किन गुमनाम छन् झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी ? पञ्चायतको ‘इन्काऊन्टर’ देखि हिन्दुवादीसम्म

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । एमाले मेची महाकाली अभियान सकाएर यतिबेला थकाइ मार्ने अवस्था छ । झापादेखि कञ्चनपुरसम्मको अभियानमा खटेका नेता कार्यकर्ताहरू केही दिन आराम गरेर सक्रिय हुने बताइरहेका बेला झापा आन्दोलनका हस्तीहरूमा एकजना पार्टी अध्यक्ष केपी ओली र नरेश खरेल मात्रै पार्टीमा सक्रिय रहेका छन् ।

राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारी एमालेभित्रै छन्, तर सक्रिय छैनन् । सीपी मैनाली वामपन्थी धारकै माले पार्टीमा सक्रिय छन् भने भिष्म धिमाल माओवादीमा प्रवेश गरेर सभासद् भएपछि गुमनाम छन् । जसमध्येका सबैभन्दा चर्चित नेता मोहनचन्द्र अधिकारी यतिबेला गुमनाम छन् । उमेर तथा राजनीतिक निराशाका कारण उनी गुमनाम भएको बताइन्छ ।
सक्रिय राजनीतिबाट टाढा रहेर लामो समयदेखि गुमनाम जीवन बाँचिरहेका झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी नेपालका ‘नेल्सन मण्डेला’ भनेर चिनिने गरेका छन् ।

राजतन्त्रविरुद्धको लडाइँमा १८ वर्ष जेलजीवन व्यतित गरेका अधिकारी कहिलेकाहीँ राजावादीहरूको भेलामा सहभागी हुन्छन् भने कहिले पुराण सप्ताह जस्ता धार्मिक कार्यक्रममा सहभागी भएर जीवन बिताउने गरेका छन् । उनी ती कार्यक्रममा सहभागी हुँदा आध्यात्मिक र राजनीतिक रस घुलमिल भएको भाषण गर्छन् । गत माघमा राजावादीहरूको एउटा भेलामा भाषण गर्दा उनले राजतन्त्रको विषयमा मौन रहे, तर हिन्दू राज्यको दह्रैसँग वकालत गरे ।

सशस्त्र संघर्ष गरेर राजनीतिमा आएका मोहनचन्द्र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तीखो आलोचना गर्छन । गुमनाम जीवन बिताइरहेका अधिकारीले आफ्नै बारेमा भने कहिल्यै समीक्षा गरेका छैनन् । वामपन्थीको आँखाबाट हेर्दा अहिले आएको संविधान अवर्गीय छ भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि उनलाई एमालेमा पनि धेरैले राम्रो मानेनन् । गत माघमा उनले एक कार्यक्रममा ‘यो सविधान जातीयताको भावनाले ओतप्रोत छ । नेताहरूले नेपाललाई धेरै पुरानो ठाउँमा लैजानुभएको छ । कुरा २१ औं शताब्दीको, काम १६ औं शताब्दीको । नेताहरू सच्चिने कहिले ?’ भनेपछि एमालेभित्र विरोध भएको बताइन्छ ।

उनले जतिबेला झापामा हतियार उठाएको थिए, त्यतिबेला देशमा पञ्चायती निरंकुशता थियो । शान्तिपूर्ण आन्दोलन सम्भव थिएन । हतियारको जवाफ हतियारले दिनुपर्ने अवस्था थियो । त्यही विषलाई लिएर उनी १८ बर्ष जेल जीवन बिताए । राजकीय सत्तामा एकपटक पनि पाइला टेकेनन् ।

विभिन्न समूहको उपयोग
मधेसमै बसेर राजनीति गरेका अधिकारीले मधेसी पार्टीहरूको दबाबमा ३५ लाख भारतीयहरूलाई नागरिकता बाँड्ने काम भयो भन्दै आलोचना गर्दै आएका छन् । हक्की स्वाभावका उनी बोल्न डराउँदैनन् । यतिबेला राजनीतिभन्दा टाढा रहे पनि उनलाई विभिन्न समूहले उपयोगसमेत गर्न थालेका छन् । खुमबहादुर खड्काले सुरु गरेको हिन्दुवादी आन्दोलन होस् वा टुँडिखेलमा लगाउने महापुराण जस्ता धार्मिक कार्यक्रम हुन्, त्यहाँ बोलाएर आयोजकले बोल्नसमेत दिँदा उत्तेजक भाषणसमेत गर्दै आएका छन् ।
नेपालमा कम्युनिस्ट आन्दोलनको सुरुआतको केन्द्र झापा हो । उनले नै २०१८ सालमा झापामा पहिलोपटक बम प्रहार गरेका हुन् । उनले त्यतिबेला नेपाली कांग्रेसका श्रीनिवासले गोश्वारा हुलाकका सुब्बाको घरमा बम हानेर पञ्चायतविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको सुरुवात गरेको नेपालको कम्युनिस्ट इतिहासमा सशस्त्र युद्धको थालनी गरेका हुन् ।

निडर तथा कसैको पनि प्रभाव र दबाबमा नपर्ने स्वभावका अधिकारी आन्दोलनमा लागेका कारण तत्कालिन क्याम्पसहरूले भर्नासमेत लिन मान्दैन थिए । उनले विद्यार्थीकालदेखि नै आन्दोलनको मोर्चा जमाइसकेका कारण उनको विरोधमा बोल्न जो कसैले हिम्मत गर्दैनथे ।

यसरी भयो झापामा ‘शत्रु सफाया’ आन्दोलन

उनको राजनीतिक क्रान्तिको विचारलाई चीनको सांस्कृतिक क्रान्तिले मलजल गर्यो । २०२६ सालमा छिमेकी चीनमा सांस्कृतिक आन्दोलन भएको थियो । त्यसैको प्रभावले छिमेकी भारतमा नक्सालवादी आन्दोलन चल्यो । राधाकृष्ण मैनाली, सीपी मैनाली, केपी ओली, रामनाथ दाहाल, विरेन राजवंशी, मोहनचन्द्र अधिकारीको अगुवाइमा कम्युनिस्टहरूले ‘शत्रु सफाया’ आन्दोलन सुरु भयो ।

रामनाथ दाहाल र एकजना भारतीय साथीसँग मिलेर शत्रु सफाया आन्दोलन थालेका थिए । तत्कालीन पूर्वीय प्रान्तीय आन्दोलन झापाका सहइन्चार्ज गोपालकृष्ण प्रसाईंको क्रियाकलापको विरोध गर्दा कारबाहीमा परेपछि गुरिल्ला दल खोलेर उनले सशस्त्र क्रान्तिको बिजारोपण गरेका हुन् । विराटनगरको ज्यामिरगढीबाट शत्रु सफाया आन्दोलनको एक्सन थालेका थिए ।

सशस्त्र आन्दोलन थालेपछि मोहनचन्द्र अधिकारी तत्कालीन राज्यको ‘मोस्ट वान्टेड’ को सूचीमा परे । नेपालमा जोगिन मुस्किल भएपछि केही समयभारत पसे । भारतको नैनीतालमा सडक बनाउने काममा मजदुर पनि भए उनी । त्यसैबेला उनलाई लिन नेपालबाट केपी ओली पुगेका थिए । नेपाली राजनीतिमा मोहनचन्द्र अधिकारीको आवश्यकता थियो ।

आन्दोलनको मोर्चा तताउने योद्धा नैनीतालबाट नेपाल फर्किने क्रममा पक्राउ परेपछि उनी लगातार १८ वर्ष जेल परेका थिए । केपी ओली र उनी झापा फर्किने क्रममा इनरुवामा पक्राउ परेका । २०३० साल असोज २३ गतेको दिन कम्युनिस्ट योद्धा अधिकारीको जेलजीवन सुरु भएको थियो । झापा आन्दोलन सुरु गरेको आरोपमा सरकारले व्यक्तिहत्याको अभियोग लगायो । यातना दियो ।

‘इन्काउन्टर’ को योजना पनि नगरेको होइन, तर उनी जेलमै बसेर प्रजातन्त्र स्थापनापछि मुक्त भएका हुन् । तत्कालीन मालेले उनलाई पार्टीको स्थायी कमिटीबाट बिदा ग¥यो भने एमालेमा आएपछि पोलिटव्युरोभन्दा माथि गएनन् । उनलाई राष्ट्रिय सभाको सांसद बनाइयो । त्यसबाहेक उनलाई कुनै राजकीय सरोकारमा समावेश गराइएन । हाल सामान्य विरामीसमेत रहेका अधिकारी आफूलाई स्वतन्त्र वामपन्थी भन्न रुचाउँछन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *