प्रगतिवादी दृष्टिमा भानुभक्त आचार्य

  •  
  •  
  •  
  •  
  •  

प्रा.डा.जीवेन्द्र देव गिरी
१.विषय प्रवेश

नेपालका प्राथमिक कालीन प्रसिद्ध कवि भानुभक्त आचार्यलाई प्रगतिवादी दृष्टिले कसरी हेर्न सकिन्छ भन्ने कुरा नै प्रस्तुत गोष्ठीपत्रको विषय हो । भानुभक्त आचार्यको जीवनी, उनको साहित्य यात्रा, उनी जन्मेहुर्केको र सिर्जनरत रहेको भौतिक परिवेश आदिबारे धेरै कुराहरु सार्वजनिक भइ सकेका छन् । उनी के कस्ता सर्जक हुन् भन्नेबारे पनि विभिन्न समालोचकहरुले आआफ्ना मत अभिमत आगि सारेका छन्,व्याख्या विवेचना गरेका छन् । ती समालोचकहरुमध्ये कतिपय प्रगतिवादी क्षेत्रकै स्थापित समालोचकहरु पनि रहेका छन् । प्रगतिवादी मान्यता अनुसार समाजको विकास क्रमलाई हेर्ने आफ्नो वैज्ञानिक दृष्टिकोण छ भने जीवन जगत् र त्यसको गतिशीलतालाई पनि सोही दृष्टिकोण अनुरूप विश्लेषण गरिन्छ । यो दृष्टिकोण माक्र्सवाद र त्यसको आलोकमा विकसित कला साहित्य सम्बन्धी सैद्धान्तिक अवधारणासँग सम्बन्धित छ । त्यसैले यहाँ भानुभक्त र उनको जीवन यात्रा, साहित्य यात्रा, प्रगतिवादी साहित्यिक मान्यता, भानुभक्त र उनका कृतिसँग सम्बन्धित मत मतान्तर आदितिर दृष्टि लगाउँदै प्रगतिवादी दृष्टिमा भानुभक्तलाई कुन रूपमा लिने भन्नेबारे विवेचना गर्ने प्रयत्न गरिएको छ ।

२.प्रगतिवादी दृष्टिकोण
प्रगतिवादी दृष्टिकोण माक्र्सवादमा आधारित साहित्य सम्बन्धी दृष्टिकोण हो । साहित्यका क्षेत्रमा प्रगतिवादले त्यही अर्थ राख्तछ जुन अर्थ राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक आर्थिक क्षेत्रमा समाजवाद र दर्शनका क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादले राख्तछ । (ने.रा.प्र.प्र, २०५६ः४९३) ‘प्रगति’ शब्द ‘वाद’ सँग गाँसिएको हुँदा त्यसले सामान्य रूपमा उन्नति, उत्थान, विकास, अग्रगति जस्ता अर्थ मात्र यहाँ नबुझाई माक्र्सवादसँग सम्बद्ध साहित्यिक मान्यतालाई बुझाएको पाइन्छ । यसलाई समाजवादी यथार्थवाद पनि भनिन्छ । त्यसैले साहित्यका क्षेत्रमा सामाजिक यथार्थवाद र आलोचनात्मक यथार्थवादभन्दा उन्नत चिन्तनका रूपमा यो रहेको छ ।

त्यसैले न यो यथार्थको सरल वर्णन वा फोटोकपी हो न त यो केवल विद्यमान समाजका कटु यथार्थ वा सामन्तवादी पुँजीवादी उत्पीडनका विरुद्ध कारण र समाधानको पहिचान नगरीकनै गरिएको आलोचनात्मक यथार्थवादी दृष्टि मात्र हो । (तिमल्सेना, २०६४ः५९) ‘प्रगतिवाद’ सँग गाँसेर ‘प्रगतिशीलता’ शब्द पनि चलनचल्तीमा ल्याइएको पाइन्छ । यी दुई शब्दको अन्तरबारे पनि स्पष्ट हुन आवश्यक छ ।

प्रगतिशीलतामा यथास्थितिका विरुद्धको आलोचना भाव सामान्य रूपमा रहन्छ तर त्यो माक्र्सवादमा आधारित वा त्यससँग प्रत्यक्ष सम्बन्धित हुनै पर्ने अपरिहार्यता रहँदैन भने प्रगतिवाद चाहिँ माक्र्सवादकै दार्शनिक मान्यतामा आधारित हुनु अपरिहार्य रहन्छ । (पाण्डे, २०५६ः१) प्रगतिशीलताले जन चाहनालाई पक्रने र जनभाषालाई अँगाल्ने, मानवीय समता भावलाई स्विकार्ने एवम् शोषण र अन्यायका विरुद्धमा विद्रोही स्वर घन्काउने काम गरे पनि दृष्टिकोणको ढुलमुलपनबाट त्यो मुक्त भएको हुँदैन । (प्रभात, २०६३ः१४) प्रगतिवाद भने सोचाइले दार्शनिक सीमा ग्रहण गरेको अवस्था हो र समाजलाई बुझ्ने एवम् यसलाई व्यवस्थित किसिमले परिवर्तन गर्ने क्षमता राख्ने माक्र्सवादी वैज्ञानिक चिन्तन पद्धति अँगालेको र त्यसैले अनुशासनमा आवद्ध अवस्था हो (उप्रेती, २०५८ः११४)

माक्र्सवादसँग आबद्ध रहेकाले प्रगतिवादका मूल दार्शनिक आधारका रूपमा ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद रहनु स्वभाविक छ । ऐतिहासिक भौतिकवादले मानव समाजको विकास क्रमको वैज्ञानिक र यथार्थ व्याख्या गरेको छ । यसले उत्पादक शक्ति र उत्पादन सम्बन्धको व्याख्या गर्दै मानव समाज परिवर्तनशील रहेको र त्यसले आदिम साम्यवादी युग, दासस्वामी युग, सामन्ती युग, पुँजीवादी युग हुँदै समाजवादी युगमा प्रवेश गर्ने कुरा स्पष्ट पारेको छ । यसले अन्ततः साम्यवाद समुन्नत समाजको उपलब्धि बन्ने कुरा पनि प्रस्ट्याएको छ ।

यसरी समाज परिवर्तन हुने क्रममा उत्पीडक र उत्पीडित वर्गबिच हुने सङ्घर्षमा पुराना उत्पादन सम्बन्ध नष्ट भई नयाँ समाज निर्माण हुने कुरा पनि यसले निर्दिष्ट गरेको छ । यसरी नै द्वन्द्वात्मक भौतिकवादले वस्तु र प्रकृतिलाई हेर्ने अधिभूतवादी दर्शनका विरोधमा नयाँ दृष्टिकोण अगि सारेको छ । यसले वस्तु वा पदार्थलाई त्यसभित्र हुने विपरीत तत्वको सङ्घर्षले मात्रात्मक हुँदै गुणात्मक परिवर्तनमा पु¥याउने व्याख्या गरेको छ । यो नियम समाज रूपान्तरणका सन्दर्भमा पनि लागु हुने कुरा पनि यसले प्रस्तुत गरेको छ । अझ जीवन जगतलाई ईश्वरीय सृष्टि र रहस्यमय ठान्ने आदर्शवादी चिन्तनलाई पनि प्रहार गर्दै संसारको हरेक कुराको व्याख्या गर्न सकिने र त्यसलाई बुझ्न र पर्गेल्न सकिने दृष्टिकोण पनि यसले दियो ।

चेतनालाई वस्तुबाट अलग्याएर विशिष्ट महत्त्वको ईश्वरीय वरदान ठान्ने चिन्तनमाथि पनि यसले प्रहार ग¥यो र वस्तुलाई प्राथमिक कुरा ठानेर त्यसबाटै चेतनाको निर्माण हुने विज्ञान सम्मत तर्क पनि अगि सा¥यो । विपरीत तत्त्वहरुको एकता, सङ्घर्ष र रूपान्तरण, मात्रात्मकबाट गुणात्मक परिवर्तन तथा निषेधको निषेध जस्ता नियमहरुका आधारमा हुने वस्तु जगत्को परिवर्तनबारे द्वन्द्वात्मक भौतिकवादले छर्लङ्ग पार्ने काम ग¥यो ।

आफ्ना पूर्ववर्ती दार्शनिकहरु हेगेल र फायरबाखका दार्शनिक मान्यताहरुलाई परिष्कृत तुल्याउँदै र तिनका यान्त्रिक र आदर्श व्याख्याबाट मुक्त पार्दै माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको सूत्रपात गरेका थिए । यो जीवन जगत्को अस्तित्व र त्यसको गतिशीलता एवम् परिवर्तनलाई हेर्ने अर्को महत्त्वपूर्ण एवम् यथार्थमा आधारित वैज्ञानिक मान्यताका रूपमा स्थापित भयो । साहित्यमा प्रगतिवादले यही वैचारिक मान्यताका भट्टामा गालेर कलात्मक रूपमा जीवन जगत्का यथार्थलाई प्रकट गर्ने काम गर्दछ ।

यसरी प्रगतिवादी साहित्यिक मान्यताले समाज विकासको गतिशील यथार्थलाई प्रस्तुत गर्ने वर्ग सङ्घर्षको मान्यतालाई आत्मसात् गर्ने, वर्ग सङ्घर्षमा उच्च वर्गको पतन र निम्न वर्गको विजयमा विश्वास राख्ने, जीवन जगत्को सृष्टिकर्ता ईश्वर हो र मान्छेभित्र विचार वा चेतनाको निर्माण त्यसैले गर्छ भन्ने कुरालाई अस्वीकार गर्ने, संसारका सबै कुरा व्याख्येय र बोधगम्य छन् भनी ठान्ने, चेतनाको निर्माणमा पदार्थको भूमिकालाई अँगाल्ने जस्ता कतिपय कुराहरुलाई वस्तुतत्त्वका रूपमा लिँदै त्यसको साहित्यमा प्रस्तुतिका निम्ति सरल, उपयुक्त र आकर्षक भाषाशैली, प्रतीक बिम्ब आदिको सहारा लिने गरेको छ । त्यसैले प्रगतिवादी साहित्यले वस्तुतत्त्व र रूपतत्त्वको समुचित संयोजनमा शक्ति प्राप्त गर्दछ र असङ्ख्य मान्छेहरुको मन जित्ने सामथ्र्य प्रदर्शन गर्दछ ।

३.भानुभक्तको जीवन यात्रा

भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ आषाढ २९ गते आइतवारको दिन तनहुँको चुँदी रम्घामा भएको थियो । उनी माता धर्मावती देवी र पिता धनञ्जयका एक मात्र छोरा थिए । उनका पिता पाल्पा गौँडामा खरिदार पदमा जागिरे भएकाले उनका बाजे श्रीकृष्ण आचार्यको संरक्षण र शिक्षादीक्षामा उनको बाल्यकाल बितेको थियो । उनको परिचय उनका शब्दहरुले यसरी दिएका छन् ः–
भानूभक्त भनी प्रसिद्ध नरमा जसको छ नाऊँ पनि ।
तिन्को घर तनहुँ छ बेसिचुँदि हो गाऊँ त रम्घा भनि ।

पाहाड्को अतिवेश देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया ।
खुब् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया ।।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
उन्को नाति म भानुभक्त भनी हुँ यो जानि चिह्नी लिया ।।

उनले आफ्ना बाजे श्रीकृष्ण आचार्यसँग घरमै दुर्गाकवच, चण्डी, अमरकोश, लघु कौमुदी, वेद, रुद्री आदि शास्त्रहरुको अध्ययन गरेका थिए । अध्ययनका क्रममा उनी केही समय पोखरामा बसेका थिए भने बाजेसँगै काशीमा गई साँझ बिहान अध्ययन गर्ने र दिउँसो बृहत् सभामा भाग लिने पनि गरेका थिए । बाजे श्रीकृष्णको वि.सं. १८८९ मा काशीमा मृत्यु भएपछि पनि उनी एक वर्षसम्म त्यहाँ नै रहेका थिए । (आचार्य, २०६३ः८६) त्यसपछि उनी तनहुँको आफ्नो घरमा फर्केर गृहस्थी सम्हाल्न थालेका थिए । उनी १० वर्षको हुँदा उनको पहिलो विवाह चन्द्राकान्ता देवी खनालसँग भएको थियो र विवाह भएको १८ महिनामै उनको मृत्यु भएपछि ११ वर्षको उमेरमा उनले चन्द्रकला देवी खनालसँग दोस्रो विवाह गरेका थिए जसबाट रमानाथ र शिव शङ्कर नामक दुई पुत्र जन्मेका थिए । यी शिव शङ्करको १४ वर्षको उमेरमा नै देहान्त भएको थियो । त्यसैले भानुभक्तको देहान्त हुँदा उनीसँग जेठा छोरा रमानाथ मात्र थिए ।

भानुभक्तले एक गृहस्थका रूपमा घरका विभिन्न जिम्मेवारीहरु सम्हाल्नु परेको थियो । घर व्यवहारका क्रममा जग्गाका साँधसीमा, कुलोपानी आदिसँग सम्बन्धित कामका निम्ति उनले अड्डा अदालत धाउनु परेको थियो र मुद्दा समेत बेहोर्नु परेको थियो । यस क्रममा उनी वि.सं. १९०६ मा पहिलो पटक काठमाडौं आएका थिए । वि.सं. १९०९ मा उनी पदमा बहाल छँदाछँदै काशीमा दिवंगत भएका उनका पिताको हरहिसाब चुक्ता गर्न काठमाडौं आउँदा सो हरहिसाब सजिलोसित फरफारक गर्न नसकी कुमारी चोकको निगरानीमा पाँच महिना जति काठमाडौंमा थुनामा रहेका थिए । थुनाबाट मुक्त भएपछि पनि उनी काठमाडौँ आउजाउ गरिरहन्थे । काठमाडौंको महाबौद्धमा बाबुका पालादेखिको उनको घर थियो र काठमाडौँमा उनलाई बसोबासको समस्या थिएन ।

वि.सं. १९२४ को हिउँदमा उनी अन्तिम पटक काठमाडौं आएका थिए र वि.सं. १९२५ मा यहाँबाट घरतिर फर्किंदा बिरामी भई त्यसै वर्षको आश्विन शुक्ल पञ्चमीका दिन तनहुँ र गोरखा जिल्लाको साँधमा बग्ने कर्मनशा नदीका तिरमा रहेको गाईथुने घाटमा ५४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

४.भानुभक्तको साहित्य यात्रा

भानुभक्तले १०÷१२ वर्षको उमेरदेखि जीवनको अन्तिम अवस्थासम्म साहित्य सिर्जना गरेका थिए । (न्यौपाने, २०६३ः९३) उनले कविता सिर्जनामै आफ्नो सिर्जनशक्तिको उपयोग गरे र तिन दर्जनभन्दा बढी फुटकर कविता, आधा दर्जन जति लघु काव्य र एउटा महाकाव्य नेपाली साहित्यलाई सुम्पे । यिनका अतिरिक्त उनका केही साहित्यिक पाण्डुलिपि पनि उपलब्ध रहेको कुरा आचार्य (२०६३ः १०२–११५) ले जानकारी दिएका छन् ।

भानुभक्त आशुकवि थिए र तत्कालका प्रसङ्ग र घटनालाई टिपेर लयबद्ध रूपमा प्रस्तुत गर्न सक्तथे । उनले गाउँघरका साथीभाइ र कामदारहरुसित हाँसोठट्टा गरी बस्ता सुरु सुरुमा केही कविता लेखेका छन्, देश परदेशको यात्रा गर्दा आफूले देखेभोगेका घटना एवम् सन्दर्भलाई विषय वस्तु बनाई कविता सिर्जना गरेका छन् र राम कथा एवम् वेदान्त दर्शन तथा सामन्ती पारिवारिक ढाँचाको वर्णनलाई पनि आफ्ना कविताको विषय बनाएका छन् ।

न्यौपाने (२०६३ः९३–९८) ले उनका कविताहरुलाई तिन चरणमा बाँडेर सूचीबद्ध गरेका छन् । यस अनुसार (१) केश कन्चेट, कहनू…., (२) मास्भृङ्गी बेल दूबो… (३) श्रीशालीवाहन्का…, (४) मानुङ्को सरिगाउँ… र (५) पाहाडको अतिवेश देश् उनका प्रथम चरणका कविता हुन् भने (१) भरजन्म घाँसतिर…(२) असल् मुग्रे केरा…. (३) अपार संसार समुद्र (प्रश्नोत्तर माला), (४) भानुभक्त भनी प्रसिद्ध…(५) गजाधर सोतीका…(६) एक् दिन् नारद सत्यलोक् …(रामायण बालकाण्ड), (७) यति दिनपछि मैले…. (८) चपला अबलाहरु… र (९) बिन्ती एक म गर्दछु… द्वितीय चरणका कविता कविता हुन् । यसमै तृतीय चरणका कविताका रूपमा (१) रोज् रोज् दर्शन पाउँछु… (२) जागिर् छैन धनी म छैन… (३) एकान्त स्थलमा (रामायण अयोध्या काण्ड), (४) अत्रीका आश्रमैमा (रामायण अरण्य काण्ड (५) जस्सै मुक्त भई (रामायण किष्किन्धा काण्ड) (६) तर्छु क्षार समुद्र (रामायण सुन्दर काण्ड), (७) चालीस वर्ष भयाँ… (८) शरिर छ अति कच्चा… (९) लङ्कापुरी सकल (रामायण युद्धकाण्ड), (१०) रामायण छ अगम्… (११) ख्वामित् यस गिरिधारिले …. (१२) साँचा हुन् जति लेखिया…(१३) नमृत्यु टन्र्या हो….(१४) बिन्ती डिट्ठा विचारीसित…(१५) प्रतिज्ञा मैले यो (भक्तमाला), (१६) बिर्के टोपी पठाऊ (१७) ऐले दाङ् गई… (१८) भाषा श्लोक् भनुँ ता…(१९) विद्वान जनले लोहलाई…(२०) पोथी पात्रा छन्….(२१) प्रातः कालमहाँ (वधूशिक्षा), (२२) एक थोक् भन्छु…. (२३) कतै खरानी छरि… (२४) क्या लड्छन् बटयी (२५) तीन् सात् एग्घार… (२६) तान्यो एग्घारबाटै (२७) बीस सालसम्म त (२८) लुच्चा हुन् यस भाटका…(२९) क्वै उठ्छन् त सबेरमा… (३०) क्याले भुल्छौ जगतमा…(३१) मेरो कीर्ति भनी सुनीकन (रामगीता) र (३२) अनाथ्का नाथ् (भक्तमालाका थप पद्य) लाई लिइएको छ । यीमध्ये फुटकर कविताहरु विभिन्न समयमा लेखिएका हुन् भने (१) अध्यात्मक रामायणमा आधारित ‘बालकाण्ड’को पद्यानुवाद वि.सं. १९९८ मा, ‘रामायणका अरू काण्डहरु वि.सं. १९१० मा, ‘बधूशिक्षा वि.सं. १९१९ मा र ‘रामगीता’ वि.सं. १९२५ मा रचना गरिएका हुन् । (भट्टराई, २०४०ः१३) ‘रामायण’ का विभिन्न काण्डहरुले एकत्रित रूपमा महाकाव्यको स्वरूप प्राप्त गरेको पाइन्छ भने ‘प्रश्नोत्तर माला’, ‘भक्तमाला’ ‘बधूशिक्षा’ र ‘रामगीता’ लघु काव्यका रूपमा रहेका छन् ।

भानुभक्तका उपर्युक्त रचनाहरुको प्रकाशनमा भट्टको विशिष्ट योगदान छ भने नरनाथ आचार्य, भानुभक्तकी नातिनी विष्णुमाया, ब्रह्म शमशेर, तारानाथ उपाध्याय, बाबुराम आचार्य र हरिहर भट्टराईले पनि केही रचना प्रकाशन गरेका छन् । भानुभक्तप्रतिको सद्भाव र शोधखोजको फलस्वरूप यी सामग्रीहरु उपलब्ध भई प्रकाशित हुन सके । अहिले पनि भानुभक्त र उनका कृति सम्बन्धी अध्ययन जारी छ र उनका केही पाण्डुलिपिहरु प्राप्त भई तिनको चर्चा परिचर्चा भएको पाइन्छ । जीवनको अन्तिम घडीको बिरामी अबस्थामा पनि छोरा रमानाथलाई ‘रामगीता’का श्लोकहरु लेख्न लगाई साहित्यप्रतिको अनुराग देखाउने भानुभक्तका थप पाण्डुलिपि फेला पर्नु कुनै अनौठो कुरा होइन । समग्रमा उनी करिब चार दशक नेपाली साहित्यमा सक्रिय रहे र नेपाली भाषा साहित्यका क्षेत्रमा अमर बने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *