नेपाल–कोरिया संस्कृति, साहित्य र कला महोत्सव सुरु

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । साहित्य, संगीत र कलाको कुनै भाषा, जात र धर्म हुँदैन । आजको विश्वमा भूगोलको कुनै एक कुनामा रहेको कला, साहित्य र संगीत भूगोलको अर्को कुनाको मानिसका लागि सहज र ग्राह्य हुन थालेको छ । विश्व सूचना र सञ्चारका कारण यति साँघुरो भइसकेको छ कि कुनै पनि संस्कृति, भाषा, कला, संगीत र साहित्यले पनि विश्वव्यापी हुने अवसर पाउन थालेका छन् ।

पछिल्लो समय नेपाली भाषा, साहित्य, कला र संस्कृति अन्तर्राष्ट्रियकरण हुँदै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको समन्वय र सहकार्यमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी बनाउने अभियान सञ्चालन हुन थालेका छन् । यसैको पछिल्लो उदाहरण बनेको छ, ‘नेपाल–दक्षिण कोरिया संस्कृति, कला, साहित्य महोत्सव ।’

नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम, दक्षिण कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि नेपाल– दक्षिण कोरिया संस्कृति, कला, साहित्य महोत्सव सुरु भएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गरेको तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित चित्र÷मूर्तिकला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिनेछ ।

महोत्सवमा मन्त्री थापाले दक्षिण कोरियाले छोटो समयमा गरेको समृद्धिबाट नेपालले सिक्नुपर्ने बताउँदै कोरियाले नेपाली युवालाई सम्मानजनक रोजगारी दिइरहेको बताए । दुई देशको आपसी सम्बन्धलाई साहित्य, कला र संस्कृतिका माध्यमले थप जोड्ने भएकाले यस्ता महोत्वसको निरन्तरताको कामना गर्दै उनले यहाँको हरेक दुःखमा निःस्वार्थ सहयोगका हात फैलाएकामा कोरियाप्रति आभार पनि व्यक्त गरे ।

संघका अध्यक्ष कवि प्राज्ञ श्रवण मुकारुङका अनुसार सो तीनदिने कार्यक्रममा फागुन ११ गते नेपाल र दक्षिण कोरियाका भाषा–साहित्य, सँस्कृति, कला, समाजशास्त्रसम्बन्धी विभिन्न ८ ओटा कार्यपत्र प्रस्तुत गरिनेछन् भने प्रस्तुत कार्यपत्रमाथि टिप्पणी पनि हुनेछ । सोही दिन नेपाल र कोरियाका आठ जना कविले आआफ्ना कविता वाचन पनि गर्नेछन् ।

दोस्रो दिन फागुन १२ गते नेपाली र कोरियाली दुई दर्जन कविले कवितावाचन गर्नेछन् भने डेढ दर्जन नेपाली गजलकारले गजल प्रस्तुत गर्नेछन् । नेपाली कवि र गजलकारले विभिन्न मातृभाषामा कविता र गजल वाचन गर्ने जानकारी पनि मुकारुङले दिए । महोत्सवको अन्तिम दिन फागुन १३ गते नेपाली र कोरियाली चित्रकार, मूर्तिकारका चित्रकला, मूर्तिकलाको प्रदर्शनी तथा चित्रकला÷मूर्तिकलामाथि छलफल र अन्तक्र्रिया गरिनेछ ।

नेपाल र दक्षिण कोरियाबीच साँस्कृतिक, साहित्यिक, कलाको आदानप्रदान गर्ने हेतुले सो महोत्सव गर्न लागिएको संघले जनाएको छ । संघका महासचिव रत्नमणि नेपालले यस कार्यक्रमबाट नेपाली भाषा–साहित्य, कला र संस्कृतिको विदेशसम्म प्रचार प्रसार हुने उल्लेख गरे । कार्यक्रममा केही विपन्न नेपाली विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रममा नेपाल र दक्षिण कोरियाका विभिन्न लोकनृत्य प्रदर्शनी पनि गरिएको थियो । युरासिया कल्चर फोरमका अध्यक्ष हङ् थैसिकले नेपालको कला र संस्कृतिप्रति आफूहरुको अगाध माया रहेको बताउँदै नेपाली साहित्यिक संस्थासँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *