नेपाल प्रहरीमा २०५४ साल दोहोरिने चर्चा, नवराज सिलवाल निकट चार अधिकृत हेडक्वार्टर तानिए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । प्रकाश अर्याल २५औं नेपाल प्रहरी महानिरीक्षक नियुक्ति भएपछि संगठनमा २०५४ साल दोहोरिन लागेको आभास हुन लागेको प्रहरी कर्मचारीहरूले बताउन थालेका छन् । सरकारले डिआइजी अर्याललाई महानिरीक्षक नियुक्ति गरेसँगै उनका प्रतिस्पर्धी नवराज सिलवालका विश्वास पात्र रहेको आरोपमा चारजना अधिकृत कारबाहीस्वरूप प्रहरी प्रधान कार्यालयमा तानिएपछि यस्तो चर्चा चलेको हो ।

केन्द्रीय अनुसनधान व्युरोमा कार्यरत चार अधिकृतलाई प्रधान कार्यालयस्थित निर्वाचन सेलमा तानिएको छ । उनीहरूलाई २ वैशाखदेखि हाजिर गर्न लगाइएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि काजमा कर्मचारी खटाउन पाउने भए पनि सिआईवी, अपराध महाशाखा, लागुऔषध व्यूरो तथा अख्तियारमा कार्यरत कर्मचारीलाई प्रधान कार्यालयले नामै तोकेर माग्ने काम गर्दैन । सिआइवी कार्यरत डिएसपीत्रय प्रवीण पोखरेल, रेशम पराजुली, दधिराम न्यौपाने र प्रहरी निरीक्षक रुगम कँुवरलाई निर्वाचन सेलमा तानिएको हो ।

त्यसमध्ये पोखरेल र न्यौपाने भने हाजिर भइसकेका छन् । कँुवर र पराजुली भने बिदामा बसेका छन् । कुँवरका बुबा विरामी भएका कारण धेरै दिनदेखि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । तानिएकामध्ये वन्यजन्तु तस्करी नियन्त्रण सेलमा रहेका डिएसपी प्रवीण पोखरेल, आर्थिक व्यूरोमा कार्यरत डिएसपी रेशम पराजुली र डिएसपी दधिराम न्यौपाने प्रशासनमा कार्यरत छन् ।

आईजी अर्यालले सिआइवीका कार्यवाहक प्रमुख एसएसपी शेरबहादुर बस्नेतलाई नामै तोकेर प्रधान कार्यालयमा हाजिर गर्न पठाइदिन अनुरोध गरेका थिए । काजमा रहेका अन्य कर्मचारीलाई १५ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिए पनि उनीहरूलाई भने काजमै तानिएको हो ।

२०५४ सालमा अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानबीच यस्तै विवाद हुँदा एकले अर्काको समर्थकलाई यसैगरी कारवाही गरेका थिए । अहिले पनि यस्तै अवस्था आएको प्रहरी कर्मचारीहरूले बताउन थालेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी), लागुऔषध व्यूरो, अपराध महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीलाई भने काजमा बस्न छुट हुन्छ । निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले तयारीस्वरूप काजमा रहेका प्रहरीलाई दरवन्दीमा फिर्ता गरे पनि अधिकांश प्रहरी कर्मचारीहरू अझै काजमै बसेका छन् ।

प्रहरी प्रधान कार्यालय तथा काठमाडौंमा उपत्यकामा मात्रै धेरै संख्यामा प्रहरी कर्मचारीहरू काजमा छन् । खासगरी जुनियर अधिकृतहरू काजमा रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ । काठमाडौंभित्र रहेका सबै प्रहरी कर्मचारीलाई दरबन्दीमा जान निर्देशन दिइएको हो । प्रायः जुनियर अधिकृतहरू आफूलाई पायक पर्ने स्थानमा सोर्सफोर्स लगाएर बस्ने गरेकाले पनि काजमा रहने प्रहरी कर्मचारीहरू ठूलो संख्यामा रहेको प्रधान कार्यालयको भनाइ छ ।

तर, केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत चारजना प्रहरी अधिकृतलाई भने काजमै तानेर प्रहरीको केन्द्रीय निर्वाचन सेलमा काममा खटाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनीहरू सिआइवी प्रमुख नवराज सिलवालको विश्वास पात्र भएको आशंकामा त्यहाँ तानिएको हो । तर उनीहरू सिआइवीका काविल अफिसरभित्र पर्छन् । उनीहरूलाई सरुवा भने गरिएको छैन ।

डिएसपी प्रवीण पोखरेल पछिल्लो समय त्रिभुवन विमानस्थलबाट बरामद साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्ने अधिकृत हुन् । सुनकाण्डको अनुसन्धानको क्रममा अनेक धाकधम्की खेपेका पोखरेललाई केही समयअघिदेखि सरुवा गराउन सुन तस्करहरू लागिपरे पनि उनको सरुवा भने भएको थिएन । डिएसपी न्यौपाने पोलिग्राफका विज्ञ हुन्, उनलाई पनि सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले काजमा रहेका प्रहरी कर्मचारीलाई दरवन्दीमा जान निर्देशन दिइरहेका बेला उनीहरूलाई भने सरुवा नगरी काजमा ल्याएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *