भारतीय सैनिकसँगको नेपाली सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ जारी, लगत्तै चिनियाँ सेनासँग हुँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ चैत । पछिल्लो समय नेपालमा भारतभन्दा चीनको प्रभाव बढ्दै गएको देखिएको छ । नेपाललाई गर्ने आर्थिक सहायतामा चीनले भारतलाई उछिनिसकेको छ ।

अहिलेसम्म नेपाल र भारतका सैनिकबीच संयुक्त सैन्य अभ्यास हुँदै आएको थियो । तर, अबदेखि चिनियाँ सैनिकले नेपाली सेनासँग संयुक्त अभ्यास गर्ने भएको छ । सो सैनिक अभ्यास सुरु हुनुपूर्व चीनका रक्षामन्त्री चाङ वान क्वान नेपाल आउने भएका छन् ।

एसिया प्रशान्त क्षेत्रको रणनीतिक भ्रमणमा निस्किएका चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेता क्वानले आफ्नो भ्रमणको सुरुआत नेपालबाट गर्ने भएका हुन् । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको पहिलो संयुक्त सैन्यअभ्यासको पूर्वसन्ध्यामा क्वानको भ्रमण महत्वपूर्ण मानिएको छ ।

चीनको महत्वाकांक्षी परियोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर), सिल्क रोड र सैनिक सहयोग विस्तारका लागि क्षेत्रीय सुरक्षा रणनीतिक योजनाअनुसार १९ सदस्यीय टोलीको नेतृत्व गर्दै क्वान चैत १० मा काठमाडौं आउनेछन् । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको पहिलो संयुक्त सैन्यअभ्यासको पूर्वसन्ध्यामा क्वानको भ्रमणलाई भारतले चासोका साथ हेरिरहेको छ ।

हाल नेपाल र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण–११’ चलिरहेको छ । ७ मार्चदेखि सुरु भएको सैन्य अभ्यास १४ दिनसम्म चल्नेछ । अहिले भारतको पिथौरागढस्थित छावनी क्षेत्रमा संयुक्त सैन्य अभ्यास भइरहेको छ । भारतको सूर्या कमान्डमा पञ्चशूल ब्रिगेडले भाग लिइरहेको छ ।

भारतले नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासलाई आतंकवादविरोधी अभियान तथा दुवै देशका अनुभव आदान–प्रदान गर्नु रहेको जानकारी गराएको छ । सैन्य अभ्यासमा दुवै देशका सेनाले हतियार, उपकरण, रणनीति, प्रविधि, पर्वतीय इलाकामा आतंकवादी विरोधी माहोल कसरी काम गर्ने भन्ने विषयमा अभ्यास गर्नेछन् । साथै, मानवीय सहायता, विपद् व्यवस्थापन, राहत वितरण, हाइअल्टिच्युड क्षेत्रमा गरिने युद्धकला पनि सामेल भएको भारतीय सैनिकले जनाएको छ ।

तर, नेपाली सेनासँग गरिने सैन्य अभ्यासको नाम र त्यसमा गरिने अभ्यासबारे चिनियाँ जनमुक्ति सेनाले कुनै जानकारी गराएको छैन । खासगरी चिनियाँ सेनाका गतिविधि अति गोप्य हुने भएकाले पनि तत्काल सार्वजनिक नगरिएको बताइन्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *