बालुवाटार बैठक सकियो, पहिला सत्तारुढ दल र साँझ पुनः मधेसी दलसँग छलफल गरेर निर्णयमा पुग्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बालुवाटार बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।

मोर्चाका नेताहरूले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै सरकारद्वारा प्रस्तुत प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरूसँगको परामर्शपछि पुनः बैठक बसेर सहमतिको प्रयास गर्ने बैठक जानकारी गराएका थिए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुनः बैठक हुनेछ । बैठकमा प्रधानमन्त्रीले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरूलाई आग्रह गरेका थिए । मधेसी दलका नेताहरूले संविधान संशोधन प्रस्ताव पारित भए स्थानीय तहको निर्वाचनमा जाने धारणा राखेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

‘मधेसी दलका नेताहरूले संविधान संशोधन प्रक्रिया र निर्वाचनमा सँगसँगै जाने धारणा राख्नु भएको छ, यसका लागि दिउँसो सत्तारुढ दलको बैठक बस्ने र साँझ मोर्चासँग पुनः बैठक बसेर छलफल गर्नेमा सहमति भएको छ,’ पुनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन, मोर्चाका नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए ।

भिडियो : युपी लामिछाने

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *