२७ देशका सेना नेपालमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । शान्ति सैनिक अभ्यासका लागि २७ देशका सेना नेपालमा आएका छन् । नेपालसहित २८ देशको सहभागिता रहने सो अभ्यासमा १ हजार २४ जनाले भाग लिने भएका छन् ।नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुन लागेको अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ७ चैतदेखि २१ गतेसम्म अभ्यास सञ्चालन हुनेछ । सो तालिममा पहिलो पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि सहभागिता रहने सेनाले जनाएको छ ।

तालिममा सहभागी हुन अमेरिका, भारत, बेलायत, बंगलादेश, जापान, दक्षिण कोरिया, इजरायललगायत देशका सैनिक काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पुगेका छन् । तालिम केन्द्रका कमान्डेन्ट महासेनानी प्रयोगशमशेर जबराका अनुसार सोमबारबाट तालिम सुरु हुनेछ ।

सो अभ्यासको उद्घाटन सत्रमा सहभागिता जनाउन र अनुगमनका लागि अमेरिकी नौसेनाका प्रमुख नेपाल आएका छन् । अमेरिकी नौसेनाका एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन् । सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आएका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन् । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाशशरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग भेटवार्ता गरी नेपाल—अमेरिका सैन्य सहकार्य र सहयोगबारे छलफल गर्ने भएका छन् ।

अमेरिकाले नेपाली सेनासँग रणनीतिक सहकार्यलाई निकै प्राथमिकतामा राखेको छ । नेपाली सेनाले अमेरिकी सेनाकै सहयोगमा सन् २००० मा पहिलो पटक यस्तो अभ्यास आयोजना गर्दा नेपालसहित चार मुलुकका मात्र सेना सहभागी थिए । यसअघि बंगलादेश, भारत, मलेसिया, थाइल्याण्डलगायतका मुलुकमा अभ्यास सम्पन्न भैसकेका छन् ।

त्यसपछि २०१३ मा ‘शान्ति प्रयास २’ मा २३ वटा मुलुकको सहभागिता थियो । यो तेस्रो अभ्यासमा २८ मुलुकका सेना सहभागी भएको महासेनानी राणाले बताए । उनका अनुसार संयुक्त अभ्यासमा शान्ति मिसनमा खटिँदा आवश्यक पर्ने तीन तहको तालिम सञ्चालन हुनेछ । सो क्रममा युएन हेडक्वाटरमा खटिँदा गर्नुपर्ने व्यवस्थापकीय काम सम्बन्धी शान्ति मिसनमा हुने कारबाहीको पनि अभ्यास हुनेछ ।

नेपाली सेनाले सन १९५८ देखि हालसम्म एक लाख ११ हजारलाई संयुक्त राष्ट्र संघको ४१ वटा शान्ति मिसनमा खटाइसकेको छ । अहिले पनि चार हजार नेपाली सेना विभिन्न देशको १५ वटा मिसनमा खटिएको छन ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *