जेपी गुप्ताको काँग्रेसलाई व्यंग्यात्मक प्रश्न, के मेरा पुराना काँग्रेसी मित्रहरू फट्याङ्ग्रा टिप्न सक्छन् ?

  •  
  •  
  •  
  •  
  •  

जयप्रकाश गुप्ता

केपी ओलीले अहिलेको नेपाली कांग्रेसलाई झाडीमा फसेको बाह्रसिङ्गे भन्नु भएको छ । मैले पनि कांग्रेसमा त्यहाँ ३५ बर्ष बिताए । आज टाढाबाट नियाल्दै छु । बेला बेलामा सोच्दछु के भएको होला काँग्रेसलाई ?

ओली महोदयको बाह्रसिङ्गे उपमा बडो चित्त बुझ्यो । यो उपमा दिँदा ओली जीको आफ्नो कुनै प्रयोजन होला, मलाई त ‘झाडीमा फसेको बाह्रसिङ्गे’ यो पदावली मात्र मन पर्यो ।

सात दशक देखि समुद्री आँधीमा फसेको जहाज जस्तो यो काँग्रेसलाई हेर्दा धेरैलाई, धेरै पटक डुब्यो डुब्यो लाग्या होला । तर, एउटा अजस्र शक्तिले यसलाई पार लगाउँदै ल्याएको छ । के त्यो शक्ति आज जाग्रत छ र रु म सोच्दै निदाउथे, ब्यूझिन्थे । अर्ध चेतनामा मैले खेलेको काँग्रेसका खेतबारी, कान्लाहरूमा हिडेडुलेका बेलाका केही पुराना नयाँ सम्झनाहरूको तरेली बिहान टिप्दै गए ।

संसदको निर्वाचनमा पराजित भएकालाई उच्च राजनीतिक तहमा नियुक्ति नगर्ने गणेश मान सिंह जी सँगको सहमति विपरित गिरिजा प्रसाद कोईरालाले राम शरण महतलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नु भयो । यसपछि गणेश मान जी को चाहना अनुसार दुर्गेश मान सिंहलाई भारतको राजदूतमा नियुक्ति गरिएन । यसको दुस्खद परिणाम अतुलनीय रह्यो ।

सरकारको नीति तथा कार्यक्रम उपरको मतदानमा आफ्नै पार्टीका ३६ जना सांसद अनुपस्थित भएर गिरिजा प्रसाद कोईरालाको सरकारलाई नैतिक संकटमा पारियो । पार्टी भित्र सल्लाह नगरी प्रधान मन्त्री कोईरालाले चार जना नेतालाई मन्त्री पदबाट हटाएको प्रतिशोध थियो त्यो । फलतस् तत्कालिन संसद बिघटनको सिफारिश भयो । भनिन्छ, यो काँग्रेसको अवनीतिको ओरालो थियो ।

कृषि मन्त्री शैलजा आचार्यले मन्त्रालयमा भ्रष्टाचारको जालो छ, पन्छाउनै गार्हो भयो भन्नु भएको थियो । संसदमा एमालेले रडाको मच्चाए । उही सरकारको गृहमन्त्री रहेका शेर बहादुर जी, चिरन्जिवी वाग्ले जीहरू एमालेलाई हौस्याए । अपमानित पारिएर शैलजा जी मन्त्री पदबाट राजिनामा दिनु पर्यो । काँडा झिकियो भनेर काँग्रेसमा एक थरीको हर्ष बढाई भयो । काँग्रेस चुकेको थाहै भएन ।

नेपाली काँग्रेसका बरिष्ठ नेता महेन्द्र नारायण निधी समेतले गिरिजा कोईरालालाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न राजदरबारमा बिन्ती चढाए । राजालाई संविधानमा व्यवस्था नै नभएको हस्तक्षेपका लागि अपील गरियो । यसपछि संसदीय इतिहासका पहिलो सभामुख देवतुल्य कृष्ण प्रसाद भट्टराईको संसदीय पद्धति प्रतिको निष्ठा र संवैधानिक राजतन्त्रको समझमा प्रश्न खडा भयो ।

राजा विरेन्द्रले सरकारको सहमति बिना नै तत्कालिन राष्ट्रिय सभामा १० जनालाई मनोनित गरेका थिए । नेपाली काँग्रेसले यसको विरोध गरेको थियो । गणेश मान जी, कृष्ण प्रसाद भट्टराई र गिरिजा बाबु सबैले राजाको यस कदमलाई संवैधानिक राजतन्त्रको पद्धतिको विपरित काम भन्नु भएको थियो । अब गिरिजा प्रसाद कोईरालालाई संविधानमा कही व्यवस्था नै नभएको पदमुक्त गरिनु पर्ने उक्त अपीलबाट नेपाली काँग्रेसकै संवैधानिक राजतन्त्रको समझमा गम्भीर फरक पर्योस राजाले खेल्ने मौका पाए ।

संसदीय दलमा शेर बहादुर जी को नाममा बहुमत नहुँदा हुदै गिरिजा प्रसाद कोईरालाले शेर बहादुर देउवालाई संसदीय दलको नेता बनाउनु भयो । त्यो बखत प्रधानमन्त्री पदको स्वभाविक हकदार रहनु भएकी शैलजा आचार्य वा संख्यात्मक बहुमतमा रहेका खुम बहादुर खडका गिरिजा बाबुसँगको प्रेमको पासोमा रहेरै पन्छ्याईए । शेर बहादुर जी प्रधानमन्त्री भयो । कालान्तरमा उनै शेर बहादुरसँगको प्रतिस्पर्धामा गिरिजा बाबु संसदीय दलको नेता पद परित्याग गर्नु पर्यो । सुशील कोईरालालाई संसदीय दलको नेतामा समर्थन गर्नुभयो र स्वंय पराजित हुनुभयो ।

राजा ज्ञानेन्द्रद्वारा पासोमा पारिएका आफ्नै पार्टीका प्रधानमन्री शेर बहादुर जी लाई गिरिजा बाबुले प्रतिरक्षा गर्नु भएन । संकटकाल घोषणाको प्रधानमन्त्री देउवाको निर्णयलाई पार्टी सभापति कोईरालाले केन्द्रिय समितिको बैठकमा असफल गराउनुभयो । फलतस् देउवाबाट संसद बिघटनको परिणाम आयो ।

कुनै समय गिरिजा बाबुले गर्नु भएको संसद बिघटनको सिफारिशलाई अक्षम्य अपराध देख्ने देउवा स्वयंले संसद बिघटनको सिफारिश गरेको प्रतिरक्षा गर्न कत्ति कठिनाई सहनु परेको थियो होला !

देउवा सरकारका मन्त्री रहेका जय प्रकाश गुप्ताले नेपाली सेना राजनीतिमा दख्खल दिदैछ भन्ने वक्तव्य दिएका थिए । एमाले, बिजुक्छे लगायतले संसदमा हंगामा खडा गरे । उनिहरू, गुप्ताले राजिनामा नदिई नहुने अड्डी लिए । सरकारको प्रवक्ताको रूपमा जय प्रकाश गुप्ताले भनेका कुराहरूलाई गिरिजा बाबुले पार्टी नीति विपरित ठान्नुभयो ।

पार्टीले गुप्तालाई मन्त्री पदबाट राजिनामा दिन भन्यो । देउवा मन्त्रीमन्डलले गुप्ताको प्रतिरक्षा गर्यो र आमोद उपाध्याय र महेश आचार्य समेतको मन्त्री मन्डलको बैठकले सर्वसम्मतिबाट गुप्ताले राजिनामा दिन नपर्ने ठहर गरी वक्तव्य निकाल्यो । तर, गिरिजा बाबुले मान्नु भएन । मन्त्री गुप्तालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरियो । यद्यपि, देउवाले मन्त्री पदबाट हटाउन मान्नु भएन ।

कुनै समय संसदमा प्रतिपक्षी एमालेले मन्त्री शैलजाको राजिनामा माग्दा आफ्नो पार्टीका सदस्यहरूले पार्टीका मन्त्रीको प्रतिरक्षा गर्नुपर्ने अडान लिनु भएका गिरिजा बाबु आफ्नै पार्टीका मन्त्री जय प्रकाश गुप्तालाई एमालेको शहमा पार्टीबाटै निकाल्नु भयो ।

नेपाली काँग्रेस भित्र अत्यधिक शक्तिशाली रहनु भएका प्रधानमन्त्री गिरिजा बाबुका बिरूद्ध संसदीय दलको नेतामा उम्म्दवारी दिने सहास चिरन्जीवि वाग्लेले गर्नुभयो । गुटको तर्फबाट यो पहिलो संस्थागत प्रयास थियो । जसमा गणेश मान जी र किसुन जी को खुला आशिर्वाद थियो । यिनै चिरन्जीवि वाग्लेले सृजना गर्नु भएको गुट शेर बहादुर जीको नेतृत्वमा स्थानान्तर भयो र सोही पृष्ठभूमीमा आज देउवा जीको हालीमुहाली अविच्छिन्न छ ।

यिनै चिरन्जीवि जी सबभन्दा पहिला काँग्रेसलाई जनस्तरमा बदनाम पार्ने शाही डिजायनको पात्रमा चुनिनु भयो । राजाले भनेपछि देउवा जी हामी धेरैका सामुन्ने मन्त्री पदबाट वाग्ले जीको राजिनामा माग्नु भयो । ‘वाग्ले जी, आइदर यू सम्मिट रिजिनेशन आर प्रिपियर्ड फोर जेल’ बैठकमा देउवा जीले राजाको ईच्छा, तत्कालिन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको तयारी आदि सम्झाउदै पद त्याग गर्न वाग्ले लगायत हामीलाई गरेको अनुरोध हामी मुर्खहरूले बुझेनौ । अड्डी कस्यौं र पालैपालो भ्रष्टाचारमा फसाईएर जेल गयौ, समाप्त भयौ, मर्यौ । देउवा जी शाही भ्रष्टाचार आयोग आदिलाई छिचोल्दै वटबृ़क्ष झै झांगिनु भएको छ ।

प्रधानमन्त्त्री देउवाले माओवादीसँग शान्तिवार्ता थाल्नुभएको थियो । एमाले पनि भित्री रूपमा माओवादीसँग वार्ता थालेको थियो । यस वार्तामा गिरिजा बाबुले देउवालाई बल दिनु भएन । सहयोग गर्नु भएन । हङकङगबाट सोझै दिल्ली पुगेको गिरिजा बाबुले आफु प्रधानमन्त्री बनेमा माओवादीसँग शान्ति वार्ता टुंग्याउने भनेर सहमति गर्नु भयो । काँग्रेसको फुटलाई दरिलो बनाउन एमालेले कोईरालालाई साथ दिएर काँग्रेसी चिरालाई फाटोमा रूपान्तरित गरे । शेर बहादुर प्रधानमन्त्री रहनु भएन । दिल्ली सहमति पछि शान्तिवार्ता भै माओवादी सतहमा आयो, राजा र राजतन्त्र सकियो । गिरिजा बाबुले भने आफुलाई इतिहासमा अमर बनाउनुभयो ।

चिरन्जीवि वाग्ले र खुम बहादुर खडकालाई भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले जेल हुलेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले यस वारे सर्वोच्च अदालतमा पुनरावलोकन गरिने ठहर गर्यो । मधुर र अदालत मैत्री भाषामा पार्टीले सो आशयको एक वक्तव्य निकाल्यो । देउवा जीहरूले यसको कडा प्रतिवाद गर्नुभयो । रडाको मच्चाउनुभयो । काँग्रेस आफ्नो परम्पराको विपरित अदालतको खिलाफमा जान नहुने जिकीर लिनुभयो । फलतस् नेपाली कांग्रेसले आफ्नो वक्तव्य फिर्ता लियो । अदालतको सम्मान गरेको भन्यो ।

अहिले प्रहरी महानिरीक्षकको विवादमा नेपाली कांग्रेसले अदालतबाट कार्यपालिकाको कार्यक्षेत्रमा हस्तक्षेप भएको भनेको छ । यो पार्टीको निर्णय नै भयो । नेपाली काँग्रेसले अत्यन्त दुस्खमा परेको बेला आफन्तहरू चिरन्जीवि वाग्ले र खुम बहादुर खडकाको घाउँमा मलम लगाउन चाहेन । तर, ती प्रहरी भाग्यमानी हुन् जस्को पदोन्नतिका लागि नेपाली काँग्रेस आज चट्टानी अडान लिएको छ ।

भ्रष्टाचारको मुद्दामा २ बर्षसम्म वा यस भन्दा कम कैद सजायँ पाएको व्यक्तिलाई कैद भुक्तान भएको मितिबाट ६ बर्षसम्म निर्वाचनमा भाग लिन बन्देज रहने प्रावधान अनेकन प्रजातान्त्रीक मुलुकहरूमा छ । भारतमा, इटालीमा कयौँ मुलुकमा छ । तर, नेपालमा यस्ता व्यक्ति आजीवन निर्वाचन लडन नपाउने व्यवस्था भयो । निर्वाचन कानूनको मस्यौदा गरी पठाउँदा निर्वाचन आयोगले त्यस्ता व्यक्तिको हकमा ६ बर्षसम्म बन्देज रहने प्रावधान नै मस्यौदा गरी तालुकवाला मन्त्रालय, गृह मन्त्रालयमा पठाईएको थियो ।

गृहमा मन्त्री बिमलेन्द्र निधीले यस प्रावधानलाई बदल्नु भयो र २ वा २ बर्ष भन्दा कम अवधि जेल सजाय भोगेको मानिस समेत निर्वाचनमा भाग लिनबाट आजीवन अयोग्य रहनु पर्ने व्यवस्था भयो । यो गुह्य कुरो सबैले जानेका छन् कि, नेपाली काँग्रेस भित्र खुम बहादुर खडकालाई पन्छाउन यसो गरिएको हो । उहाँलाई काँग्रेसको उपाध्यक्ष नदिनका लागि यत्रो उपक्रम रचियो । यौटा सानो स्वार्थका लागि काँग्रेसले सर्वकालिक सोच बनाउन सकेन ।

आज, सुन्दैछु माओवादीसँग मिलेर स्थानीय चुनावमा जाने कुरा पनि उठ्यो रे काँग्रेसको उपल्लो बैठकमा ।कहिल्यै, नझुकेको काँग्रेस आज कहाँ चुक्दैछ । मेरा पुराना मित्रहरू के गरी बसेका होलान् त्यहाँ रु तिनीहरू फट्याङ्ग्रा टिप्न सक्छन् र ? !

गुप्ताकाे फेसबुकबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *