्छ ? यस्ता कुराले तपाईंको ओज घटाउँछ । भारतलाई खुसी पार्नुपर्ने तपाईंको बाध्यता वा रणनीति होला । त्यसका लागि अरु कुरा गर्नोस् ।’

नेकपा (माओवादी) ले चिनियाँ कम्युनिस्ट पार्टीलाई सैद्धान्तिक रुपमा गद्दार भन्थ्यो/भन्छ । अर्कोतिर उसलाई चीनको सहयोग नलिई पनि भएको थिएन । चीनसँग कसरी सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने भन्ने विषयमा समेत मैले प्रचण्डसमक्ष आफ्ना कुरा राखें । संविधान बनाउनेदेखि सरकार सञ्चालनसम्मका आफूले जानेका सुझाव बिसाए । उनले मेरो कुरा यति ध्यान दिएर सुने कि मानौं उनको मस्तिष्कले सबै कुरा रेकर्ड गरिरहेछ । कतिपय विषयमा सबाल–जवाफ भयो । अन्त्यमा प्रचण्डले भने, ‘आरकेजी’

तपाईंलाई मैले जे सोचेको थिँए  त्योभन्दा भिन्न पाए ।
मलाई धुरीमा चढाएर बजार्ने काम धेरैले गरेका थिए । त्यसैले सोधें, ‘सकारात्मक भिन्नता पाउनुभयो कि नकारात्मक ?’ ‘सकारात्मक,’ छोटोमा उनले भने । राम्रै ‘इम्प्रेसन’ परेछ भन्ने लाग्यो । फुरूङ्ग हुँदै घर फर्किए । त्यसपछि फेरि प्रचण्डसँग कहिल्यै यति लामो संवाद भएन । फाट्टफुट्ट भेटघाटचाहिँ भइरह्यो । तर उनले पार्टी प्रवेश गर भनेर लामो समयसम्म मुख खोलेनन् । मेरो त माग्न जाने स्वभावै छैन । गइन ।

(पत्रकारद्धय माधव बस्नेत र मनबहादुर बस्नेतद्धारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासबाट ।)
पुस्तक अल्केमी पब्लिकेसन्सले प्रकाशित गरेको हो । पुस्तक बजारमा उपलब्ध छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *