चुनावपछि ओलीले मुख खोले, कांग्रेसलाई जनताले यति धेरै मत दिएकामा म अचम्ममा परेको छु

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले चुनावी मत परिणामबारे मुख खोलेका छन् । २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार बल्खुमा आयोजित कार्यक्रममा ओलीले अहिले आइरहेको मत परिणाम अनपेक्षित रहेको बताए ।

उनले २८१ स्थानीय तहमध्ये बहुमतमा एमालेले जित्नुपर्नेमा कांग्रेसलाई जनताले यति धेरै मत दिएकोमा आश्चर्य व्यक्त गरे । ‘यस्तो कांग्रेसलाई पनि जनताले यत्रो भोट दिएका छन्, किन दिनु प¥यो कांग्रेसलाई मत ? के कारण एमालेलाई मत दिनु नपर्ने ?’ ओलीले प्रश्न गर्दै भने, ‘तर पनि हामीले धेरै ठाउँमा जितिरहेका छौं ।’ उनले अहिले कांग्रेसले पाइरहेको मतले आफू अचम्ममा परेको बताए ।

ओलीले सत्ता पक्षले बुथ कब्जा गर्ने, उम्मेदवार अपहरण गर्ने गरेर लोकतन्त्रको धज्जी उडाएको, तमासा गरेको आरोप लगाउँदै एमाले लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्ने बताए । ‘अहिले जति पनि परिणाम आइरहेका छन्, हामी सबैभन्दा अघि छौं, तर पर्याप्त छैन,’ ओलीले भने । उनले आफूले स्थानीय तहको निर्वाचन परिणाम हेरिरहेको र विश्लेषण गर्दै आएको जानकारी दिए ।

एमालेविरुद्ध देशव्यापी भ्रम र अन्योल फिँजाइएको दाबी गर्दै २८१ ठाउँमा निर्वाचन हुँदा कहीँ पनि आफ्नो पार्टी आक्रमण नगरेको, बरु सत्ता पक्षले हिंसा घटाएको, मान्छे मारेको आरोप लगाए । एमालेले राष्ट्रियता र देशभक्तिको सवालमा धेरै काम गरेको बताउँदै आफ्ना क्षणिक संकीण स्वार्थलाई थाती राखेर अघि बढेको विचार व्यक्त गरे । ‘हो हामी केही ठाउँमा हारेका छौं, यो ठीक होइन, हाम्रा कार्यकर्तामाथि चुनावअघिदेखि हत्या, आक्रमण गर्ने प्रयास भएको छ,’ ओलीले भने, ‘दोस्रो चरणको निर्वाचनमा धेरै राम्रो परिणाम पाउने गरी अघि बढ्छ, प्रतिनिधिसभाको निर्वाचनमा कम्तीमा बहुमत प्राप्त गर्ने कार्यका साथ एमाले अघि बढेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *