एमाले स्थायी समिति बैठकद्वारा प्रचण्ड सरकारको प्रशंसा

  •  
  •  
  •  
  •  
  •  
काठमाडौं, ४ जेठ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमांकन र संख्यालाई हेरफेर गर्ने कुरा मान्य नहुने जनाएको छ । पुरानो अडानलाई यथावत् राख्दै एमालेको स्थायी कमिटी बैठकबाट यस्तो भनाइ सार्वजनिक गरेको हो ।
एमालले स्थानीय तहको निवार्चनपछि फरक पहिचान र हैसियतसहित निर्माण भएका स्थानीय तहले विशेष अर्थ राख्ने जनाएको छ । निर्वाचनपूर्वदेखि नै सत्तारुढ गठबन्धनका तर्फबाट परिणामलाई गलत ढंगले प्रभावित गर्न अनेकखालका अराजनीतिक क्रियाकलाप हुँदै आएको भन्दै त्यसमा आपत्ति जनाएको छ । प्रहरी, प्रशासन र राज्यका कतिपय निकायलाई सरकारले दुरुपयोग गरेका भन्दै ती घटनाप्रति खेद व्यक्त गरेको छ ।
पार्टी उपाध्यक्ष वामदेव गौतमको घरमा बसेको स्थायी कमिटि बैठकले सत्ताधारी गठबन्धनका कार्यकर्ताहरूको संलग्नतामा दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछापलगायतका जिल्लामा सत्ताको आडमा आपराधिक र अराजनीतिक क्रियाकलाप भएको भन्दै त्यसमा आपत्ति जनाएको हो । पार्टीको सो बैठकले निर्वाचनको सिलसिलामा भएका यस्ता घटनाको छानविन गरी दोषीहरूउपर कारबाही गर्न संसदीय छानविन समिति गठन गर्नसमेत माग गरेको छ ।
‘निर्वाचनको क्रममा भएका यस्ता आपराधिक क्रियाकलाप र राज्यसत्ताको दुरुपयोगसमेत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रियाकलापलाई गम्भीरताका साथ लिँदै आवश्यक कारबाही गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनमा जनताको उत्साहजनक सहभागिताप्रति एमाले खुसी व्यक्त गर्दछ । आफ्ना प्रतिनिधिहरूको चयनका लागि मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।
‘पार्टीलाई पराजित गर्न गरिएका अपबित्र गठबन्धनहरू, एमालेबिरुद्धका घेराबन्दी, षड्यन्त्र र देशव्यापी आक्रमण, राज्यपक्षको व्यापक दुरुपयोगका बाबजुद धैर्य, संयम र जिम्मेवारीका साथ लोकतन्त्रको सुदृढीकरण र एमालेको विजयका लागि अहोरात्र क्रियाशील देशभरिका पार्टी सदस्य र समर्थकहरूप्रति बैठक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ । बैठकले स्थानीय तहको संख्या सीमांकन र नामांकनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा हामी यही आधारमा दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गरेको छ ।
एमालेसहितका प्रमुख राजनीतिक दलहरूको सहमति र नेतृत्वमा संविधान जारी भएको र यसै संविधानको कार्यान्वयन गर्दै नेपालमा राजनीतिक स्थायित्वमार्फत समृद्धि हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकता जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘सबैखालका चुनौतीलाई सामूहिक ढंगले सामना गर्न र तोकिएको समयभित्र तीनवटैै तहको निर्वाचन सम्पन्न गरी नेपाल राष्ट्रलाई थप एकताबद्ध बनाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यान दिँदै हाम्रो पार्टी सबै राजनीतिक दलहरूका बीच एकता, सहमति र सहकार्यको ऐतिहासिक आवश्यकता रहेको कुरामा जोड दिन चाहन्छ’, सो विज्ञप्तिमा भनिएको छ ।
बैठकले प्रचण्ड सरकारको प्रशंसा गर्दै चीनको नेतृत्वमा सुरु गरिएको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) परियोजनामा नेपालको सहभागिताका लागि एमालेको सरकारकै पालामा थालनी गरिएको प्रयासकै निरन्तरताको रुपमा दुई राष्ट्रबीच औपचारिक हिसाबले समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेको छ । यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्ने र नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न सहयोग मिल्नेछ भन्ने विश्वास बैठकले व्यक्त गरेको छ ।
सो बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसद्मा पेस गरिएको औचित्यहीन महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन सम्बन्धित पक्षहरूसँग माग गर्दछौ । साथै, बिनाऔचित्य अगाडि बढाइएको संविधान संशोधन प्रस्तावसमेत फिर्ता गरी सहजढंगले दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न, संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *