स्थानीय तहको निर्वाचनमा दुई लाख बढी सुरक्षाकर्मी परिचालन हुने, नेपाली सेनालाई प्रहरी र सशस्त्रको जिम्मेवारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने भएका छन् । केही दिनअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मुलुकभर एकै चरणमा हुने स्थानीय चुनावमा दुई लाख बढी सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

नेपालमा नेपाली सेनाको संख्या करिब ९२ हजार, नेपाल प्रहरी ७० हजार र सशस्त्र प्रहरीको संख्या ४० हजारको हाराहारीमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद् बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी र नेपाली सेना गरी दुई लाख बढी सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

नेपाली सेना भने प्रत्यक्ष रूपमा चुनावी मैदानमा खटिने छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी सम्हालिरहेका भौतिक संरचना, सरकारी कार्यालय, चेकपोस्ट आदिमा नेपाली सेना खटिने छ । चुनावका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसके जुनसुकै ठाउँमा पनि नेपाली सेना खटिने स्रोतले बतायो ।

सरकारले वैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २ नम्बर प्रदेशका आठ जिल्ला र तराई मधेसका अन्य केही जिल्लालाई शान्ति सुरक्षाको संवेदनशील क्षेत्र भनी निष्कर्ष निकालिएको छ । त्यसमा पनि बुधबारदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेपछि तराई मधेसमा सुरक्षाको झनै चुनौती थपिएको छ ।

त्यसलाई पनि मध्यनजर गर्दै गृह मन्त्रालयले चुनावमा खटिन करिब ५० हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । म्यादी प्रहरीको काम भनेको चुनाव स्थानमा भीड नियन्त्रण गर्नु रहेको छ

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *