भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित, रियल मड्रिडसँगको दुरी घटायो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । बार्सिलोनाले भ्यालेन्सियामाथि ४–२ को प्रभावशाली जित निकालेको छ । ला लिगा अन्तर्गत आईतबार राती घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोल गरे ।

भ्यालेन्सियाका लागि एलियाक्विम मंगला र मुनिर एल–हाड्डाडीले एक एक गोल गरे । २९ औं मिनेटमा मंगलाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाति अग्रता दिलाए ।

३५ औं मिनेटमा नेयमारको पासमा स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४४ औं मिनेटमा मंगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो ।

त्यसपछि ४५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर पहिलो हाफको इन्जुरी समयमा एल–हाड्डाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ५२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो ।

८९ औं मिनेटमा पुनः नेयमारको पासमा गोमेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए । जितपछि बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको छ । दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । २८ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया भने चौधौं स्थानमा छ ।

यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई ३–१ ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडललाई जिताउन डिएगो गोडिन, एन्टोनी ग्रिजम्यान र कोकेले एक एक गोल गरेका थिए ।

हारपछि तेस्रो स्थानको सेभिल्लाको २८ खेलबाट ५७ अंक भएको छ ।सेभिल्ला दोस्रो स्थानको बार्सिलोना भन्दा ६ तथा शीर्ष स्थानको रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ । चौथो स्थानको एथ्लेटिको मड्रिडको ५५ अंक भएको छ ।

राति भएका अरु खेलमा सेल्टा डि भिगोले डिप्रोटिभो डि लाकोरुनालाई १–० तथा स्पोर्टिङ गिजोनले ग्रनाडालाई ३–१ ले हरायो । लेगानेस र मालागाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *