निर्वाचन तयारीबारे गृहमन्त्री निधिले संसद्लाई जानकारी गराए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तह निर्वाचनको तयारीबारे व्यवस्थापिका संसद्लाई जानकारी गराएका छन् ।

बिहीबार बसेको व्यवस्थापिका संसद्को बैठकमा उनले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन अगाडि र पछि पनि पूर्ण रूपमा सुरक्षा प्रदान गरिने जानकारी दिए ।

संविधान कार्यान्वयनको कोसेढुंगाको रूपमा रहेको सो निर्वाचनलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री निधिले सुरक्षाका सबै उपाय अवलम्बन गरिने जानकारी दिए ।

यसअघि प्रमुख प्रतिपक्षी एमालेले सप्तरी लगायत तराईका बिभिन्न जिल्लामा शान्ति सुरक्षा कमजोर रहेको भन्दै संसद्को ध्यानाकर्षण गराएपछि सभामुख ओनसरी घर्तीले निर्वाचनसम्बन्धमा सरकारको तयारी र सुरक्षा व्यवस्थाबारे संसदलाई जानकारी दिन गृहमन्त्री निधिलाई रुलिङ गरेकी थिइन् ।

त्यसपछि गृहमन्त्री निधिले निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रशासनलाई सक्रिय बनाएको र सरकार आफ्नो दायित्वप्रति कटिवद्ध रहेको जानकारी दिए । मन्त्री निधिले मुलुकका विभिन्न स्थानमा भएका आगलागीका पीडितलाई राहतका लागि २ करोड १८ लाख रकम निकास गरिएको जानकारी पनि संसदलाई गराए ।

यसैबीच, सरकारले विभिन्न विधेयक प्रस्तुत गर्नेक्रममा गणपुरक संख्या नपुगेपछि बिहीबारको बैठक आगामी आइतवार अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *