सुवाषचन्द्र बोसको अनुमान सत्य भयो

  •  
  •  
  •  
  •  
  •  

प्रदीप नेपाल

सुवाषचन्द्र बोसको अनुमान सत्य भयो । दोश्रो विश्वयुद्ध, पहिलो विश्वयुद्ध भन्दा विनाशकारी भएर धरतीमा ओर्लियो । पहिलो विश्वयुद्धको कालमा छिँटा समेत नपरेको नयाँ भूभाग पनि युद्धको भुँवरीमा छिर्‍यो । त्यो थियो जापान । पहिलो विश्वयुद्धमा कतै उपस्थित नभएको जापान दोश्रो विश्वयुद्धमा अमेरिकासमेतको आँखामा चढिसकेको थियो । एशियामा जापानले, युरोपेली मुलुकका ससाना उपनिवेश मात्र होइन, चीन, कोरिया र भारत जस्ता देशमा पनि आक्रमण गरेको थियो र चिताइनसक्नुको सबै मुलकलाई टक्कर दिएको थियो ।

चीन र कोरियामा जापानको अर्को नाउँ नै ‘नरसंहार’ बन्यो । गाउँका गाउँ आगो लाएर समाप्त पारेर जापानले चीन र कोरियालाई तहसनहस पारेको थियो । विश्वमा कहिल्यै घाम नअस्ताउने साम्राज्य भनी नाम कहलिएको बेलायतलाई जताततै आच्छु आच्छु खेलाएको थियो जापानले । सुवाषचन्द्र बोस भारतीय राष्ट्रिय काङ्ग्रेसका सभापति थिएनन् त्यतिबेला । तर सिङ्गो भारत उनकै नारामा ओर्लिएको थियो । आजाद हिन्द फौज स्थापना गरी उनले बेलायतलाई टक्कर दिइरहेका थिए ।

रामप्रसादको चासो सुवासचन्द्र बोसतिरै बढेको थियो । उसले सुवाषचन्द्र बोसलाई देखेको थियो । भेटेको थियो । उनको मुक्ति सङ्ग्रामको कुरो सुनेको थियो । तर नेपाल सरकारले विश्वयुद्धमा बेलायती सरकारलाई सघाउने निर्णय गर्‍यो । नेपाल कतै नलागोस्, तटस्थ बसोस भन्ने चाहना थियो रामप्रसादको । त्यस्तो हुँदा सुवाषचन्द्र बोसको तागत बढ्थ्यो ।

‘बोसको फौज हार्ने भयो’ सुस्केरा छोड्यो राईले । उसलाई नेपाली फौजको तागतको जानकारी थियो । तर रामप्रसादले युद्धमा जानु परेन । उसलाई देशको चार भागमा चलेको भर्ति केन्द्रको निरीक्षण एवम् नयाँ भर्ना भएका युवाहरूको विदाइको जिम्मेवारी परेको थियो ।

नेपाल सरकारले ‘भर्ति संवन्धी सबै निर्णय गर्ने अधिकार सहित’ रामप्रसादलाई भर्ति निरीक्षण जिम्मेवारी दिएर काममा पठाएको थियो । यो निर्णयमा पनि शाह जर्नेलकै निर्देशनमा भएको थियो ।

तर बेलायत सरकारले नेपालको चार क्षेत्रमा भर्ति केन्द्र खोलेको थिएन । पूर्वमा धरानमा क्याम्प थियो । तर भर्तिकेन्द्र धनकुटा बनाइएको थियो । पश्चिमतिर कुनै क्याम्प थिएनन् । सिङ्गो पश्चिम क्षेत्रको भर्ति केन्द्र भारतको गोरखपुरमा हुँदै आएको थियो ।

युद्धको विभिषिका भारतको टाउकोमा आइसकेको थिएन । त्यसै हुनाले रामप्रसाद र उसको विदाइ टोली काठमाडौं, अमलेखगञ्ज, वीरगञ्ज, रक्सौल हुँदै भारतीय रेलको बाटो विराटनगर छिरेर धनकुटा पुग्यो ।

धनकुटा पहिलो भर्तिकेन्द्र थियो । नेपाली युवालाई छिटो छिटो मोर्चामा पठाउन सकियोस भनेर बेलायतीहरूले उनीहरूको रेल लाइनलाई जोगवनीसम्म तानेका थिए ।

बेलायती सरकारले युद्ध प्रयोजनका लागि नेपालको सीमासम्मको नव निर्माणलाई तिब्रता दिएको थियो । ठूलो संख्यामा भर्तिवाले युवालाई बोक्न रेल सेवा नै प्रभावकारी हुन्थ्यो । भर्ति जान चाहने युवा नेपालमै थिए । रेल लाइनका लागि चाहिने काठको जङ्गल पनि नेपालमै थियो । त्यो जङ्गल मासेर त्यसलाई रेल लाइनको निर्माण स्थलसम्म लाने सस्तो श्रम शक्ति पनि नेपालमै थियो ।

बेलायत सरकारलाई आफ्नै मुलुक ‘इण्डिया’ का भन्दा नेपाली सैनिक माथि विश्वास थियो । ‘शून्य डिग्रीको चिसोमा युद्ध मोर्चामा तेर्सिएर बेलायती सम्भ्रान्तहरूलाई कोठाभित्र बसेर तातो कफी खान दिने भनेका गोर्खाली मात्रै हुन्’ भन्ने सत्य बेलायती हाकिमले बुझिसकेका थिए ।
अरू के चाहिएको थियो र बेलायतलाई रेल लाइन बनाउन । इन्जिन, डब्बा र लाइन उसकै कारखानामा बन्थे । बाकि कच्चा पदार्थ नेपालमै थिए, जसलाई मनपरी ढङ्गबाट दोहन गर्न नेपाल सरकारले भारतको बेलायती सरकारलाई छुट दिएको थियो ।

दह्रिला राई र लिम्बु केटाहरूमा उत्साह थियो, त्रास थिएन । एउटा त उनीहरू भर्तिमा जाँदै थिए । दोश्रो गाउँघरमा हुर्किएको कुनै पनि नेपालीले युद्धको विनाशकारी विभिषिकाको अनुमान पनि गरेका थिएन । बेलायतले धनकुटामा भर्ति खोलेर युद्धको आगोमा झोस्तैछ भनेर जानकारी पाएको भए भर्ति एक चौथाइ पनि हुने थिएन ।

सत्य बुझेको रामप्रसादले ऊदास आँखाले भर्तिको लाइनमा उभिएको युवा पंक्ति लाई हेरेर भन्यो – डु अर डाई (गर या मर) । यो अङ्ग्रेजी पल्टनको नियम हो । यसमा कायरता नदेखाए । यात छातिमा बहादुरीको तक्मा लगाए या युद्धमा शहीद भएर नेपाल आमाको नाम राखे । अनुशासन नभएको फौजले कहिल्यै लडाईं जित्दैन । नयाँ नयाँ कुरा सिक्ने मौका पाएका छौं । दुनियाँका नयाँ रीत सिक्ने मौका पाएका छौ । सिक्ने अवसर कहिल्यै नगुमाउनु । …

आफ्नो अघिल्तिर उभिएका तन्नेरीहरू दशैंको मौलोमा बाँधिएका निरीह जनावर जस्ता लागे उसलाई । त्यसैले होला तल घोपा क्याम्पदेखि सँगै आएको पहिलो पटक नेपाल भित्रै युवा भर्तिको जिम्मा लिएर आएको गोरा अफिसरले मचक्क हात मिलाउँदै भन्यो, ‘थ्याङ्क यु अफिसर ।’ (अफिसर, धन्यवाद छ तपाईंलाई)

रामप्रसाद राईको छाति गर्वले फराकिलो भयो । ‘गोर्खा र गुखा’ को व्यक्तिगत अपमान सेतो छालातिर फर्र्किएर गएजस्तै लाग्यो उसलाई ।
‘इट्स माइ ड्युटी, अफिसर’ (अफिसर, यो त मेरो कर्तव्य हो) । आइ ह्याभ कम फ्रम नेपाल आर्मी । ( म नेपाली सेनाबाट आएको हुँ । नेपाल गभर्नमेण्ट डिसाइड टु सपोर्ट द ब्रिटिस एम्पायर (नेपाल सरकारले बेलायती साम्राज्यलाई सघाउने निर्णय गरेको छ ।)

रामप्रसाद राईले आफ्नो जस्तै भाकामा जवाफ दिएको सुनेर रिकुटे अफिसर दङ्गप¥यो । रिकुटे अफिसरको खुशी देखेर छेउछाउमा उभिएका नेपालीलाई आनन्द लाग्यो ।

‘आफ्टर यू लिभ, वी वील गो टु नेक्स्ट रिक्रुटमेण्ट सेन्टर । वी ह्याभ टु ट्राभल नट लेस द्यान फिफ्टिन डेज (तिमीहरू यहाँबाट बाटो लागेपछि हामी अर्काे भर्ति केन्द्रमा जान्छौं । हामीले कम्तिमा पनि दिनको यात्र गर्नु पर्छ त्यो ठाउँमा पुग्न ।)’
‘थ्याङ्क यू, थ्याङ्क यू भेरी मच’ (धेरै धेरै धन्यवाद)।
‘आफुलाई अभर परेको बेला तिमीहरू जति पनि थ्याङ्क यू दिन्छौ नि मोरा हो । थ्याङ्क यू दिन पैसा लाग्दैन ।’ रामप्रसादले मनमनै भन्यो । ‘सुवाषचन्द्र बोसले यसको आधा नेपाली पाए तिमीहरूलाई ठाडो पुच्छर लाएर भगाई दिन्थे ।’

बाँसीखोराबाट रामप्रसादको सिङ्गै परिवार आएको थियो । छोराले गोरा सापसँग के कुरा गर्‍यो परिवारको कसैले बुझेन । गोरा साप र उसका साथीहरू हिँडेपछि रामप्रसाद आफ्नो परिवार भएतिर आयो । आमाले उज्यालो अनुहारले छोरालाई सोधी, ‘तैंले गोरा सापको भाखा बोल्या हो कान्छा ?’
‘हो आमा ।’
‘तँ हामीसँग घर जाँदैनस् ?’
‘मैले अहिले घर जान मिल्दैन आमा । युद्धको रन्को नेपालमा आइसक्यो । हामी कसैले पनि छुट्टी लिन पाउँछुदैनौं । मैले भोलि बिहानै धनकुटा छोड्नु पर्छ । यताबाट म पाल्पा अनि पोखरा जान्छु । त्यहाँबाट काठमाण्डौ जानुपर्छ । अहिले मैले कसैलाई आफूसँग लान मिल्दैन ।’
‘छोरो अहिले लडाईंमा जानु नपर्ने भयो । तर युद्धमा के हुन्छ हुन्छ । त्यसैले धनकुटामा छोरा भेट्न तँ जा । बुहारी र नातिनीलाई पनि लैजा’ भनेर बाउले भनेपछि हामी तँलाई भेट्न मात्र आको हो । हाम्रो चिन्ता नगर् । हामी पाख्रिवास गएर बस्छौं । भोलि बिहानै बाटो लाग्छौं । घाट तरेपछि त गाउँ पुगे सरह भैहाल्छ नि !’

एउटा झोलामा सुन्तला किनेर राखेको थिएछ राईले । आफ्नी बुढीलाई सुन्तलाको झोला बुझाउँदै राईले भन्यो, ‘आमा र छोरीलाई खुवाऊँदै लैजा । हतार गरेर नहिँड्नु । आरामले जाँदा पनि भोलि घर पुगिन्छ । नपुगे पर्सी पुगिन्छ । आखिरमा पुग्ने भनेको घरमै हो ।’

‘शहरमा केटाकेटी पढ्दै त छन् ?’ चन्द्रकुमारीले पनि अप्ठ्यारो नमानी सोधी । ‘पढ्दै छन् । तँ सारै पीर नली । भोलि म यहाँबाट म पाल्पातिर लाग्छु । पाल्पाबाट पोखरा जान्छु । त्यहाँबाट म काठमाण्डौ फर्किन्छु । यो लडाईं चलुन्जेल छुट्टी नमिल्न पनि सक्छ । अङ्ग्रेज सरकारलाई दुई लाख पचास हजार फौज पठाएर सहयोग गर्ने भन्ने आदेश छ महाराज जुद्ध शमसेरको । पहिलो हुद्दाले पुगेन भने फेरि एकपल्ट यता आउनु पर्ने हुनसक्छ ।’

परिवारलाई डाँडातिर लगाएपछि रामप्रसाद आफ्नो टिम सहित बासस्थानतिर लाग्यो । बिहानै रामप्रसाद राईको भर्ति विदाइ कमिटी धरानतिर लाग्यो । उसको दोश्रो गन्तब्य थियो पोखरा । रेलको बाटो लामो हुने नै भयो । जोगबनीबाट छुटेको रेल पटना घुम्दै गोरखपुर पुगेको थियो । समुच्चा पश्चिमका लागि बेलायतीहरूले गोरखपुरमा भर्तिकेन्द्र खोलेका थिए । भर्ति गर्ने अधिकारी बागलुङतिरको एउटा जमादार थियो । उसको निगरानी गर्न गोराहरू आफैं बसेका थिए ।

नेपाली भाइलाई रामप्रसादले आफ्नो परिचय दियो र भर्नाको निगरानीमा बसेको गोरा अफिसरसँग भेट गराउुने प्रस्ताव राख्यो ।
‘हाम्रो सरकारले बेलायत सरकारलाई २ लाख ५० हजार प्रशिक्षित, अर्धप्रशिक्षित जवान सहयोग गर्ने निर्णय गरेको छ । म नेपाल सरकारको तर्फबाट भर्ति नियन्त्रण/निर्देशनको काममा खटिएको अफिसर हुँ । पूर्वमा तपाईंहरूले घोपामा क्याम्प खोलेर यो कामलाई सजिलो गरिदिनु भएको छ । तर पश्चिमतिर कतै क्याम्प खोल्नु भएको छैन । भर्तिलाई हाम्रो भित्री गाउँसम्म पुर्‍याउने हो भने तपाईंहरूले पश्चिममा कम्तिमा पनि तीन क्याम्प खोल्नु पर्छ । एउटा पोखरामा । त्यहाँ तपाईंहरू क्याम्प खोल्ने तयारी गरिरहनु भएको छ भन्ने सुनेको छु । त्यसको कामलाई गति दिनु पर्छ ।

गोराले पोखराको रणनीतिक महत्व बुझेर हो वा नबुझेरै हो ‘यस, यस, ओके ओके’ भनिरह्यो । ‘अर्को क्याम्प तपाईंहरूले सीमाना नजिकै स्थापना गर्नु पर्छ । कहिल्यै तराई नदेखेका आफ्ना युवाहरूलाई हामी एक्कै चोटी गोरखपुर पठाउन सक्दैनौं । उनीहरूको सुरक्षाको विषयमा हामीले ध्यान दिनु पर्छ ।

‘तेश्रो क्याम्प तपाईंहरूले सुर्खेतमा खोल्नु पर्छ । यसरी धरान, पाल्पा, पोखरा र सुर्खेतमा तपाईंहरूले आफ्नो खर्चमा क्याम्प खोल्नु भयो भने मात्र हामी साढे दुई लाख सङ्ख्या पुरा गर्न सक्छौं ।’
‘हामी माथिल्लो तहसँग परामर्श गरेर तपाईंको सरकारलाई खबर गर्छौ ।’
‘तपाईंहरूले भर्ति केन्द्र खोल्न ढिला गर्नु भयो भने हामी दुई लाख पचास हजार नयाँ भर्ति पुर्‍याउन सक्दैनौं ।’
‘सक्दो छिटो गर्न हामी कोशिस गर्नेछौं ।
गोरखपुरमा अडिएन रामप्रसाद राई ।
सँगै थियो प्रेमकुमार राई ।

‘काका, मैले एउटा कुरा बुझिन । किन यी गोरालाई ठाउँ ठाउँमा क्याम्प खडा गर भन्नु भएको ? यिनीहरू जुका हुन्, टाँस्सिएपछि रगत खाएर हैरान पार्छन् भन्नु हुन्थ्यो हामीसँग त ।’

‘मसँग छस् र लामो समयसम्म रहिरहने छस् । तैले सबै कुरा बुझ्नु राम्रो हुन्छ । यसबाट मैले दुइटा फाइदा निकाल्ने सोच बनाएको छु । एउटा त सबै क्याम्पको स्थापना नेपाली सेनाका रामप्रसाद राईले गरेका हुन् । उनी आफैँ गोरखपुर गएर बेलायती प्रतिनिधिसँग कुरा गरेर क्याम्प यहाँ ल्याएका हुन् । भर्ति जाने नेपाली भाइहरूका सुविधाका लागि उनले यो काम गरेका हुन् भन्ने सन्देश जानुपर्छ ।

जति जति ठाउँमा यो जानकारी पुग्छ, कम्तिमा पनि ती ती ठाउँमा रामप्रसाद र उसले गरेको राम्रो कामको खबर पुग्छ । दोश्रो चाहिँ, हामीलाई तालिम प्राप्त भू. पू. को आवश्यकता पर्छ । विश्वयुद्धपछि बेलायतले यी सबै केटालाई जागीर खुवाएर पाल्दैन । बेलायती सेनाले विदा दिएकाहरूलाई मातृभूमिको मुक्तिमा लगाउदा हाम्रो फौज आफैं तालिम प्राप्त मुक्ति सेना बन्छ । हामी धेरै भन्दा धेरै, तालीमप्राप्त भू.पू. लाई मुक्ति युद्धमा लगाउन सक्छौं ।’

ठ्याक्कै हप्ता दिन लाग्यो पोखरा पुग्न । नेपाल प्रवेश गरेपछि दिनभरि हिँडेर बेलुका खस्यौलीमा बास बस्यो रामप्रसादको टोली । नयाँ भूगोल, नयाँ प्रकृति, उकालो ओरालो फेरि उकालो अनि फेरि ओरालो । नेपालको विशेषता भनेकै चारकोसे वनको मैदान, चुरेका साँघुरा डाँडाहरू, घण्टा घण्टामा प्रकृति फेरिने महाभारत अग्ला र चाक्ला डाँडाहरू, ठूला ठूला नदीहरू, ठाउँ ठाउँ ठूला ठूला टारहरू, पोखरी र उपत्यकाहरू !
रमाइलो लाग्यो पूर्वेली टोलीलाई पश्चिम नेपालको यो यात्रा ।

पोखरामा सम्भव भए गोप्य रूपमा नभए खुलै पनि उसले चित्रबहादुर गुरुङलाई भेट्नु थियो । चित्रबहादुर गुरुङको नाम उसलाई शेरबहादुरले सुझाएका थिए । पछि धरानका साथीहरूले पनि चित्रबहादुरको सिफारिस गरेका थिए । केही नभए पनि मित्रता त हुन्छ ।

नेपालको तर्फबाट भर्ना अफिसर भएको हुनाले राम्रै सत्कार पायो पोखरामा रामप्रसादले । बडाहाकिमकै निवासमा उसको बसोबासको व्यवस्था गरिएको थियो ।

थाकेर आएको हुनाले राती आरामले सुत्यो रामप्रसाद । बिहान पूर्वेली टोलीलाई घाम झुल्किनु अघि नै ऊठाए स्थानीय कर्मचारीहरूले ।
छक्क पर्‍यो रामप्रसाद ! नाकैमा जोडिन आएको हिमाल । हिमाल होइन, एउटा लामो हिमशृङ्खला ।

‘मातृभूमि ! अहा ! मातृभूमि ।’ रामप्रसाद मनमनै बर्बरायो । श्वेतधवलको लामो शृङ्खला देखेर भावुक भयो रामप्रसाद ।

राजधानीबाट भर्तिको निगरानी गर्न आएको, राणाजीको प्रियपात्र रामप्रसादलाई मोहनी लाउन पोखराको लप्टन पनि बिहानै आइसकेको थियो ।
‘यो त कुइरेलाई साह्रै मन पर्ने ठाउँ रहेछ । अब यहाँ स्थायी भर्ति केन्द्र बनाउनु पर्छ । गाउँमै भर्ति केन्द्र भएपछि धेरै भन्दा धेरै केटाहरूलाई गोरखा पल्टनमा भर्ति गराउन सकिन्छ । युद्ध सकिएपछि बेलायतीहरूले तिनलाई विदा दिन्छन् । रामरी तालिमप्राप्त हाम्रा त्यस्ता केटाहरू भू.पू. भए पनि हाम्रो देशको सुरक्षा कवच बन्छन् ।’

‘नेपालको यति भित्र, उनीहरूका लागि अप्ठ्यारो बाटो, आउन मान्लान् र गोराहरू !’ लप्टनले शङ्का गरेको ठिकै लागेको थियो रामप्रसादलाई आफू हिँडेर आएको बाटो सम्झिँदा । तर उसलाई विश्वास थियो पोखरामा पाइलो टेकेपछि अनि बिहानीको हिमाल दर्शन गरेपछि उनीहरू यहीँ स्थायी बसोबास गर्नु पर्छ भन्ने छन् ।

‘यस्तो स्थान उनीहरूका लागि स्वर्ग हुन्छ । मैले उनीहरूसँग सङ्गत गरेको छु । उनीहरूको हिमाल प्रेम मलाई थाहा छ । दार्जिलिङलाई ‘ओ हेभेन !’ भन्ने अङ्ग्रेजहरू पोखरालाई के भन्लान् ?’

‘तपाईं गोरखपुर जाने बाटो चिनेका दुई जना केटाहरू मलाई दिनुस् । उनीहरूसँग मेरो नीजि सचिव प्रेमबहादुर राई गोरखपुर भर्ति केन्द्रमा जान्छ । त्यहाँ ब्रिटिश अफिसरहरू बस्छन् । मैले उनीहरूसँग कुरा गरेको छु । म एउटा चिठी पनि लेख्छु ।’

बिहानको पहिलो कार्यक्रम सफल भयो । रामप्रसादले मनमनै भन्यो, ‘यसरी नै सफलताले मलाई साथ देओस् ।’ सुन्दर बिहानी टर्नु थियो टर्‍यो । भर्ती निगरानी टोलीको खानपानको व्यवस्था लप्टनकै निवासमा गरिएको थियो ।

‘लप्टन साप, खालि सरकारले प्रयत्न गरेर मात्र भर्ति सफल हुँदैन । महाराजले ‘नेपालले २ लाख ५० हजार फौज पठाएर बेलायती सिंहासनलाई सहयोग गर्छ’ भनेर भनिसक्नु भएको छ । यो सङ्ख्या पुर्‍याउन सरकारको एक्लो प्रयत्नले सक्दैन । हाम्रा तिर थरी भनिन्छ तीन चार गाउँको स्थानिय प्रशासन हेर्ने गाउँ बुढालाई । यता पनि त्यस्तो केही होला । तिनलाई भेला गर्नुस् । म उनीहरूलाई सम्झाउँछु । म यहाँ अलिक दिन बस्छु । गोरखपुरबाट गोरा अफिसरहरू आउने भए भने उनीहरूसँग यहीँ कुरा सक्याउँछु ।

‘आजै, अहिल्यै म गोरखपुरको गोरा अफिसरलाई पत्र लेख्छु । चाँडो भन्दा चाँडो उता जाने केटाहरू बन्दोबस्त गर्नुस् । त्यसपछि मान्छे भेला गर्ने काममा लाग्नुस् ।’

श्री ३ महाराजसँग सिधै भेटन पाउने हाकिमलाई रिझाएर कप्तान हुने सपना देखेको लप्टनले कुनै क्षेत्रमा पनि कमी गरेन । रामप्रसादको चिठी बोकेर तीन जना केटाहरू बाटा लागेपछि उसले कटुवाल खटाएर १५ जना प्रभावशाली गाउँ बुढाहरू भेला गर्‍यो ।

‘दाजु भाइहरू’ रामप्रसादले संवोधन गर्‍यो, ‘म, महाराजले खटाएर, भर्ति निरीक्षण गर्न यहाँ आएको हुँ । महाराजले बेलायती सरकारलाई, बेलायती सिंहासनको रक्षा गर्न २ लाख ५० हजार जवान पठाउँछु भनी वचन दिनु भएको छ । राजाको वचन राजाज्ञा त हो नै । सँगसँगै यो हामी सबैका लागि मौका पनि हो ।

मर्ने बाँच्ने भन्ने कुरो आफ्नो हातमा हुँदैन । पल्टनमा गएर मरिन्छ नै, यहाँ बस्ता बाँचिन्छ भन्ने हुँदैन । हाम्रा केटाहरू पल्टनमा जान्छन् । बेलायतले अहिले गएका सबैलाई पालेर राख्तैन । युद्ध सकिएपछि फर्किएर आउनेले टन्न पैसा बोकेर आउँछन् । यति मात्र होइन, बेलायती फौजमा लाग्दा हाम्रा भाइछोराले राम्रो तालिम पाउँछन् । राम्रो तालिम पाएको फौजीले जति पुरानो भू.पू. भए पनि देशको रक्षा गर्छ । त्यसैले धेरै भन्दा धेरै भाइछोरालाई भर्ति गराएर महाराजको बोलीको मान राखौं । हाम्रा भाइछोरालाई तालिम प्राप्त जवान बनाउँ । महाराजको बोलीको इज्जत राखौं । यसपालि राम्रो भर्ति भयो भने पोखरामै स्थायी भर्ति केन्द्र खोल्न म अङ्ग्रेजहरूलाई मनाउने छु ।’

‘पोखरामै भर्ति केन्द्र खुल्छ’ भन्ने वाक्यले सबैलाई तान्यो । बुढाहरू तयार भए । सबैको अनुहार उज्यालो भएको थियो । रामबहादुरले अन्तिम वाक्य बोल्यो, ‘केही कुरा थप गर्न मन छ भने यो तिर्थबहादुरलाई भन्नु होला । यसले समय मिलाऊँछ । कम्तिमा पनि म यो हप्ताभरि यतै रहन्छु । अङ्ग्रेज अफिसर आइपुगे पनि नआइपुगे पनि हाम्रो भर्ति अभियान तुरुन्तै आरम्भ हुन्छ र जिल्लाका लप्टन साहबले यसको बन्दोबस्त मिलाउनु हुन्छ ।’

त्यो दिन त्यत्तिकै बित्यो । भोलिपल्ट खाना खाएपछि रामप्रसादले भेटघाट मिलाएकोे थियो । ‘काका, चित्रबहादुर गुरुङले एक्लै भेट्न खोज्नु भएको छ ।’ रामप्रसादको काँधबाट एक मनको भारी हट्यो ।‘लु, पठाई हाल ।’

‘नमस्कार !’
‘आउनुस्, बस्नुस् । म तपाईंकै खोजीमा आएको थिएँ । शेरबहादुर मेरा मनपेटका साथी हुन् । उनले मलाई भनेका थिए – पोखरा पुग्यौ भने समय मिलाएर चित्रबहादुर गुरुङलाई भेट्नु । उनी पनि हामीजस्तै विचारका मान्छे हुन् ।’

‘त्यो विचार र यो व्यवहार ?’ चित्रबहादुर अझै पनि छक्क परिरहेको थियो ।

‘मिल्नै नसक्ने, होइन ? तर हामीले मिलाउन जान्नु पर्छ ।’ रामप्रसादले भन्यो, ‘यो विश्वयुद्धले बेलायती साम्राज्यलाई नराम्ररी हान्छ । बेलायती साम्राज्य अब खण्डित हुन्छ र एक दशकमा त्यो एशियाबाट बाहिरिन्छ । ढिलो चाँडो मात्र हो, बेलायतीहरू भारत छोडेर जान वाध्य हुन्छन् । त्यस्तो स्थितिमा राणाहरूको सहाय यता ओरिपरि कोही हुँदैन । राणहरूसँग हुने युद्धका लागि हामीले आजैदेखि तयारी गर्नु पर्छ । राणा विरोधी युद्धको सबैभन्दा बलियो शक्ति भनेको बेलायती भू.पू. हरू नै हुन्छन् । भर्ति बढाऊँदा जुद्ध शमशेर र बेलायतीहरू खुशी हुन्छन्, यता हाम्रो भित्री तयारी पनि अघि बढ्छ ।’

‘शेरबहादुरले भन्नु भएको ऊचित लाग्यो । उहाँले भन्नु भएको थियो – रामप्रसाद राईलाई चिन्न रामप्रसादसँग भेट गर्नै पर्छ । तपाईं कुरा गरेपछि रामप्रसादको प्रतिभा चिन्नु हुन्छ । बुद्धि र बल, दुबैमा एक नंबर ।’ चित्रबहादुर गुरुङले भावुक भएर भन्यो ।

‘हामी त माध्यम मात्र हौं । नेपाल आमा हामी सबैकी आमा हुन् । नेपाल आमाको लागि जीवन अर्पिन पाउनु गर्वको कुरा हुन्छ । तपाईं र शेरबहादुरको चिनजान संयोग होइन । त्यो आजको आवश्यकता हो ।’

‘म पूर्वको मोर्चा सम्हाल्छु, तपाईंहरू ढुक्क हुनुस् । यताको मोर्चा तपाईं सम्हाल्नुस् । विश्वास गर्ने भनेको भू.पू. लाई नै हो । हाम्रोतिर शेरबहादुर भएजस्तै तपाईंसँग विश्वासका केही साथीहरू छन् ?’

‘छन्, त्यसमा प्रमुख हुनुहुन्छ एकदेव आले । तपाईंको शेरबहादुर जस्तै मेरो एकदेव आले ।’ चित्रबहादुरले छोटा उत्तर दियो ।
‘ठिकै छ त्यसो भए । अब तिनै केहीसँग मिलेर तपाईं मुक्ति सङ्ग्रामको तयारीमा लाग्नुस् ।’

(बुधबार विमोचन हुने नेपालद्वारा लिखित जननायक रामप्रसाद राईको जीवनीमा आधारित उपन्यास ‘क्रान्तिवीरको सपना’बाट)

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *