देउवाको कार्यशैली र प्याज छोडाएर आँसु चुहाउनेको भीड

  •  
  •  
  •  
  •  
  •  

वसन्तप्रकाश उपाध्याय

अचानक नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवास पुग्दा त्यहाँको पुरानो ‘कम्पाउण्ड वाल’ भत्काउँदै नयाँ बनाइरहेको देखेँ । त्यहाँ पुग्दा देखियो, यत्रतत्र बाटो खन्दै–भत्काउँदै र नयाँ बनाउँदै गरिएको परिदृश्य । यही परिवेशबीच कतिपयले पार्टी सभापति देउवाले ‘पार्टी–भताभुङ्ग’ स्वरुपमा चलाइएको प्रसंग उठान गरेको सम्झेँ ।

केहीले पछिल्लो समयमा आएर कांग्रेस यत्रतत्र भत्किन लागेको अवस्थामा पुगेको टिप्पणी गरेको सन्दर्भमा अल्झेँ । यी दुई प्रसंग र परिदृश्य फरक हुन् । तर, व्यवहारतः पार्टी होस् या घर–कम्पाउण्ड नै किन नहोस्, नवीन आयाम र सोचले पुनर्जीवित र ताजगी बनाउने हो भने विद्यमान पुरानो संरचनालाई बदल्नै र भत्काउनै पर्छ भन्ने लाग्छ । यसअर्थमा देउवा निवासको कम्पाउण्ड वाल नयाँ बनेझैँ उनले अब पार्टीलाई नविनतम स्वरुपमा ‘नयाँ’ बनाउनेतर्फ उन्मुख हुनुपर्ने देखिन्छ ।

धेरैलाई पचिरहेको छैन देउवाको जित

सबैलाई पत्तो भएको कुरो हो– लामो समयदेखि कांग्रेस नेता देउवाले पार्टीभित्र ‘हारको नियती’ झेल्नु परेको थियो । खासगरी कोइराला वंश एवं पारिवारिक वर्चस्वबीच देउवालाई नेतृत्वमा पुग्न हम्मे हम्मे परेको थियो । अन्तरपार्टी संघर्ष क्रममा कोइराला समूहविरुद्ध किसुनजी एवं गणेशमान सिंह जस्ता संस्थापक नेताहरुको छहारी र छातामा देउवाले टाउको लुकाए पनि ‘पार्टीको सत्ता छाता’ भने ओढ्न पाएका थिएनन् । समय क्रममा कोइरालाहरुको वर्चस्व–वर्षाले आक्रान्तहरु किसुनजी–गणेशमान सिंहसमक्ष टाउको लुकाउन त आउँथे तर छाता अभावमा रुझेको रुझै हुन्थ्ये । प्रकारान्तरले त्यो समूह ठूलै भयो र त्यसको नेतृत्व जिम्माको मौका देउवाले पाए ।

परिस्थितिजन्य उपज होइन एउटा लामो उहापोहबीच अहिले पार्टीको नेतृत्वमा देउवा छन् । देउवासँग धेरैको अपेक्षा र आशा छ । खासगरी पार्टीको ‘गुट–उपगुट’ र स्वार्थ सञ्जाललाई चिर्दै सर्वस्वीकार्य माहोल तयार पार्ने जिम्मा उनीमाथि छ । जिम्मेवारीको बोझबीच केही काम समयमा देउवाले गरेनन् भन्ने गुनासो उठिरहेको छ ।

मन्त्रीमण्डल गठनदेखि केही नियुक्ति एवं चयनमा देउवाले सन्तुलन गर्न नसकेको आरोप–श्रृंखला पनि देखा परेको छ । दुर्भाग्य यी टिप्पणी र विश्लेषण एकांगी खालको अनुभूत हुन्छ । कांग्रेस पार्टीलाई नजिकबाट बझ्नेहरुलाई राम्ररी थाहा छ– कांग्रेसलाई ‘पारिवारिक–क्लव’को शैलीमा गरिने कार्यसम्पादन र चयन बन्द कोठामा बसेर गरिन्थ्यो । वंश–विरासतदेखि नसनातो फित्ता खोजेर योग्यता मापनको आयतन तय हुन्थ्यो । फेरि कसले कहाँ बाँकी राखेको छ र ?! छोरा वा छोरी, ज्वाइँ या सम्धी अथवा भाञ्जाभाञ्जीलाई पदीय भिक्षाटन दिन ।

विधि–विधानको वेतुक व्याख्या

केही कुरा विधि विधान र बैठकको सुनिएको छ । बोहोराटारले विधि विधानका नाममा टोखासम्मलाई प्रतिवादको कान फुस्फुसाइरहेका छन् । मुलुकको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने चाक्सीबारीले इतिहास विर्सेर बैठकको चर्को प्रलाप निकालिरहेछन् । आफ्ना वैयक्तिक आशा र अपेक्षाको ‘दूध–कराही’ कल्पेर केहीले ढाडे बिरालोको सपना साँच्दै नीति नियमको कुरा गरिरहेछन् । यहाँ विर्सेका छन् सबैले विगतको मनपर्दी र मनगढन्ते प्रसंगलाई ।

सबैलाई थाहा छ, विधि विधानले कांग्रेस चलेको भए मुलुकमा यतिखेर न गणतन्त्रको आभा देख्न पाइन्थ्यो । न त मुलुक कांग्रेसले परिकल्पना नै नगरेको धर्म निरपेक्षताको बाटोमा पुग्दथ्यो । हिजो नेतृत्वको औंला ठड्याइमा लाचार ताली पिटेर अप्रासांगिक खोजी र मर्मलाई पार्टीको एजेण्डा बनाइएको हो । कांग्रेसमा धेरै ठूलो काम लहडमा भएको छ । भ्रममा निर्णय गरिएका कैयौं उदाहरण छन् । अरु त छाडौं विगतमा वर्ष दिनमा कति वटा बैठक बस्यो ? शायद माइन्यूट हेर पत्तो लाग्ला । अथवा फुर्सद छ भने तनहुँका रामचन्द्र पोखरेलदेखि स्याङ्जाली ऋषिकेश तिवारीलाई पूर्व मुख्यसचिवको सम्बोधनमा एकपटक सोधे हुन्छ । विचित्र–विडम्वना छ कांग्रेसको । जहाँ वर्तमानको तुलना विगत हेरेर गरिँदैन । उपलब्धिको मापन राम्रो–नराम्रोमा हुँदैन । भन्नु हो भनिरहेछन् कैयौंले आक्रोश र पीडाको सम्मिश्रणमा त्यत्तिकै पार्टी सकियो भनेर !

जायज विर्सेर नाजायज समाउँदै

हो जायज हुन्छ केही कुरा नीतिगत रुपमा उठान गर्न । तर जसले अन्तरपार्टी विग्रह विर्सेर भए गरिएका नाजायज एवं अपारदर्शी ढंगको जुन कायाकल्प रचेका थिए उनीहरु अहिले साधु बन्नु किमार्थ सुहाउँदैन । मयलपोसमा चिटिक्क सजिएर ‘अनुशासित–सानेपा’ खोज्नेले हिजो टेकु किनारमा जन्माइएको मनपर्दीको ‘भ्रुण’ बिर्सन मिल्दैन । देखिएकै हो, पूरा कार्यकाल सकिएर महिना दिन बाँकी रहँदा धमाधम बाँडिएका आमन्त्रितहरुको लर्को । अहिले तिनीहरुले नै ज्यादति देख्नु न्यासंगत प्रतीत हुँदैन । अपेक्षाकृत धेरै काम भएका छैनन् होला । तर, थुप्रै ‘काम’ भएका छन् पार्टीभित्र ।

पार्टीका दशकौंदेखि हुन नसकेका भ्रातृ संगठनहरुको महाधिवेशन पश्चात राग र स्वरुप फेरिएको छ । जीर्ण–जर्जर काण्ड र ज्यादतिपूर्ण ‘टीके प्रथा’ले चलाइने भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई अधिवेशनले अद्यावधिक तुल्याएको छ । बाँडचुँड र भागवण्डा त कुनै नवीन दुस्वप्नको द्योतक नै होइन । कांग्रेसमा यहाँ जसको वर्चस्व छ उसले ‘अवसर’ बाँड्ने हो । ‘धाक’ हराएपछि खोज्ने भनेकै ‘भाग’ हो । अनि नपाउनेले थोरै रोइकराइ गरेर आफ्ना आसेपासे र निकटस्थहरुलाई खुसुक्क एउटा एउटा नियुक्तिको कसार बाड्नु नै हो । कोही यसमा चित्त बुझाउँछन् र भोलिको जीतको सपनामा कर्म गर्छन् । कोही आफ्नो गनगने र मगन्ते स्वभाव र सोच बदल्न सक्दैनन् ।

के पार्टी चल्दैन त अब ?

भन्छन् र सुनिन्छन् मान्छेहरु : ‘त्यसरी पार्टी चल्दैन ।’ पार्टी नचल्ने नाममा केहीको आदर्श र सैद्धान्तिक व्याख्या देख्न सुन्न पाइन्छ । कोही पार्टीले ‘न्याय’ नगरेको चर्चा र चासो देखाउँदै यतिखेर देश दौडाहा गरिरहेकै छन् । उनीहरु विरोधी दल र नेतालाई भन्दा आफ्नो नेतृत्वको प्याज छोडाएर आँसु चुहाइरहेछन् । समग्र कार्यकालको एक चौथाई अवधि नसकिँदै कैयौंलाई दुई तिहाई बहुमतको पद र पगरी चाहिएको छ । वास्तवमा सबै कांग्रेसजनलाई पत्तो छ, यो यही पार्टी हो, जहाँ जो यसको नेतृत्वमा पुग्छ उसले ‘सन्तुलित’ भएर काम नै गर्न सक्दैन र पाउँदैन । सभापतिलाई अधिकार र ‘हैकम’ दिने बेलामा भोलि ‘आफूहरु’ बाहेक देउवा कहिल्यै पुग्दैनन् भन्ने ठानेर तय गरिएको अधिकारका कारण अहिले धेरैले संकुचित स्वरुपमा आफूलाई पुर्‍याएका हुन् ।

यस सन्दर्भमा पार्टीका नेता डा. शेखर कोइरालाको ठहर सम्झनु सान्दर्भिक हुन्छ । उनले भनेका छन् : ‘भागवण्डाको अन्त्य गर्ने हो भने जो सभापति हुन्छन् उसैलाई नियुक्ति र मनोनयनको समग्र अधिकार दिइनुपर्छ ।’

कोइराला पक्षको यो विषद् सोचभन्दा आफूलाई ठूलो कोइरालावादी ठान्नेहरुले यतिसम्मको स्वीकारोक्ति दर्शाउन सकेका छैनन् । यो दुर्भाग्य हो । वास्तवमा नेतृत्वमा यतिखेर ‘देउवा’ पुगेको सादृश्य–सत्यलाई विर्सेर आफू अनुकूलताको परिणाम खोज्दा स्थिति पेचिलो बन्न पुगेको हो । परिकल्पनामा समेत कसैलाई निषेध गर्न एकताका सबै लोभी–पापी मिलेर दिएको असीमित शक्ति र सामथ्र्यले अहिलेको ‘रुवावासी’ जन्मन पुगेको हो । तसर्थ हुने कुरा हुँदै जान्छन्, गर्ने कुरा देउवाले गर्दै ‘घर कम्पाउण्ड’लाई जस्तै पार्टीलाई पनि नविन स्वरुपमा लग्नेतर्फ आफूलाई होम्नुपर्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *