बीपी राजमार्गमा ३० मिटर सडक भासियो, आवत–जावत ठप्प (हेर्नोस् तस्बिर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ९ फागुन । बीपी राजमार्ग हुँदै पूर्व र तराई जाने यात्रुले काठमाडौंबाटै वैकल्पिक सडकमार्ग प्रयोग गर्नुपर्ने भएको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको शीतलपाटी–९ मा सडक भासिएपछि आवत–जावत पूर्ण रूपमा ठप्प भएको छ ।

विगतमा भूकम्पले थर्काएर भास्सिएको सडकमा भीरको करिब ३० मिटर पक्की सडक आइतबार राति ११ बजे सुनकोसी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

सडक भास्सिएर सुख्खा पहिरो गएपछि रातिदेखि नै बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ । सडकको नदीको भागदेखि आधाभन्दा बढी पिचसमेत भासिएर सुनकोसी नदीमा झरेको छ । जसका कारण केही दिन बीपी राजमार्ग खुल्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । नदीको माथिल्लो भागबाट ढुंगाको पर्खाख उठाएर सडक पुर्न समय लाग्ने देखिएको छ ।

हजारौं यात्रु अलपत्र

राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उहाँको भनाइ छ । राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले जानकारी दिए ।

आइतबार रातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् । विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन् ।

रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेका छन् । सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै महोत्तरी हँुदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको बताइएको छ । रातिदेखिको सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ कार्कीले बताए ।

वैकल्पिक सडक कतिबेला निर्माण हुन्छ यसै भन्न नसकिए पनि अलपत्र परेका सवारीसाधन तथा यात्रुलाई चाँडै गन्तव्यमा पु¥याउन लागिपरेको उनले बताए । सडकको जग बलियोसँग नबनाइनु, भूकम्पका कारण चर्किएको र सुनकोसीले बर्सातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयवासीले आंकलन गरेका छन् ।

तस्बिर -: उज्ज्वल पहाडी र दिपक श्रेष्ठको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *