एसएसबीको गोली प्रहारबाट गौतमको मृत्युपछि गृहमन्त्रीले भारतसँग गरे यस्तो प्रस्ताव

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर एक नेपाली नागरिकको मृत्यु भएको विषयमा भारतीय समकक्षी राजनाथ सिंहको ध्यानाकर्षण गराएका छन् ।

नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको बिहीबार भेटमा गृहमन्त्री निधिले गएको फागुन २६ गते कञ्चनपुरमा एसएबीले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृृत्यु भएको घटनाबारे सिंहको ध्यानाकर्षण गराएका निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । जवाफमा भारतीय गृहमन्त्री सिंहले उक्त घटनालाई अपसोचपूर्ण भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।

साथै गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका छन् ।

प्राविधिक टिम थप्ने निधिको प्रस्तावप्रति भारतीय पक्ष सकारात्मक रहेको सिंहले बताए । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।

विगतको संविधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्वाचन आयोगलाई आवश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै गृहमन्त्री निधिले आगामी निर्वाचनमा पनि सहयोगको लागि गरेको आग्रहलाई सिंह सकारात्मक देखिएको दाहालले जानकारी दिए । उक्त भेटवार्ताक्रममा राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

प्रतिआतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली पुगेका गृहमन्त्री निधि शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *