एमाले सचिव योगेश भट्टराई काठमाडौंको मेयर उठ्लान् त ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ चैत । नेकपा एमाले सचिव योगेश भट्टराई समकालीन युवा नेताहरूमध्ये लोकप्रियमा पर्छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई पार्टी राजनीतिमा छिट्टै स्थापित हुने युवा नेता हुन् । नवौं महाधिवेशनमा पहिलो पटक पदाधिकारीमा लडेका भट्टराईले पुराना हस्तीहरूलाई पाखा लगाएर चुनाव जितेका थिए ।

उनलाई भविष्यमा एमालेको नेतृत्व गर्न सक्ने नेताका रूपमा लिइएको छ ।लोकप्रियताकै आधारमा उनलाई एमालेले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार उठाएका थियो । तर, उनी दुवैपटक कांग्रेस नेतासँग चुनाव हारे । अहिले उनलाई काठमाडौंको मेयरका रूपमा चर्चा गरिएको छ ।

योगेशसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, केशव स्थापितलगायतको नाम पनि चर्चामा छ । एमाले युवा नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्चजालमार्फत योगेश भट्टराईलाई मेयरका रूपमा बहसमा ल्याएकी छन् । सोमबार फेसबुकमा उनले भट्टराईको तस्बिरसहित काठमाडौं महानगरपालिकाको मेयरमा चर्चा देख्छु, के रहेछ भन्दै स्टाटस लेखेकी छन् ।

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने नहुनेमा अझै अन्योल रहेकाले पनि प्रमुख दलले स्थानीय तहका प्रमुख पदमा अहिलेसम्म उम्मेदवारको नाम चर्चामा ल्याएका छैनन् । मुलुकको राजधानीसमेत रहेकाले काठमाडौं र ललितपुर महानगरको मेयरमा चर्चा हुनु स्वाभाविक मानिन्छ ।

काठमाडौंको मेयरमा एकपटक कांग्रेस र एकपटक एमालेका उम्मेदवारले चुनाव जितेका छन् । कांग्रेसबाट पीएल सिंह र एमालेबाट केशव स्थापितले मेयरमा चुनाव जितेका थिए । यसपटक पनि कांग्रेस र एमालेबीच नै काठमाडौं र ललितपुरको मेयरमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेस र माओवादी केन्द्रले भने कसैलाई चर्चामा ल्याएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *