सरकार असफल भएको निष्कर्ष सहित प्रचण्डको विकल्प खोज्दै एमाले, देउवालाई रोकिने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार असफल भएको भन्दै सरकार परिवर्तनको कसरतमा लागेको छ । १५ दिने मेची–महाकाली अभियान भर्खरै सम्पन्न गरेको एमाले एकाएक सरकार फेर्ने कसरतमा लागेको हो ।

अभियानका क्रममा फागुन २३ गते सप्तरीको राजविराजमा ५ जनाको ज्यान जानेगरी भएको घटना पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा एमाले सरकार परिवर्तनको चलखेलमा सक्रिय बनेको छ ।

सत्तारुढ दल राप्रपाले संविधान संशोधन विधेयक अघि बढाइए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला एमाले सरकार परिवर्तनको कसरतमा लागेको स्रोतको दावी छ ।

पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको विषयमा राप्रपाले निर्वाचन आयोग विरुद्ध संवैधानिका उपचार खोज्ने निर्णय गरिसकेको अवस्थामा कुनै पनि बेला राप्रपा सरकारबाट बाहिरिन सक्ने एमालेको बुझाई छ ।

मोर्चाले समर्थन फिर्ता लिइसकेको र राप्रपा पनि सरकारबाट बाहिरिए सत्ता गठबन्धन धरापमा पर्ने एमालेको निष्कर्ष छ । मेची–महाकाली अभियानको प्रभावले राजनीतिमा नयाँ तरंग ल्याउने एमाले नेताहरुले बताइरहेका छन् । उनीहरुको यो अभिव्यक्तिले पनि सरकार परिवर्तनको संकेत गरेको कतिपयको भनाई छ ।

‘एमालेले संचालन गरेको मेची–महाकाली अभियानको प्रभावले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ,’ एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘यो सरकार पूर्णरुपमा असफल भइसकेको छ र यसको औचित्य पनि समाप्त भइसकेको छ ।’

उनले देश र राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन सरकारले मार्ग प्रसस्त गर्नु गर्नुपर्ने बताए । ‘राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन सरकारले मार्ग प्रसस्त गर्नुपर्छ । त्यो उसका लागि पनि हितकर पनि छ,’ उनले भने ।

देउवालाई रोक्ने दाउ

सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसवीच भएको सहमति अनुसार अबको केही महिना भित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नु पर्छ ।

बैशाख ३१ गते घोषणा गरिएको स्थानिय तह निर्वाचन पछि प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति कांग्रेस–माओवादीबीच भएको छ । प्रमुख सत्तारुढ दलबीच भएको सहमति कार्यान्वयन हुन नदिने र देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न एमाले सक्रिय बनेको स्रोतको दावी छ ।

स्थानिय तहको निर्वाचनमा प्रचण्ड नेतृत्वमा गर्ने र त्यसपछि प्रदेश र संघिय संसदको निर्वाचन देउवा नेतृत्वको सरकारले गराउने सहमतिका कारण एमाले देउवा नेतृत्वको सरकारले गराएको निर्वाचनमा भाग लिन नसकिने निष्कर्षमा पुगेको बताइएको छ ।

कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचनमा कांग्रेससँग भिड्न नसकिने निष्कर्ष सहित कुनै पनि हालतमा देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने एमालेको दाउ छ ।

अाेली प्रचण्डकाे बढ्दाे सामिप्यता राजनीतिक कोर्ष बदलिने संकेत

फागुन ३० गते दाङको आमसभा छाडेर एक्कासि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार आएका थिए ।

दुई नेताबीचको एक घन्टाभन्दा लामो एक्लाएक्लै बालुवटार भेटवार्तालगत्तै प्रचण्डले चीन भ्रमण गर्ने मिति सार्वजनिक गरे । यसै दिन राप्रपा अध्यक्ष कमल थापाले सरकारमै बसेर संविधान संशोधनविरुद्ध विपक्षमा मत हाल्ने मात्र होइन, सरकारबाटै बाहिरिने घोषणा गरेका थिए । प्रचण्ड र ओलीबीचको गोप्य भेटवार्ताले राजनीतिमा फेरि नयाँ तरंग पैदा भएको छ ।

संविधान संशोधन विधेयकलाई लिएर सरकार र प्रमुख प्रतिपक्षी दलबीच पानी बारबारको स्थिति पैदा भएका बेला ओली–प्रचण्ड भेटवार्ताले फेरि नयाँ सत्ता गठबन्धन बन्दैछ भन्ने संकेत गरेको बताइको छ ।

प्रचण्ड र ओलीबीचको सामिप्यताले संशोधन प्रस्ताव चुनावअघि नै पारित हुने थोरै अड्कलबाजीसमेत नभएका होइनन् । तर, राजनीतिक कोर्ष अब चुनावभन्दा पनि सरकार फेरबदलतर्फ गइसकेको अड्कलबाजी गर्न थालिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *