चैत लागेसँगै प्रचण्ड एकाएक ओलीसँग नजिकिए, सत्ताको खिचडी यसरी पाक्दैछ, देउवालाई रोक्ने तयारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ चैत । नेपाली राजनीतिमा फागुन ३० गते विशेष दिन हुने भएको छ । यस दिन दुई–तीनवटा घटनाक्रमले नेपालको राजनीतिक भविष्य कता जाँदैछ ? भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

सोमबार गृहमन्त्री विमलेन्द्र निधि भारततर्फ लागेका छन् भने नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई आज दिउँसो ३ः३० बजे उहाँ दिल्ली प्रस्थान गर्दैछन् ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फ्रेन्स’ मा भट्टराईले (१४–१६ मार्च) १५ मार्चमा सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने भएका छन् । सो सम्मेलनलाई गृहमन्त्री निधिले पनि सम्बोधन गर्ने भएका छन् ।

सोही दिन दाङको आमसभा छाडेर एक्कासि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे । दुई नेताबीचको एक घन्टाभन्दा लामो एक्लाएक्लै बालुवटार भेटवार्तालगत्तै प्रचण्डले चीन भ्रमण गर्ने मिति सार्वजनिक गरे । यसै दिन राप्रपा अध्यक्ष कमल थापाले सरकारमै बसेर संविधान संशोधनविरुद्ध विपक्षमा मत हाल्ने मात्र होइन, सरकारबाटै बाहिरिने घोषणा गरे ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार साँझ भएको गोप्य भेटवार्ताले राजनीतिमा फेरि नयाँ तरंग पैदा भएको छ । संविधान संशोधन विधेयकलाई लिएर सरकार र प्रमुख प्रतिपक्षी दलबीच पानी बारबारको स्थिति पैदा भएका बेला ओली–प्रचण्ड भेटवार्ताले फेरि नयाँ सत्ता गठबन्धन बन्दैछ भन्ने संकेत गरेको छ ।

किनभने, नौ महिनाअघि असारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चैतमा प्रचण्डले प्रधानमन्त्री छाड्ने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने आन्तरिक सहमति भएको थियो । ओली–प्रचण्ड निकटताले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रयास भएको विश्लेषण गर्न थालिएको छ ।

साथै, राप्रपा अध्यक्ष कमल थापाले यही सरकारमा बसेर प्रचण्डलाई असफल बनाउने र संविधान संशोधन दुई तिहाइले पारित हुन नदिने उद्घोष नै गरेका छन् । कमल थापा ओलीकै सल्लाहमा सरकारमा सामेल भएको स्रोतले जनाएको छ । थापा प्रचण्ड सरकारमा सामेल हुँदा एमालेले कुनै टिप्पणी गरेको छैन । मौन बसेको छ ।

एमालेले यसअघि संशोधन विधेयक नै राष्ट्रघाती र विदेशीको इसारामा ल्याइएकाले यसलाई सदनमा पेस हुनै नदिने भनेर उद्घोष गरेको थियो, तर कालान्तरमा आएर उसले प्रस्ताव पेस गर्दा कुनै अवरोध गरेन । प्रचण्ड र ओलीबीचको सामिप्यताले संशोधन प्रस्ताव चुनावअघि नै पारित हुने थोरै अड्कलबाजीसमेत नभएका होइनन् । तर, राजनीतिक कोर्ष अब चुनावभन्दा पनि सरकार फेरबदलतर्फ गइसकेको अड्कलबाजी गर्न थालिएको छ ।

प्रचण्डलाई ओलीले नै चीन भ्रमण गर्न सुझाएको र चैत १० गतेको मिति तय भएको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डले चीनमा त्यहाँ राष्ट्रपति सी जिन पिङसँग उच्चस्तरमा भेटवार्ता गर्ने भएका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *