उपप्रधानमन्त्रीमा वरियता विवाद : निधि र थापा को सिनियर ?

  •  
  •  
  •  
  •  
  •  

बिन्दुकान्त घिमिरे । उमेरको हिसावले विमलेन्द्र निधि र कमल थापा करिव करिव समकालीन हुन् । पारिवारिक पृष्ठभूमि पनि दुवैको उच्च मध्यम वर्ग नै हो । दुवै जना राजनीतिमा संलग्न हुनुको मुख्य कारण पनि पारिवारिक पृष्ठभूमि नै रहेको देखिन्छ ।

फरक के हो भने निधि राजनीतिक संस्कारमा हुर्किए, कमल थापा सेनाको व्यारेकमा हुर्किए । २०१६ सालमा महेन्द्रनारायण निधि प्रतिनिधिसभाको उपसभामुख थिए भने कमल थापाका बाबु क्षेत्रबहादुर नेपाली सेनाका क्याप्टेन थिए ।

२०१७ सालमा राजाले प्रजातन्त्र अपहरण गरेपछि निधिको परिवार प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमियो भने कमल थापाको परिवार प्रजातान्त्रिक आन्दोलन दबाउने अभियानमा सामेल भयो । विमलेन्द्र निधिको बालमस्तिस्कमा प्रजातन्त्र नै सबै थोक हो भन्ने छाप प¥यो, कमल थापाको बाल मस्तिस्कमा निरंकुशता नै सबै थोक हो भन्ने छाप पर्यो ।

२०१८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन हुँदा निधि परिवारको खाने बस्ने ठेगान भएन तर कमल थापाका बाबु क्षेत्रबहादुर थापा आफ्नो परिवारलाई हेटौंडास्थिति सैनिक ब्यारेकमा सुरक्षित राखेर चितावन खटिए । त्यतिबेला सेनाको मेजर भइसकेका क्षेत्रबहादुरले नेपाली कांग्रेसको आन्दोलन दवाउन ठूलो सफलता प्राप्त गरे ।

जगतप्रकाश जंग शाह, शमशेरबहादुर घिमिरेलगायत नेपाली कांग्रेसका ११ जना नेताहरुलाई चितवनको दियालो बंगला नजिक एक चिहान बनाउन सफल भएका मेजर क्षेत्रबहादुर बढुवा भएर कर्णेल बने । त्यही पुरस्कार बापत दरबारले कमल थापालाई राजनीतिमा स्थापित गराएको हो ।

निधि नेवि संघको राजनीतिमा लाग्ने क्रममा १४ वर्षको उमेरमै जेल परे । कमल थापा पञ्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको राजनीतिमा लागेका कारण उनले दुख पाउनु परेन । निधि नेवि संघको अध्यक्ष बन्दा कमल थापा पनि पन्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष भइसकेका थिए । त्यतिवेला नेवि संघका नेता कार्यकर्ताहरुलाई संघातिक आक्रमण गर्न स्वतन्त्र विद्यार्थी मण्डलले सेना र प्रहरीको सहयोगमा खेलेको भूमिका इतिहासको पानाबाट कहिल्यै मेटिँदैन ।

पञ्चायतकालमा नेवि संघको अध्यक्ष हुँदा त निधिले कमल थापा तथा मण्डले प्रवृत्ति विरुद्ध लडाँइ लडेकै थिए । यतिबेला गणतन्त्र आइसक्दा समेत त्यही पात्र तथा प्रवृत्तिको लडाइँमा निधिको समय खेर गएको छ । वर्तमान व्यवस्थालाई ध्वस्त पार्ने कमल थापाको घोषित नीति नै हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *