राष्ट्रपति भण्डारीमार्फत भारतले दिन खोजेको सन्देश : एमालेलाई नजिक्याउने, चुनाव कात्तिकमा गर्न सुझाव दिने

  •  
  •  
  •  
  •  
  •  

समाचार टिप्पणी– सुदीप विमली  । काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीे छिमेकी मित्रराष्ट्र भारतको पाँच दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली गएकी छन् । भारत सरकारले नेपालप्रति हेर्ने दृष्टिकोणसमेत बदलिएको पछिल्लो परिस्थितिमा राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै अर्थपूर्ण रूपले हेरिएको छ । राजनीतिक वृत्तमा ३१ वैशाखमा आयोजित स्थानीय तहको निर्वाचनको संघारमा राष्ट्रपतिको राजकीय भ्रमण हुनुले पनि यसलाई अझ बढी महत्वका साथ हेरिएको छ ।

नेपाली राजनीतिमा राष्ट्रपतिमार्फत भारतले नेपाललाई दिन खोजेको सन्देशबारे अनुमान र विश्लेषण सुरु भइसकेको छ । गत वर्ष संविधानसभामार्फत नयाँ संविधान जारी हुनु र त्यसपछि लगत्तै भारतले लगाएको नाकाबन्दी कारण नेपाल भारत सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर, ६ महिनापछि नाकाबन्दी खुला भए पनि संविधान कार्यान्वयनमा भारतले सहयोग गर्न सकेको छैन । जसका कारण नेपालका प्रमुख राजनीतिक दल त्यसमा पनि प्रमुख प्रतिपक्ष एमालेसँग भारतको राम्रो सम्बन्ध छैन ।

मधेसी मोर्चालाई ‘स्पेस’ दिएर दुई चरणमा चुनाव गर्नुपर्ने लाइनमा उभिएको भारतले कम्तीमा राष्ट्रपति भ्रमणमार्फत संविधान संशोधन भएमा सम्बन्ध पूर्ववत् र सहज ढंगले अघि बढ्थ्यो भन्ने सन्देश कूटनीतिक र अनौपचारिक च्यानलमार्फत सम्प्रेषित गरिरहेको छ । त्यसो हुँदा चुनावलाई खुलेर सहयोग गर्ने मात्रै होइन, नेपालले लाभ लिन सक्ने गरी अन्य प्रकारका सम्झौता गर्नसमेत भारतीय पक्ष तयार रहेको जानकारहरूले दाबी गरिरहेका छन् । त्यसका निम्ति नेपालका लागि नवनियुक्त राजदूत मञ्जिभसिंह पुरीले कूटनीतिक माध्यमबाट सक्रियता देखाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहलाई थप कमजोर तुल्याउने गरी मधेसी मोर्चाको सानो झुन्डको स्वार्थमा सिंगै मधेसका नाममा संशोधनलाई कुनै हालतमा स्विकार्न नसकिने अडान राखेको छ । यस्तो अवस्थामा एमालेलाई पनि मनाउने गरी राष्ट्रपति भण्डारीको भ्रमणलाई फलदायी बनाउने भारतको योजना रहेको स्रोतले दाबी गरेका छन् । भारतले राष्ट्रपति भण्डारीमार्फत एमालेसँगको सम्बन्ध सुधार गर्ने र मोर्चालाई मनाएर कात्तिकमा निर्वाचन गराउने विशेष सन्देश दिन खोजेको बताइएको छ ।

सीमांकन मुद्दा थाती राखेर सामाजिक सद्भाव भड्काउने, मोर्चाको माध्यमबाट चलखेल जारी राखी अस्थिरता कायम राखिरहने ‘डिजाइन’ बारे एमाले नेतृत्व सजग मात्रै होइन, अझ बढी एकताबद्ध साथ चुनाव सामना गर्दै अघि बढ्ने निष्कर्षमा पुगेपछि सरकारका लागि संशोधन थप चुनौतीको विषय बनेको छ । यही मौकामा सरकारले राष्ट्रपतिको भ्रमण गराएर प्रमुख प्रतिपक्षीलाई भावानात्मक रूपमा संविधान संशोधनको पक्षमा उभ्याउने रणनीतिमा पुगेको कूटनीतिक विज्ञहरूले दावी गरेका छन् ।

एमालेले चुनाव नजिकिँदै गर्दा आफ्नो पार्टी राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिको घेराबन्दीमा परेको दाबी गर्दै आएको छ । यस सेरोफेरोमा भारतले राष्ट्रपति भण्डारीमार्फत एमालेलाई सन्देश दिन खोजेको समेत बुद्धिजीवीहरूले विश्लेषण गर्न थालेका छन् । स्रोतका अनुसार भारतले राष्ट्रपति भण्डारीमार्फत आफूहरू मधेसी मोर्चाको निकट नभएको र एमालेविरोधी पनि नहुने सन्देश दिँदै बहुमत ल्याउने सम्भावना देखिएकाले सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्न चाहेको सन्देश दिन खोजेको छ ।

मधेसी मोर्चाको नाममा संविधान संशोधनबारे अनेक भ्रम फैलाइएकाले राष्ट्रपति भण्डारी स्वयं संशोधनले मधेसको हित गर्छ कि गर्दैन ? मधेसका अग्रज बुद्धिजीवी र विश्लेषकहरूसँग गम्भीर परामर्शमा छिन् । त्यस सिलसिलामा उनले एक चरण राष्ट्रपति कार्यालयमै छलफलसमेत चलाइसकेकी छन् । यसले गर्दा पनि उनलाई भारत भ्रमणका लागि पठाइएको समेत विश्लेषण गर्न थालिएको छ ।

भारतले  राष्ट्रपति भण्डारीलाई स्वागत गर्न विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजलाई पठाएको छ । उनले राष्ट्रपति भण्डारीको स्वागत गरे । केही दिनअघि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थलमा पुगेर दक्षिण एसियामा राम्रो सम्बन्ध स्थापित गर्दै अघि बढ्न खोजेको सन्देश दिइएका थिए । पटक–पटक आमन्त्रण गरे पनि नाकाबन्दीका कारण तत्कालीन केपी ओली नेतृत्वको सरकारले अनुमति नदिएपछि राष्ट्रपति भण्डारीको भारत भ्रमण रोकिएको थियो । तर, यसपटकको भ्रमणमा भने परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नै सामेल हुने भएकाले दुई देशबीच कुनै महत्वपूर्ण सम्झौताका लागि पनि आन्तरिक गृहकार्य भइरहेको हुनसक्ने अनुमान गरिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *