आज सुशीला कार्कीले के गर्लिन् ? सत्तारुढ दल सर्वोच्चमा भ्याकेट दिने मनस्थितिमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । नेपालको राजनीति कुन दिशाबाट अगाडि बढ्ने भन्ने कुराको निर्धारण प्रधानन्यायाधीश सुशीला कार्कीले आज गर्ने गतिविधिबाट थाहा हुनेछ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै शुक्रबार निवासबाटै काममा फर्किएकी प्रधानन्यायाधीश कार्की आज (आइतबार) सर्वोच्च अदालत गएर कार्यभार सम्हाल्नेछिन् । सामान्यतः प्रधानन्यायाधीश कार्की आइतबारदेखि बिदामा बस्नुपर्ने भएकाले उनी बिदामा बस्ने नबस्ने निर्णयसँगै उनका भावी कदमले मुलुकको राजनीति प्रभावित पार्ने भएको छ ।

सामान्यतया प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिनाअघिदेखि बिदामा बस्ने चलन भए पनि यसअघि सबै प्रधानन्यायाधीश बिदामा बसेका छैनन् । कार्कीले जेठ २४ गतेदेखि उमेर हदका कारण अवकाश पाउँदै छिन् ।

कार्की आइतबारदेखि बिदामा बसे संसदमा महाअभियोग फिर्ता लिनसकिने, तर उनी बिदामा नबसेर अझ कडा रूपमा प्रस्तुत हुने संकेत पाए त्यसैअनुसार महाअभियोग प्रस्ताव अघि बढाइने विषयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच छलफल भएको छ ।

सुशीला कार्कीलाई हरेक विषयमा सहयोग गर्दै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि अवकाश पाउने अन्तिम दिनसम्म सर्वोच्च अदालतमा मुद्दा हेरेकाले पनि कार्की आजै बिदामा बस्ने सम्भावना निकै कम रहेको उनी निकट स्रोतले बताएको छ ।

यदि कार्की बिदामा बसिनन् भने जेठ २४ गतेसम्म उनले धेरै ठूल्ठूला फैसला गर्ने भय सत्तारुढ दलमा छ । त्यसमा पनि डीआईजी नवराज सिलवाललाई आईजीपीको फुली लगाइदिने हो भन्ने चिन्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा छन् ।

यदि उनी बिदामा बसिनन् र नियमित सर्वोच्चको न्यायिक काममा फर्किन् भने कार्कीको पक्षमा दिइएको अन्तरिम आदेश भ्याकेट (अन्तरिम आदेश खारेजका लागि दिने निवेदन) सर्वोच्चमा दिने, संसद्को विशेषाधिकार हनन् गरेकोमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणालाई कारबाही गर्ने, आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने वा सर्वोच्चका थप फैसलाका लागि केही समय पर्खिनेलगायत विकल्पमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती तथा कांग्रेस नेताहरूबीच छलफल भएको छ ।

सोही कारण तत्काल ‘पर्ख र हेर’ को नीति लिने समझदारी बनेको सत्तारुढ दलका नेताहरूको भनाइ छ । जसका लागि आइतबार बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको सभामुख ओनसरी घर्ती निकट स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *