राजसंस्था र हिन्दू राष्ट्र स्थापित गराउन राप्रपा यसरी पस्दैछ गाउँ–गाउँमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सनातन हिन्दू राष्ट्र र संसद्को अधिनमा रहने संवैधानिक राजतन्त्रको आफ्नो मुख्य एजेण्डा लिएर फेरि जनतामाझ जाने भएको छ ।

राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा लिएर वि.सं. २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा सहभागी हुँदा चार सिट हात पारेको तत्कालीन राप्रपा नेपालले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा २५ सिट ल्याउन सफल भएको थियो । अहिले राप्रपा र राप्रपाबीच एकीकरण पश्चात गठन भएको राप्रपा पनि सोही एजेण्डा लिएर आगामी निर्वाचनमा सहभागी हुने भएपछि जनता माझ जान लागेको हो ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीको लागि ‘जनताको माझमा राप्रपा’ नामक कार्यक्रमका साथ राप्रपाले आफ्नो राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डासाथ मुलुकभर टोली पठाउने भएको छ ।

‘जनताको माझमा राप्रपा’ नामक कार्यक्रम लिएर यही चैत्र १० गते भित्र ७५ वटै जिल्लामा केन्द्रीय टोली पठाउने राप्रपाले निर्णय गरिसकेको छ । यही चैत ५ गते एकपटक ७५ वटै जिल्लामा टोली पुग्ने र उक्त दिन काठमाडौंमा विशेष कार्यक्रम गरी सुरुवात गरिने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रीत भएर स्थानीय तहमा जान पार्टी अध्यक्ष कमल थापाले निर्देशन पनि दिएका छन् । सहप्रवक्ता श्रेष्ठकाअनुसार पार्टी अध्यक्ष कमल थापा पनि मकवानपुर, बारा, पर्सा, चितवन र झापामा जानेछन् ।

अध्यक्ष थापाले पार्टीका सम्पूर्ण तह र तप्काका नेता, कार्यकर्ताहरु आगामी दुई महिना आफ्नो वडा, गाउँ, नगर र क्षेत्रमा सक्रिय रही स्थानीय तहको निर्वाचनमा पार्टीलाई सशक्त र प्रभावकारी रुपमा विजयी गराउन क्रियाशील रहन निर्देशन दिएका हुन् ।

चैत १० गतेभित्र ७५ वटै जिल्ला पुग्ने केन्द्रीय टोलीले पार्टीको मुख्य एजेण्डाका बारेमा जनतालाई बुझाउन र आकर्षित गराउने तथा चुनावी परिणाम आफ्नो पक्षमा आउने गरी स्थानीय तहका पार्टी इकाइहरुलाई क्रियाशील बनाउने छ ।

टोलीले स्थानीय तह अनुरुप पार्टीको इकाई समितिहरुको समायोजन गर्ने, जनताको माझमा राप्रपा कार्यक्रमको निर्देशिका सबै इकाईहरुमा पुर्याउने र स्थानीय तह निर्वाचन कार्ययोजनाबारे विस्तृत जानकारी जिल्लाका सबै तहका पार्टी कमिटीहरुलाई दिने काम गर्ने श्रेष्ठले मिडिया एनपीलाई बताए ।

साथै राप्रपाको ‘जनताको माझ राप्रपा’ कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम, पार्टी बुद्धिजीवि अन्तरक्रिया कार्यक्रम, महिला जागरण कार्यक्रम, युवा विद्यार्थी उत्सव तथा जागरण कार्यक्रम र कृषक भेला कार्यक्रम पनि रहेका छन् । यसैगरी राप्रपाले स्थानीय तह निर्वाचन कार्ययोजना समेत तर्जुमा गरी मुलुकभरका सबै सात सय ४४ वटै स्थानीय तहका कार्यसमितिलाई उपलब्ध गराउने भएको छ ।

राप्रपाको स्थानीय तह निर्वाचन कार्ययोजना अन्तर्गत केन्द्रीय निर्वाचन परिचालन समिति गठन, जिल्ला निर्वाचन परिचालन समिति गठन, गाउँपालिका तथा नगरपालिका निर्वाचन परिचालन समिति गठन गरिनेछ । सो समितिहरुले उम्मेदवारको छनौट, निर्वाचन प्रचार–प्रसार अभियान, समिकरण तथा तालमेलको सम्भावना अध्ययन, प्रशिक्षण कार्यक्रम र स्थानीय तह निर्वाचनको लागि घोषणा–पत्र तयार समेत गर्नेछ ।

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरि पार्टीको घोषणा पत्र तयार गर्न लागेको राप्रपाले सो घोषणा पत्र सबै स्थानीय तह पार्टी कार्यसमितिहरुलाई उपलब्ध गराउने उनले बताए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *