निर्वाचन आयोगले हिन्दुराष्ट्र र राजतन्त्र हटाइदिएपछि राप्रपा एमालेविरुद्ध खनियो, केपी ओली–कमल थापा सम्बन्ध संकटमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र हटाइदिएपछि नेपाली राजनीतिमा यसले नौलो तरंग सिर्जना गरेको छ । आयोगको यो कदमले राजनीतिक ध्रुवीकरण तीव्र ढंगले बढ्ने स्थिति देखापरेको छ ।

निर्वाचन आयोगले संविधानसँग बाझिएका हदसम्म नेपालमा प्रचलित कानुन सबै स्वतः खारेज हुने भन्दै राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र हटाइदिएको थियो । जसले गर्दा यसले नयाँ विवाद सिर्जना गरेको छ । निर्वाचन आयोगको सो निर्णयविरुद्ध आज बस्ने व्यवस्थापिका संसद् बैठकमा संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । जसमा हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र कायम गरिनुपर्ने उसको माग छ ।

धेरैले आयोगको यो कदम निरंकुश भन्दै आलोचना गरेका छन् । कसैलाई पनि वैयक्तिक स्वतन्त्र रहने व्याख्या गर्दै राजनीतिक विश्लेषणहरूले पनि आयोगको सो कदम राजनीतिक भूल भएको टिप्पणी गरेका छन् । राजनीतिकशास्त्री कृष्ण खनाल, निलाम्बर आचार्यलगायतले निर्वाचन आयोगको सो निर्णयप्रति असहमति जनाएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले विचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होइन, विद्रोहको बाटो रोज्नुपर्ने हुन्छ भन्दै के हामीलाई त्यही बाटोतर्फ धकेल्न खोजेको हो ? भन्दै आयोगसँग प्रश्न गरेका छन् । उनले राजनीतिक दलले आफ्नो आदर्शअनुरुपको सिद्धान्त अवलम्बन गर्न पाउने संवैधानिक र नैसर्गिक अधिकार हो । प्रजातन्त्रको सौन्दर्य र शक्ति नै त्यही हो ।

‘शान्तिपूर्ण र वैधानिक बाटो रोक्ने प्रयास भए सडकबाट छिनोफानो, सिद्धान्तको अगाडि सत्ता केही होइन, उपप्रधानमन्त्री त्याग्न तयार छु,’ कमल थापाले भनेका छन् । उनले चुनावमा के एजेन्डा बोकेर जाने भन्ने निर्णय राजनीतिक दलले गर्ने हो, निर्वाचन आयोगले दलको एजेन्डा निर्धारण गर्दा जनताको निर्णायकत्व कुण्ठित हुने स्पष्ट गरेका छन् ।

एमाले र माओवादीविरुद्ध राप्रपा

आफ्नो पार्टीको विधान संशोधन गरिदिएपछि राप्रपाले आयोगलाई सक्ने भए एमाले र माओवादी केन्द्रको विधान सच्याउन चुनौती दिएको छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले एमालेको विधान नै अगाडि सारेर हटाउन चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘एमालेको विधानमा साम्यवाद लेखिएको छ, निर्वाचन आयोगको व्याख्याअनुसार यो पनि संविधान प्रतिकूल होला, डियर निर्वाचन आयोग, एमालेको विधानबाट राप्रपाको झैं हटाउन सक्छौं ?’

के होला केपी–कमल सम्बन्ध ?

निर्वाचन आयोगको यो निर्णयपछि चुनावको के नारा लिएर जनताकहाँ जाने भन्ने अन्योल सिर्जना भएको छ राप्रपालाई । यसले सबैभन्दा बढी केपी ओली र कमल थापाबीचको सम्बन्धलाई असर पुग्ने राजनीतिक विश्लेषण गर्न थालिएको छ ।

ओलीकै सल्लाहअनुसार कमल थापा प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएका थिए । दुवैले प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाएर पछि नयाँ गठबन्धन गर्ने गोप्य सहमतिसमेत गरेका थिए । तर निर्वाचन आयोगले राप्रपाको विधान परिवर्तन गर्दै संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र स्थापना हटाइदिनु र एमाले, माओवादी केन्द्रको नचलाउनुले केपी ओली र कमल थापाबीचको सम्बन्धमा असर पुग्ने बताइएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *