बागलुङमा मानवसेवा आश्रम बन्दै

  •  
  •  
  •  
  •  
  •  

बागलुङ, ५ चैत । अशक्त र बेसहारा नागरिकको संरक्षणका लागि यहाँ मानवसेवा आश्रम खुल्ने भएको छ ।

आश्रम सञ्चालनको लागि बागलुङ नगरपालिका– ३ मा पूर्वाधार तयारीको कामअघि बढेको छ । आउदो वैशाख १ गतेबाट सेवा सुरुवात गर्ने स्थानीय व्यवस्थापक ‘सेभ द् युथ’ बागलुङले जनाएको छ ।

मनोरोग, अपाङ्गता, गरिबी जस्ता कारणले सहाराविहीन बनेका नागरिकलाई आश्रय दिइने आश्रमका संयोजक मनिष रायमाझीले बताए । “विभिन्न कारणले घरपरिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने आश्रमको उद्देश्य हो,” संयोजक रायमाझीले भने ।

उनका अनुसार त्यस्ता नागरिकलाई आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा उपलब्ध गराइनेछ । समाजका सबै क्षेत्रको सहयोगमा आश्रमको सञ्चालन र व्यवस्थापनलाई अघि बढाइने भएको छ ।

बीसजना राख्न सकिने क्षमताको आश्रम निर्माणको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम सुरु भएको संयोजक रायमाझीको भनाइ छ । ‘युके समाज’ बागलुङले ५० हजार, स्थानीय लक्ष्मणश्री परियारले १५ हजार र कुँडुले सेवा समाज जापानका अध्यक्ष प्रेम आचार्यले ११ हजार आश्रमलाई सहयोग प्रदान गरेको जनाइएको छ ।

यस्तै, बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र आश्रमका संयोजक रायमाझीका बुबा महेन्द्रसिंह रायमाझीले आजीवन मासिक एक हजार आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सबैको सानो–ठूलो सहयोग जुटाएर आश्रम सञ्चालन गर्न लागिएको आश्रमका सदस्य सचिव हरि रुचालले बताए । गैरआवसीय नेपाली सङ्घका पूर्व युरोप सह–संयोजक सोम सापकोटाको पहलमा आश्रमको लागि रु तीन लाख सङ्कलन भइसकेको छ ।

मानवसेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका अभियन्ताले जनाएका छन् । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *