भारतले जोडिदियो राजेन्द्र महतो र राजकुमार लेखीको सम्बन्ध

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख । एक समय राजकुमार लेखी भारतको चर्को विरोध गर्थे । आदिवासी जनजाति महासंघको अध्यक्ष हुँदा उनी खुंखार क्रान्तिकारी भाषण गर्थे । एमालेबाट राजनीति सुरु गरेका उनलाई धेरैले राष्ट्रवादी छवि बोकेको भविष्य भएका थारु नेता मान्थे । तर, जब उनका सन्तानलाई भारतले छात्रवृत्तिमा पढाइदियो, त्यसपछि उनी लामो समय गुमनाम भए । फेरि चुनावकै मुखमा उनी प्रकट भएका छन् । तर, चुनाव विरोधी भएर ।

भारतीय छात्रवृत्तिमा एक छोरीलाई नयाँ दिल्लीस्थित जवहारलाल नेहरु विश्वविद्यालय र अर्की छोरीलाई इन्डियन आर्मी कलेजमा पढाउँदै आएका लेखी भारतीय दबाबका कारण सद्भावना पार्टीसँग एकता गर्न सहमत भएका छन् । राजेन्द्र महतोको सद्भावना पार्टी र लेखीको नागरिक समाजवादी पार्टीबीच एकीकरण हुँदैछ । राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत थ्रेस होल्डसहित प्रत्यक्षमा एकजना जित्नैपर्ने नीति लागू भएपछि लेखी नेतृत्वको पार्टी एकीकरणमा जान बाध्य भएको हो ।

लेखीले विगत दुई दशकदेखि थारु कल्याणकारिणी सभाको विभिन्न पदमा रही काम गर्दै आएका छन् । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षसमेत भइसकेका लेखी सभामा राष्ट्रिय प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

तर, अहिले थारु समुदायका लेखी विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक पार्टीमा किन गएनन् भन्ने सर्वत्र चासो र चर्चा छ । विजय गच्छदार र थरुहट तराई पार्टी नेपालसँग पनि पार्टी एकीकरणबारे छलफल भएको, तर उनीहरू चुनावमा जाने भनेपछि आफू पछि हटेको लेखीको भनाइ छ । उनले मधेसी पार्टीहरूले थारुको एजेन्डा स्वीकार गरेकाले पार्टी एकता गर्न लागेको बताएका छन् ।

गच्छदारलाई भारतीय संस्थापनले मन पराउँदैन । राजेन्द्र महतो भने भारतसँग नजिक छन् । सोही कारण राजकुमार लेखीले पार्टी एकताका लागि सद्भावना पार्टी छानेको उनी निकट एक नेताले मिडिया एनपीलाई बताए ।

मधेसी पार्टीहरू एक मधेस प्रदेशको एजेन्डा त्यागेर थरुहटको मुद्दा पनि बोकेको लेखीको बुझाई छ । तर, उनी निकट नेताहरू भने हार्ने निर्वाचनमा आफ्नो पार्टी सहभागी हुन नसक्ने भन्दै चुनाव बहिष्कार गरेको मधेस केन्द्रित दल सद्भावना पार्टीसँग एकता गर्नुपरेको बताउँछन् ।

लेखीले सद्भावना पार्टीसँगको एकता थारु मधेसीको आत्मीय मिलनको रूपमा प्रस्ट्याएका छन् । थारु मधेसी नमिलेसम्म थारु मधेसी दुबैका अधिकार सुनिश्चित नहुने उनको दाबी छ । ‘मैले पहिल्यै एक मधेस प्रदेश वा एक थरुहट प्रदेश सम्भव छैन भनेको थिएँ। अहिले मधेसीहरू चितवन पश्चिम थरुहट प्रदेश भनिरहेका छन्, जुन कुरा मैले पहिल्यैदेखि उठाउँदै आएको थिएँ,’ लेखीको भनाइ छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *