संसद् अधिवेशन अन्त्य, थरुहट आन्दोलनका मुद्दा फिर्ता लिने सरकारको निर्णय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । सरकारले चालु संसद् अधिवशेन अन्त्य गर्दै बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले चालु संसद्को अधिवेशन अन्त्य गर्ने र जेठ ८ गतेदेखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

साथै बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार्दै त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनकाअनुसार मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

सरकारले स्थानीय चुनावको सन्दर्भमा काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरेको छ । बैठकले मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय गरेको उक्त बैठकले नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, बन विकास र नवीकरण उर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरी चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *