राष्ट्रसङ्घीय बैठकमा लैङ्गिक असमानता अन्त्य गर्ने नेपालको प्रतिबद्धता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ चैत । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल सरकारले सकारात्मक एवम् समावेशी नीति अवलम्बन गरेको बताएका छन् ।

विश्वका महिलाहरुको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६१औँ बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उनले महिला सशक्तीकरण र लैङ्गिक असमानताको अन्त्यका निम्ति सरकारले कानुनी एवम् संस्थागत संयन्त्र खडा गरी तिनलाई कार्यान्वयन गरेको बताए ।

‘विश्वमा बदलिँदो कार्यप्रकृति र महिलाको आर्थिक सशक्तीकरण’ विषयक छलफलमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्काले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि बेइजिङ घोषणापत्रको पूर्ण कार्यान्वयन, दिगो आर्थिक विकासका लक्ष्य, नं ५ र ८ को प्रभावकारी कार्यान्वयनमा जोड दिएका संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपालका प्रमुख पदहरुमा महिला नेतृत्वले उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै उनले आप्रवासी महिलाका आधारभूत अधिकार र सुरक्षा चुनौतीका रुपमा रहेको बताए ।

उनले महिलाहरुको आर्थिक, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति तथा लैङ्गिक समानताको प्रत्याभूतिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए । साथै, मन्त्री खड्काले विश्वव्यापीरुपमा नै महिलालाई सशक्त तुल्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साझेदारी अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल सरकार मिलेर काम गर्न तयार रहेको जानकारी दिए ।

उक्त नियोगका अनुसार आजै मन्त्री खड्काले नर्वेका उपविदेशमन्त्री लयला बोखारीसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरुबीच महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विविध पक्षबारे छलफल भएको थियो । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *