देउवालाई असफल पार्ने खुमबहादुर खड्का र रामचन्द्र पौडेलबीच ‘गोप्य सहमति’, पदाधिकारीको प्रस्ताव अस्वीकार गर्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । आगामी चैत १० गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पाँच महिनापछि कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को सबैभन्दा ठूलो दलको केन्द्रीय समिति बैठकप्रति सबैले चासो राखेका छन् ।

अब बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, मनोनीत पदाधिकारीको प्रस्ताव, नौजना केन्द्रीय सदस्य मनोनीत, ३१ विभाग गठनसम्बन्धी प्रस्तावमध्ये दुई–तीनवटा लैजाने पार्टी सभापति शेरबहादुर देउवाले तयारी गरिरहेको बुझिएको छ । लामो समयसम्म केन्द्रीय समिति बैठक नराखेको भन्दै रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि देउवा केन्द्रीय समिति बैठक बोलाउन सहमत भएका हुन् ।

तर केन्द्रीय समितिको बैठक बस्नुअघि देउवाले क–कसलाई उपसभापति, महामन्त्री, सहमहामन्त्री र प्रवक्ता तथा केन्द्रीय सदस्यमा मनोनीत गर्ने भन्ने विषयमा छलफल गर्न सकेका छैनन् । आफूलाई लामो समयदेखि साथ दिँदै आएका विमलेन्द्र निधिसँग सम्बन्ध बिग्रिएपछि देउवा अहिले एक्लो बनेका छन् ।

यही मौकामा नेता रामचन्द्र पौडेलले भने प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्कासँग देउवालाई असफल पार्नेबारे ‘गोप्य सहमति’ गरिसकेको स्रोतले बतायो । केही दिनअघि नेता पौडेल सानेपास्थित खड्का निवास पुगेका थिए । करिब दुई घन्टा लामो भेटवार्तामा दुई नेताबीच केन्द्रीय समिति बैठकमा सभापति देउवाले ल्याउने प्रस्ताव अस्वीकार गर्ने र पछि त्यसलाई पारित नै हुन नदिने सहमति भएको कांग्रेस उच्च स्रोतले बतायो ।

खड्का आफैं उपसभापतिको दाबेदार रहँदै आएका छन् । तर, तीन महिनाअघि देउवाले नेता गोपालमान श्रेष्ठमार्फत खड्कालाई उपसभापति बनाउन नसकिने सन्देश पठाएका थिए । त्यसपछि देउवासँग खड्का रुष्ट हुँदै आएका छन् । यही मौकामा पौडेलले खड्कासँग सम्बन्ध कसिलो बनाएको कांग्रेसका एक नेताले बताए ।

स्रोतका अनुसार खुमबहादुर सभापति देउवाभन्दा पनि बढी विमलेन्द्र निधिसँग आक्रोशित छन् । केही समयअघि सानेपास्थित आफ्नै निवासमा आएर निधिले खड्कालाई ‘तपाई होइन म नै उपसभापति बन्ने हो, कसले रोक्न सक्छ हेरौं’ भनेपछि खड्का निधिलाई उपसभापति बन्नै नदिने रणनीतिमा लागेका छन् । त्यति मात्र होइन, निधिलाई गृहमन्त्रीबाट फिर्ता बोलाउन खड्काले देउवालाई विभिन्न च्यानलमार्फत दबाब दिइरहेको बुढानिलकण्ठ स्रोतले बतायो ।

खड्काले भने आफू हुन नसके डा.शेखर कोइरालालाई उपसभापति बनाउन देउवालाई दबाब दिने र त्यसमा रामचन्द्र पौडेललाई सहमत गराउने प्रयास गरिरहेका छन् । केही समयदेखि डा.कोइरालाले खड्काकै एजेन्डाअनुसार अभिव्यक्ति दिइरहेको स्रोतले बतायो । तर, नेता कृष्णप्रसाद सिटौलाको अहिले शेखरसँग सम्बन्ध सुमधुर छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *